एमाले केन्द्रीय कमिटीको बैठकमा कसले कुन प्रतिवेदन पेस गरे ?
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा विभिन्न प्रतिवेदन पेस भएका छन् । बिहीबार केन्द्रीय पार्टी कार्यालयमा बसेको एमालेको पाचौं केन्द्रीय कमिटीको बैठकमा आयोग र मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान)का प्रतिवेदन पेस भएका हुन् ।
यस्तै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बैठकको पहिलो दिन अध्यक्ष ओली र पाँच प्रदेशसहित आयोग अध्यक्षहरुले प्रतिवेदन पेस गरेका हुन् ।
बैठकमा केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा। पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बाले आ आफ्नो आयोगका प्रतिवेदन पेस गरेका छन् ।
यस्तै मिसन ग्रासरुटका विषयमा भूगोलका पाँच प्रदेशका संयोजकहरूले पनि प्रतिवेदन पेस गरेका छन् । जसमध्ये सुदूरपश्चिमबाट सचिव लेखराज भट्ट, कर्णालीबाट सचिव योगेश भट्टराई, लुम्बिनीबाट सचिव छविलाल विश्वकर्मा, मधेशबाट सचिव रघुवीर महासेठ र कोशी प्रदेशबाट स्थायी कमिटी सदस्य तथा इन्चार्ज राजेन्द्र गौतमले प्रतिवेदन पेस गरेका छन् ।
यस्तै गण्डकीबाट सचिव पद्मा अर्याल, बागमतीबाट सचिव गोकर्ण बिष्ट, सम्पर्क समन्वयन कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले शुक्रबार पेस गर्ने छन् ।
यी प्रतिवेदनमाथि समूह विभाजन गरी छलफल गरिने प्रचार प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए । समूह छलफलपछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रूपमा सुझाव पेस गर्ने उनले जानकारी दिए ।