आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
देशभरका शिक्षक विद्यालय कर्मचारीहरू माइतीघर मण्डलामा, तस्बिरहरु

देशभरका शिक्षक विद्यालय कर्मचारीहरू माइतीघर मण्डलामा, तस्बिरहरु

शुक्रबार, २९ वैशाख २०८०

काठमाडौँ । पेसागत सुरक्षा र वृत्ति विकास लगायतका विभिन्न माग राखेर देशभरका शिक्षक तथा विद्यालय कर्मचारीले विरोध प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । 

आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकको तलब वृद्धि गर्नुपर्ने, शिक्षकको तलबमान जारी गर्दा विभेद भएको ग्रेड तथा तलब मिलान गर्ने लगायतका माग अघि सारेका छन् । 

त्यस्तै शिक्षकको तलब मासिक रूपमा भुक्तानी दिने प्रबन्ध गर्ने, शिक्षामा गर्ने लगानी कुल बजेटको २० प्रतिशत गराउने, शिक्षण सिकाइ अनुदानका शिक्षकलाई दरबन्दीका शिक्षक सरह तलब दिलाउने लगायतका माग अघि सारिएको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । 

यसअघि महासंघ राज्यले गरेको ३० र ५१ बुँदे सहमति अक्षरशः कार्यान्वयन हुने गरी अविलम्ब नयाँ संघीय शिक्षा ऐन जारी गर्न समेत माग गरिएको छ । उक्त अभियानमा १४ वटा विभिन्न पेसागत संघ संस्थाहरूले ऐक्यबद्धता जनाएका छन् । 

विरोध प्रदर्शनका लागि देशभरबाट शिक्षकहरू, विद्यालय कर्मचारी, बाल विकास शिक्षक लगायतका पेसागत संघ संस्थाका पदाधिकारीहरू काठमाडौँ पुगेका छन् । सरकारले २०७५ सालमा ३० बुँदे सहमति गरेको थियो । त्यस्तै २०७८ सालमा ५१ बुँदे अर्को सहमति गरेको थियो । 

आजसम्मको उपलब्धि शिक्षक कर्मचारीको आन्दोलनबाट पाएको भन्दै थप अधिकारका लागि आन्दोलन गर्नुपरेको महासंघको ठहर छ । ‘अहिले बजेट बनाउने समय छ । हामीसँग विगतमा गरेका सहमति कार्यान्वयन गर्नुपर्ने राज्यको कर्तव्य छदैछ । बजेटमा समेट्नैपर्ने विषयका लागि दबाब दिन विरोध प्रदर्शन गरेका हौं,’ महासचिव सुवेदीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया