आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘बालकृष्ण खाण पक्राउ डेमोक्रेसी माथिको आक्रमण हो’

महामन्त्रीहरुको विद्रोह भन्ने यो खाली शब्दमा मात्र हो : सह–महामन्त्री महेन्द्र यादव
शुक्रबार, २९ वैशाख २०८०, ०६ : २६
शुक्रबार, २९ वैशाख २०८०

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले पूर्व गृहमन्त्री बालकृष्ण खाणको बचाउ गरेका छन् । सह–महामन्त्री यादवले कांग्रेस केन्द्रीय सदस्य खाणलाई पक्राउ गरिनु लोकतन्त्र माथिको आक्रमण भएको धारणा राखे । यद्यपि, उनले कांग्रेस निष्पक्ष छानविनको पक्षमा रहेको बताए ।

यस्तै, उनले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाविरुद्ध विद्रोह गर्छु भन्नुको कुनै अर्थ नरहेको बताए । पार्टी वर्तमान अवस्थामा पुग्नुमा सबै जिम्मेवार रहेको उनको भनाई छ । मन्त्री छनोटका विषयमा सभापति देउवाभन्दा नेता शेखर कोइरालाप्रति असन्तुष्टि व्यक्त गर्न महामन्त्री थापालाई आग्रह गरे । 

प्रस्तुत छ, भुटानी शरणार्थी र पार्टीको आन्तरिक विषयमा केन्द्रीत रही कांग्रेस सहमहामन्त्री यादवसँग रातोपाटी प्रतिनिधिबाट गरिएको कुराकानीको सम्पादित अंश :

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसकै नेताहरु तानिएको अवस्था छ । यस सरकारमा सत्ता साझेदार कांग्रेसको भूमिका के रहन्छ ?

छानविनमा हाम्रो सहयोग रहन्छ । तर अनावश्यक रुपमा नेताहरुलाई फसाउन खोजिएको छ । यो व्यवस्थालाई नै बदनाम गर्न खोजिएको छ । लामो समय जेलनेल बसेको, प्रजातन्त्र ल्याएको नेतालाई बदनाम गर्न पाइँदैन ।

छानविनको नाममा नेताहरुको चरित्र हत्या गर्न पाइँदैन । कसरी अगाडि बढ्ने भनेर हामी आन्तरिक छलफलमा छौं । बुधबार पदाधिकारी बैठक बसेको थियो । आज पनि छलफल हुन्छ ।

कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण नै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको अवस्था छ । कांग्रेसले निष्पक्ष छानविनमा सहयोग गर्छ त ?

कांग्रेस निष्पक्ष छानविनकै पक्षमा छ । पञ्चायत व्यवस्थासँग लडेका बालकृष्ण खाणलाई जुन शैलीमा पक्राउ गरियो, यो डेमोक्रेसी सिध्याउने खेल हो । राजा र पञ्चायतसँग बालकृष्ण खाण पैसा कमाउन लडेको हो ? यो डेमोक्रेसी माथिको आक्रमण हो ।

प्रजातन्त्र ल्याउन लडेको नाममा भ्रष्टाचारलाई प्रश्रय दिन मिल्छ त ?

होइन, होइन, त्यो पनि गर्नु हुँदैन । तर भ्रष्टाचारका नाममा षड्यन्त्रपूर्वक प्रजातन्त्रका लागि लडेको नेतामाथि आक्रमण गर्न कुरा राम्रो होइन । अदालतबाट फैसला नहुँदै कसैलाई भ्रष्टाचार करार गर्न मिल्छ ? (आक्रोशित हुँदै) मिडियाले पहिलै नै दोषी हो भनिदिने ? नगरेको काम ग-यो भनिदिने ?

सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्रीद्वयले विद्रोह गर्ने तयारी थालेको देखिन्छ । अहिले पार्टीभित्र के भइरहेको छ ? 

पार्टीको बैठक राखेर सभापतिले सर्वसम्मत निर्णय गरिराख्नु भएको छ । चाँडै केन्द्रीय समिति बैठक बस्दैछ । त्यसमा सबै साथीहरुले आफ्नो कुरा राख्नु हुन्छ । पार्टीलाई सशक्त बनाएरै हामी अगाडि बढ्छौं ।

सभापति शेरबहादुर देउवाबाट पार्टीमा सुधार र सुदृढीकरण सम्भव छैन । अब पार्टीमा विद्रोह गर्नुपर्ने समय आयो भनेर महामन्त्रीद्वयले सार्वजनिक रुपमा बोल्न थाल्नु भएको छ । यो स्थिति पार्टीमा किन सिर्जना भयो ?

विद्रोह गर्नुपर्ने के आवश्यकता भयो र ? पार्टीभित्र विद्रोह गरेर पार्टीभन्दा बाहिर जाने कुरा त छैन । त्यस्तो कसैको सोच छैन । विद्रोह भन्ने यो खाली शब्दमा मात्र हो ।

अहिलेसम्म सबै कुरा पार्टीको विधान अनुसारै भएको छ । सभापतिले ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने थियो । भ्रातृ थाहरुलाई पूर्णता दिनुपर्ने थियो । तर पार्टीमा सबैको सहमति खोज्दा ढिलो भएको हो ।

सहमतिको नाममा विधान नमान्ने कुरा हुन्छ ? आफूलाई समयानुकुल बनाएर लैजाने कुरामा कांग्रेस किन तयार छैन ?

पार्टीमा हरेक निर्णय सर्वसम्मत ढंगले भएको छ । सबै कमजोरीको जिम्मेवारी पार्टी सभापतितर्फ पन्छाउनु भनेको कार्यकर्तालाई भ्रममा पार्ने काम मात्र हो । महामन्त्रीले जिम्मेवारी नपाएको कुरा गर्नुहुन्छ ।

हामी सहमहामन्त्रीले पनि जिम्मेवारी पाएका छैनौं । हामीलाई महामन्त्रीले किन जिम्मेवारी नदिएको ? धेरै कुरा सभापति, उपसभापति र महामन्त्री मिलेर गर्नुहुन्छ । 

अब चाँडै केन्द्रीय समितिले पूर्णता पाउँछ । विभाग, भ्रातृ संस्थाको काम पनि हुन्छ । केही अघि बसेको पदाधिकारी बैठकमा यी विषयलाई चाँडै टुंग्याउने सहमति भएको छ । 

१७ महिनादेखि भ्रातृ संस्थाले चाँडै पूर्णता पाउँछ भनिराख्नु भएको छ । अहिलेसम्म पनि पूर्णता दिन सक्नु भएन । तपाईंहरुले भनेको चाँडै कहिले हो ?

भ्रातृ संस्थालाई पूर्णता दिन ढिलो हुनुमा सबै दोषी छन् । सबैलाई भागबण्डा चाहिन्छ । पार्टीका सबै नेतालाई हिस्सा चाहिएको छ । हिस्सा मिलाउँदा मिलाउँदै यस्तो अवस्था आएको हो ।

नेविसंघको अध्यक्षलाई कमिटीको पूर्णता गर्न दिऊँ भनेर कुनै नेताले भनेको छ ?  हामी भए भरका आफ्ना मान्छे भरिदिन्छौं । यसमा पार्टी सभापति मात्र होइन, हामी पनि दोषी छौं । नेविसंघ र तरुण दललाई गठन गर्न नदिएको हामी सबै नेताहरु मिलेर हो ।

महामन्त्री यो तौरतरिकाले पार्टी अगाडि बढ्न सक्दैन । सभापति नसच्चिने हो भने पदबाट राजीनामा दिएर कार्यकर्तामाझ जान्छौं भनेर चेतावनी दिने अववस्था त पार्टीमा उत्पन्न भयो नि ?

पदाधिकारी बैठकमा महामन्त्रीले राजीनामाको कुरा गर्नु भएको छैन । तपाईं सच्चिनुस् पनि भन्नु भएको छैन । सामूहिक निर्णय गरौं भन्नु भएको मात्र हो । एक दुई वटा निर्णय सामूहिक रुपमा हुन सकेन । सभापतिले भन्नु भयो, ‘हतार, हतार भयो । अब सामूहिक रुपमा निर्णय गर्छु’  । 

महामन्त्रीको स्टाटस मैले हेरेँ । महामन्त्रीले सभापतिलाई सुझाव दिनु नै भएको हो । सभापतिजी उहाँहरुको सुझाव लिइरहनु भएको छ । सीमा नाघ्यो भनेर स्टाटस लेखिरहनुपर्ने अवस्था थिएन, नलेख्दा राम्रो हुन्थ्यो । पार्टीमा सबै कुरा सहमतिमा भइरहेको छ ।

तपाईं सबै कुरा सहमतिबाट हुन्छ भन्नुहुन्छ । मन्त्री छनोटमै महामन्त्रीलाई वेवास्ता गरेको त देखियो नि ?

