आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
भुटानी शरणार्थी प्रकरण

एमालेले भन्यो– टोपबहादुर रायमाझीले ढाट्नुभो !

बुधबार, २७ वैशाख २०८०, १४ : १८
बुधबार, २७ वैशाख २०८०

काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीले पार्टी नेतृत्वलाई ढाँटेको जनाएको छ । महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै रायमाझीविरुद्ध भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुजी जारी भएपछि उपस्थित भएर अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता विपरित पार्टी नेतृत्वलाई समेत झुक्याएको जनाएका हुन् ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा हाम्रो पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरिएको विषयमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी विधिको शासनमा विश्वास गर्दछौं । राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ ।’

यही मान्यताअनुरूप पक्राउ पूर्जी जारी हुनासाथ एमालेले रायमाझीलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको महासचिव पोखरेलले जनाएका छन् । त्यसक्रममा रायमाझीले समेत आफु त्यसमा तयार रहेको बताएपनि मंगलबारसम्म उपस्थित नभएपछि पार्टी सचिवालय बैठकले समेत उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको थियो । 

‘उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनुभएको थियो । तर पार्टी नेतृत्वलाई दिएको विश्वास विपरित उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले गम्भीरतापूर्वक लिँदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो’, पोखरेलको भनाइ छ । 

साथै एमालेले राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस भनेर रायमाझीलाई पार्टीबाट निलम्बन गरेको छ ।  ‘केन्द्रीय सचिवालयको उक्त निर्णयलाई समेत ध्यानमा राख्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यससम्बन्धी अनुसन्धान र कानुनी कार्बाहीको प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ’, एमालेले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप