आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओलीदेखि रविसम्म लोकप्रियतावादको दलदलमा

शुक्रबार, २९ वैशाख २०८०, १४ : ४५
शुक्रबार, २९ वैशाख २०८०

अमेरिकी राजनीतिक वैज्ञानिक तथा राजनीतिक अर्थशास्त्री फ्रान्सिस फुकुयामाका अनुसार लोकप्रियतावाद एउटा राजनीतिक समस्या हो । मूलतः कुनै खास क्षेत्रमा विशेष चर्चामा आएका स्वघोषित बौद्धिक व्यक्तिहरू त्यही चर्चा र परिचयको नकाब लगाएर राजनीतिमा प्रवेश गर्ने प्रवृत्तिलाई लोकप्रियतावाद भनिन्छ । 

लोकप्रियतावादीले आफूलाई चमत्कारी नेतृत्व भएको र संस्थाभन्दा माथि भएको ठान्छन् । सर्वज्ञान सम्पन्न र त्रिकालदर्शी भएको अनुभूति गर्छन् । पुराना नेतृत्व, दल, विचार, राज्यव्यवस्था, शासन संन्यन्त्र र सम्पूर्ण संरचनाको जोडदार विरोध गर्छन् । दुनियाँको नक्कल गर्न र संसारमा चलेको राजनीतिक हावासँग कावा खाँदै सूचना र प्रविधिको माध्यमद्वारा आफूलाई जनस्तरसम्म पु¥याउन माहिर हुन्छन् । जुन प्रश्नको जवाफ उनीहरूसँग हुँदैन, त्यसमै हजारौँ जवाफ दिन्छन् । जुन विषयवस्तुका बारेमा ज्ञान छैन, त्यसको बारेमा सप्ताह पुराणसरह व्याख्या गर्छन् । जनअसन्तुष्टिलाई नाराको रूपमा उठाउन र निर्वाचनमा भोटमा भजाउन माहिर हुन्छन् । 

मूलतः मुलुकमा क्रियाशील रहेका राजनीतिक दलहरू असक्षम र असफल हुँदै जानु डेलिभरी गर्न नसक्नु र जनतामा तीव्र परिवर्तनको चाहना हुनुले लोकप्रियतावादको जन्म हुन्छ । 

लोकप्रियतावाद उदारवादले भित्र्याएको एउटा राजनीतिक विसङ्गति हो । यसले नारा रोप्दछ, नारा उमार्छ, नारा फलाउँछ, तर जनतालाई बाँड्ने बेलामा नाराको विश्वसनीयता समाप्त भई धोकामा परिणत भइसकेको हुन्छ । नेतृत्वलाई देवत्वकरण गर्छन्, जब सत्तामा पुग्छन् तब सत्तामा टिकिरहनका लागि निरंकुश बन्दै जान्छन् । 

लोकप्रियतावादलाई कसरी चिन्ने, संसारमा लोकप्रियतावादले कसरी र कस्तो रूपमा जन्म लिइएको छ, यसका साझा चरित्र, विशेषता र प्रवृत्ति कस्ता हुन्छन् ? लोकप्रियतावादको विश्वव्यापी जन्मकुण्डलीलाई अर्थ–राजनीतिक तथा समाजशास्त्रीय दृष्टिकोणबाट हेर्नुपर्ने हुन्छ । मुलुकमा क्रियाशील राजनीतिक दलहरू असक्षम र कमजोर बन्दै जानु, जनविश्वास गुमाउनु, गरिबी, बेरोजगारी, दण्डहीनता, भ्रष्टाचार जस्ता कारणले मुलुक आक्रान्त बन्दै जानु र यस्ता विकृति र विसंगतिबाट मुक्तिका लागि जनतामा तीव्र परिवर्तनको चाहना हुनु नै लोकप्रियतावादको जन्मको मूल कारण हो । 

जर्ज बर्नाड साले भनेका थिए– संसारको सबभन्दा महŒवपूर्ण सुनौलो नियम के हो भने संसारमा कुनै सुनौलो नियम छैन । लोकप्रियतावाद पनि नामको लोकप्रियतावाद हो ऊसँग कुनै स्पष्ट राजनीतिक विचारधारा हुँदैन, विश्व दृष्टिकोण हुँदैन । संगठनात्मक पद्धति, मूल्य–मान्यता हुँदैन । आफूलाई ओजस्वी ठान्ने सेलिब्रेटी नेतृत्व हाबी रहन्छ । उनीहरुमा सामूहिक नेतृत्व प्रणाली नहुने हुँदा राजनीतिक उत्तराधिकारी हुँदैन । सेलिब्रेटी व्यक्तिहरू आकस्मिक रूपमा राजनीतिमा आउने हुँदा ऐतिहासिक राजनीतिक लिगेसी हुँदैन, ‘इजी कम इजी गो’ भनेजस्तो मात्र हुन्छ । 

लोकप्रियतावादमा सेलिब्रेटीहरूको बाहुल्य हुने हुँदा आफूलाई विलक्षण प्रतिभाको प्रतिमूर्ति भएको दाबी गर्छन् । सार्वजनिक सूचनामा विशेष पहुँच राख्छन् । सूचना र प्रविधिमैत्री हुने भएकाले सामाजिक सञ्जालको भरपूर प्रयोग गरी ई–अर्गनाइजेसनको सञ्जाल बनाउँछन् । हरेक विषयवस्तुलाई रंगीन, नाटकीय र कलात्मक ढंगले प्रस्तुत गर्न सक्छन् । कुनै पनि विचार दृष्टिकोणले लेस नभएका मतदातालाई भड्कावपूर्ण परिचालनमार्फत उनीहरूको ब्रेन–वास गर्दै आफूलाई देवत्वकरण गर्न सफल हुन्छन् । सबैको विरोध गर्ने र सुन्दर काल्पनिक नारामा समाज बहकाउने गर्छन् । राजनीतिक सिद्धान्त र दृष्टिकोण उनीहरूसँग नहुने हुँदा स्पष्ट रूपमा सामाजिक तथा वर्गीय पक्षधरता हुँदैन । समाजमा जुन वर्गको बाहुल्य छ जो यथास्थिति तथा पुराना दलसँग सन्तुष्ट छैनन्, आफूलाई त्यही वर्गको पक्षधर भएको घोषणा गर्छन् । 

आधुनिक युगमा नवउदारवादको विकृतिका रूपमा लोकप्रियतावादको जन्म हुने गरेको हुँदा उनीहरूको अघोषित पक्षधरता मध्यम वर्ग र पुँजीपति वर्ग नै रहेको पाइन्छ । राजनीतिक सिद्धान्त र संगठनात्मक मूल्य–मान्यताबेगरको राजनीतिक परियोजना भएको हुँदा यसको दीर्घजीवन तथा स्थायित्व हुँदैन । एक–अर्काको अस्तित्वलाई स्वीकार नगर्ने प्रवृत्तिले गर्दा तीव्र अन्तर्विरोध रहन्छ । सत्ता र शक्तिमुखी रहने प्रवृत्ति सर्वथा हाबी रहन्छ । मुलुकको आधारभूत समस्याको पहिचान र उठान गर्नुको सट्टा सतही मुद्दालाई भाइरल बनाइन्छ । 

समकालीन विश्वमा लोकप्रियतावादीहरू विभिन्न किसिमका पाइन्छन् । जस्ता सवाल उठाउँदा बढी मानिसको समर्थन प्राप्त गर्न सकिन्छ, त्यही सवाल उठाउने प्रवृत्ति रहेको देखिन्छ । अन्तर्राष्ट्रिय जगत्लाई नै प्रतिनिधित्व गर्ने चर्चित लोकप्रियतावादीमा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिन पिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पर्छन् । जसले अति राष्ट्रवादको भावनामा खेल्न सफल भए । 

आप्रवासी कामदारलाई नियन्त्रण गरी स्वदेशी मजदुरमैत्री नीति अपनाउने, आप्रवासन र शरणार्थीका माध्यमबाट अमेरिकामा आतंङ्कवाद र लागुऔषधको कारोबार भित्रिएको हुँदा त्यसलाई नियन्त्रण गर्ने, छिमेकी राष्ट्र मेक्सिकोबाट गैरकानुनी घुसपैठ हुने भएको हुँदा अमेरिका र मेक्सिकोको बीचमा पक्का पर्खाल लगाउनेजस्ता लोकप्रिय नारा र धनबलको भरमा ट्रम्प राष्ट्रपतिमा विजयी भए । उनको कार्यकालमा उल्लेखनीय परिणाम प्राप्त भएन । बरु अमेरिकी इतिहासमा पहिलोपल्ट उनले आफ्नो कार्यकालमा दुईपल्ट महाअभियोग प्रस्तावको सामना गर्नुप¥यो । हाल सेक्स स्कान्डलमा अदालती कारबाहीको सामना गरिरहेका छन् । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् १९१२ देखि लोकप्रिय नाराको सहारामा रुसी सत्तामा रहेका छन् । रुसलाई पुनः विश्व शक्तिका रूपमा स्थापित गर्ने, पुनः एकीकरणको प्रयास गर्ने, नत्र केही क्षेत्र गाभ्ने र नयाँ रुसी साम्राज्य स्थापना गर्नेजस्ता रुसी जनताको भावनामा खेल्न सकिने नारा उठाएर उनी सत्तामा पुगे । सत्तामा टिकिरहनका लागि दोस्रो निरंकुश स्टालिन बन्दै गए । पछिल्लो समयमा विशेष कारबाहीका नाममा युक्रेनमाथि हमला गरे । भनिन्छ, नागरिकलाई रोटी र स्वतन्त्रतामध्ये कुनै एक रोजाउन हुँदैन, दुवै आवश्यक हुन्छन् । 

चीनमा माओत्सेतुङले सञ्चालन गरेको जनवादी कृषिक्रान्ति र देङ साओपिङले सुरु गरेको नियन्त्रित उदारीकरणलाई फ्युजन गरेर सी जिन पिङले परिवर्तित विश्व सन्दर्भलाई समेट्ने चौधबुँदे आफ्ना विचार समावेश गरी चिनियाँ विशेषतामा आधारित समाजवादको नामाकरण गर्दै आफूमा सम्पूर्ण राजकीय शक्ति केन्द्रित गरी लोकप्रियताको नाममा चिनियाँ संविधानमा दुईपल्ट मात्र राष्ट्रपति हुने प्रावधानलाई संशोधन गरी पुनः राष्ट्रपति आफैँ बन्दै जाने व्यवस्था कायम गरी निरंकुश बन्दै गएका छन्, तर राजनीतिक स्वतन्त्रता दिन चाहेनन् । विश्वव्यापी रूपमा चलेको समुन्नत लोकतन्त्रको लहरबाट चीन अछुतो छ । राजनीतिक स्वतन्त्रताका लागि चीनमा जनमत संग्रह हुने हो भने दुईतिहाइभन्दा बढी जनमत राजनीतिक स्वतन्त्रताको पक्षमा जाहेर हुने सजिलै अनुमान गर्न सकिन्छ । 

भारतमा सन् १९८० मा स्थापना भएको भारतीय जनता पार्टीले गान्धी परिवारवादको चंगुलमा फसेको कांग्रस आईका विरुद्धको जनभावनामा खेल्दै राष्ट्रवाद, मानवतावाद, हिन्दूवादको नारा र नरेन्द्र मोदीको वाक्पटुताले गर्दा भाजपाले मोदीको नेतृत्वमा संघीय सरकारको नेतृत्व गरिरहेको छ । 

मोदी पार्टी अध्यक्ष जगत प्रकाश नड्डालाई समेत ओझेलमा पार्दै पार्टीका तर्फबाट दोस्रोपटक प्रधानमन्त्री बन्न सफल भए । सत्तामा टिक्न र पुनः जित्नका लागि क्रमशः निरंकुश बन्दै गएका छन् । 

नेपालमा नेकपा एमालेको नेतृत्वमा केपी ओलीको उदय भएपश्चात् एउटा लक्ष्य, उद्देश्य, सिद्धान्त, संगठनात्मक स्वरूप, ऐतिहासिक राजनीतिक विरासत बोकेको पार्टी क्रमशः लोकप्रियतावादको दलदलमा फस्दै गएको छ । ओलीको एकल नेतृत्व हाबी भएसँगै पार्टीमा संगठनात्मक पद्धति र सामूहिक नेतृत्व क्रमशः समाप्त हुँदै गयो । उनले अवसरवादी र द्वैध चरित्र देखाउन थाले । सत्ताबाहिर बस्न नसक्नु, अरुको अस्तित्वलाई स्वीकार नगर्नु, हुँदाहुँदा प्रत्येक नागरिकको चुलोमा ग्यास पाइप पु¥याउँछु भन्नु, हुँदै नभएको पानी जहाजको टिकट काट्नु, बजेटको सुनिश्चतता नभई एकैपटक ठूलो संख्यामा भर्चुअल विधिद्वारा लज्जास्पद ढंगले सडक र अस्पतालको शिलान्यास गर्नु जस्ता गतिविधि पनि लोकप्रियतावादमा फस्दै गएको संकेत थिए । 

मधेसको विद्रोही भावनाको गर्भबाट जन्मिएको र पहिचानको चिराग बोक्ने उद्घोष गर्ने उपेन्द्र यादवको अध्क्षयतामा गठन भएको जनता समाजवादी पार्टी यस्तै लोकप्रियताको खोल ओडेर नेपाली राजनीतिमा उदायो । उपेन्द्र यादवले मधेस आन्दोलन र पहिचानको मुद्दालाई नेतृत्व गर्न नसकेको हुँदा सोका लागि सच्चा मधेसवादी र पहिचानवादी पार्टीको दाबी गर्दै सिके राउत जनमत पार्टीको साथ नेपाली राजनीतिमा उदय भयो । पश्चिम नेपालमा थारु आन्दोलनको जगमा नागरिक उन्मुक्ति पार्टीको जन्म भयो, तर तीनवटै दलहरू सता भागबन्डामा सहभागी हुँदै आफ्ना सबै नाराहरूलाई फगत नारामा सीमित राख्दै लोकप्रियतावादको एउटा अंश भएको आफूलाई प्रमाणित गरे । 

बिबिसी नेपाली सेवाको निर्देशकको पहिचानबाट नेपाली राजनीतिमा होमिएका रवीन्द्र मिश्रले साझा, विवेकशील पार्टी हुँदै हाल राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरी गणतन्त्र, संघीयता र धर्मनिरिपेक्षताको खारेजीको अभियानमा सरिक हुन पुगेका छन् । 

२०७९ असार ७ गते रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको गठन भयो । टेलिभिजन कार्यक्रमको आक्रामक प्रस्तोताको पहिचान बनाएका रवि लामिछानेले पुराना दल, नेता, राजनीतिक संस्कृति र भ्रष्टाचारजस्ता विषयलाई आक्रामक रूपमा उठाएर ‘जान्नेलाई छान्ने, बाहरू घर बस’ भन्ने नाराका साथ निर्वाचनमा होमिए । खासगरी युवा र पुराना दलबाट निराश भएका मतदाताहरूको भारी समर्थन प्राप्त गरे । सम्मानजनक मत र राष्ट्रिय पार्टीको हैसियतका साथ संसदमा प्रवेश गरे, तर जान्ने भनी छानेका रवि लामिछानेले नजानेका कारण नागरिकता मुद्दामा उनको सांसद पदै गयो । 

जता सत्ता उतै समर्थन तथा सहभागिता भने जस्तै एमालेको समर्थनमा बनेको प्रचण्डको सरकारलाई पनि समर्थन गर्ने, कांग्रेसको समर्थनमा बनेको प्रचण्ड सरकारलाई पनि समर्थन गर्ने, फेरि बिनाकारण समर्थन फिर्ता लिने, उही पुराना र बाहरूको फेर पक्रनेजस्ता गतिविधिले रविको बोलाइ र गराइमा संगति देखिएन । उपनिर्वाचनद्वारा पुनः भारी मतान्तरका साथ विजय हासिल गर्दै हिरोइजम् शैलीमा संसदमा प्रवेश गरेका छन् । लोकप्रियतावादको कसीमा घोट्दा रास्वपा पनि उस्तै–उस्तै देखिएको छ । अन्ततः लोकप्रियतावादको पर्दा पछाडि विश्वासघात र धोका शिवाय केही नहुने हुँदा बेलैमा सावधान हुन उपयुक्त देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केशव खतिवडा
केशव खतिवडा
लेखकबाट थप