मन्त्री बनाउने कुरामा पनि सहमति भएको छ । महाधिवेशनमा शेरबहादुरजीसँग शेखरजी लड्नु भएको थियो । शेखरजीको असन्तुष्टि आएकै छैन । कांग्रेसभित्रको प्रतिपक्षी नेता त शेखरजी हो नि । मन्त्री छनोटमा असन्तुष्टि भए शेखरजीबाट आउनुपर्ने हो । उहाँको कुनै असन्तुष्टि छैन । महामन्त्रीको टीमको पनि सभापतिको उम्मेदवार शेखर कोइराला हो नि ।

महामन्त्रीले सभापतिलाई होइन, शेखर कोइरालालाई भन्नुपर्छ । पार्टी शेरबहादुरजी र शेखरजीबीच सहमति भएर अगाडि बढेको छ । उपसभापति, महामन्त्री र हामी सहमहामन्त्रीले सहयोग गरिरहेका छौं ।

सभापतिले ‘पार्टी सञ्चालन युवाहरुको जिम्मामा छोडिदिएको’ भन्नु भएको छ । हामीले पार्टीमा काम गरिरहेका छैनौं । दोष सभापतिलाई दिइरहेका छौं । पार्टीको प्रदेश, जिल्ला, नगर र वडा कमिटीले पनि काम गरिरहेको छैन ।

नेतृत्वले पार्टीलाई परिचालन गर्ने इच्छा पनि त देखाएको छैन । पार्टी चलायमान हुन त नेतृत्व तह पनि चलायमान हुनुपर्छ होला, होइन र ?

हाम्रो विधानमा सबै नेता र सबै तहलाई संगठन गर्ने अधिकार छ । वडासभापति आफ्नो वडामा प्रशिक्षण गर्न सक्नुहुन्छ, बैठक गर्न सक्नुहुन्छ । टोल कमिटी गठन गर्ने काम गर्न सक्नुहुन्छ । क्रियाशील सदस्यको नियमित बैठक गर्ने काम गर्न सक्नुहुन्छ । तर यो काम गर्नु भएको छैन । 

वडाले पालिका, पालिकाले जिल्ला, जिल्लाले प्रदेश र प्रदेशले केन्द्रको मुख ताकेर बस्ने परिपाटी राम्रो होइन । सबैले आ–आफ्नो जिम्मेवारी बुझेको छैन । पार्टीले ८ वटा समावेशी क्लस्टरको व्यवस्था गरेको छ ।

मन्त्री छनोटमा तीन वटा कलस्टरलाई मात्र समेटियो । तपाईं पनि समावेशी क्लस्टरबाट सहमहामन्त्री बन्नु भएको थियो । अहिलेको मन्त्री छनोटमा तपार्इं सन्तुष्ट हुनुहुन्छ त ?

यो पार्टीभित्रको विवाद नै होइन । पार्टीभित्रका सबै गुट समावेशी सहभागितामा अनुदार छन् । मधेसीलाई मन्त्री नदिन पार्टीभित्रका सबै गुटको मिलिभगत छ । सबै गुटमा मधेसका नेताहरु छन् ।

सभापतिले आफ्नो गुटबाट मधेसको मान्छेलाई मन्त्रीमा नल्याएको अवस्थामा शेखर दाइले ल्याए हुने थियो, उहाँले पनि ल्याउनु भएन । समावेशिता भएन भनेर एउटैलाई दोष दिएर भएन ।

समावेशी कोटाबाट ८ जना सहमहामन्त्री निर्वाचित हुनुभयो । तर मन्त्री छनोट असमावेशी हुँदा चुपचाप लाग्नु भयो है ?

हामीले एकदमै दबाब दिइरहेका छौं । समावेशिताको विषयमा हामी ८ जनै एक ढिक्का छौं । समावेशीको कुरामा हाम्रो गुटसुट छैन । 

तपाईंहरुको दबाबको परिणामको के त ?

यहाँ हामी कमजोर भएका छौं । तर, सभापतिजीले सरकारमा आलोपालो छ । अर्को पटक सबैलाई समेट्छु भन्नु भएको छ । अहिले ९ जना मन्त्री हुँदा समावेशी बनाउन सकिन्थ्यो । तर अहिले नै परिणाम आएन । हामीले सुझाव दिएका छौं । अर्को पटक हाम्रो कुरा लागू हुन्छ ।

मधेस प्रदेशमा कांग्रेस अहिलेसम्म सरकार बाहिरै छ । वर्तमान मुख्यमन्त्रीको निरन्तरता हुन्छ कि कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्छ ?

मधेसको सरकारबारे चाँडै गठबन्धनमा सहमति हुन्छ । मुख्यमन्त्रीमा हाम्रो दावी छ । गठबन्धनभित्रको सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेसले पहिलो चरण मुख्यमन्त्री पाउनुपर्छ भन्ने हामी चाहन्छौं । 
तर आलोपालो कांग्रेसले दोस्रो चरणमा पाएपनि हाम्रो विमति हुँदैन । यो गठबन्धनलाई कायम गर्ने हाम्रो मुल कुरा छ । 

गठबन्धनमा अविश्वास पैदा गर्न दिनु हुँदैन । गठबन्धनलाई बलियो पार्नुपर्छ । मुलुकका प्रतिगमनकारीहरुले टाउको उठाएको अवस्था छ । पूर्व राजाको ठाउँ–ठाउँमा भ्रमण भइरहेको छ । समग्र प्रणालीमाथि नै आँच आउने कुराहरु भइरहेको छ ।

बहुदलीय व्यवस्था, समावेशी लोकतन्त्र, संघीय व्यवस्था र संविधानै खराब हो भन्ने काम भइरहेको छ । यो गलत हो । संघीय लोकतान्त्रिक व्यवस्था विश्वकै सुन्दर व्यवस्था हो । यो व्यवस्थालाई बदनाम बनाउने षड्यन्त्र भइरहेको छ । 

उपनिर्वाचनमा बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेबापत पहिलो चरणमा मधेस प्रदेशको मुख्यमन्त्री कांग्रेसको हुने सहमति भएको चर्चा थियो । चुनाव जितेपछि उपेन्द्र यादवले सहमति पालना गर्न नमान्नु भएको हो ?

उपेन्द्र यादव कांग्रेसकै कारणले जित्नु भएको छ । यो कुरा उहाँ आफैले पनि भनिसक्नु भएको छ । उहाँले कांग्रेसलाई मुख्यमन्त्री दिए हुन्थ्यो । उपेन्द्र यादवलाई जिताइसकेपछि उहाँ उदार बन्नुहोला भन्ने थियो । अब मुख्यमन्त्री कांग्रेसले नै लिनुस् भन्नु होला । अहिले उहाँले पहिलो चरण आफै मुख्यमन्त्री राख्ने कुरा गर्नु भएको छ । तर मुख्यमन्त्री नदिँदैमा कांग्रेसले गठबन्धन कमजोर पार्दैनौं । खास कुरा केही छैन । आलोपालो हो ।

त्यसो भए साढे दुई वर्षपछि मधेस प्रदेशको कांग्रेसले नेतृत्व लिने सहमति भइसकेको हो ?

सहमति भइसकेको छ । त्यसलाई निर्णयमा कार्यान्वयनमा उतार्नु छ । अब केही दिनमा कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुन्छ ।

उपनिर्वाचनमा कांग्रेस लज्जास्पद ढंगले पराजित भयो । कांग्रेसको विकल्पमा मधेसमा मात्र होइन, पहाडमा पनि नयाँ शक्तिको उदय भएको देखिन्छ । यसलाई कसरी लिनु भएको छ ? 

कांग्रेसको विकल्पमा कुनै पार्टी उदाएको कुरा होइन । उपनिर्वाचनमा हावाहुरी देखिएको हो, यो दीर्घकालीन हुँदैन । मधेसमा पनि हिजो नयाँ दलहरु आए । अहिले विस्तारै हराउँदै छन् । मधेसमा स्थानीय तहमा कांग्रेस ठूलो भयो । एमाले दोस्रो भयो ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले ठूलो भयो । अन्तर्घातका कारण कांग्रेस दोस्रो भयो । मधेस कांग्रेसको गढ हो । मधेस कांग्रेसको पकडभन्दा बाहिर छैन । तनहुँमा स्वर्णिम वाग्लेले जितेको जुन कुरा छ । उहाँलाई कांग्रेस सबै कुरा दियो । कांग्रेसलाई सहयोग गर्ने बेलामा लात हान्नु भयो । उहाँले एकपल्ट जित्दैमा कांग्रेस कमजोर हुने होइन ।

पञ्चायतकालमा काठमाडौंबाट नानीमैया दाहालले पनि चुनाव जित्नु भएको थियो । कहाँ गइन् नानीमैया दाहाल ? यसबाट हामी आत्तिदैनौं । यसलाई धेरै ठूलो बनाउनु पनि छैन । यो स्वतन्त्र पार्टी तत्काल जादुमयी ढंगले केही ठाउँमा चुनाव जित्न सक्छ । मान्छेलाई ठग्न सक्छ । कांग्रेसका नेताहरु कुनै एक पदका पछाडि लाग्नु हुँदैन ।

हामी पदका लागि राजनीतिमा लागेका थिएनौं । हाम्रा अग्रजहरु पदका लागि राणा र पञ्चायतविरुद्ध ज्यानको बाजी लगाएर लड्नु भएको होइन । नेपालमा प्रजातन्त्रको दियो निभ्न नदिने कांग्रेसका नेता कार्यकर्ताको जिम्मेवारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप