आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनसाङ्ख्यिक लाभले देशको आर्थिक गतिविधि विस्तार गर्छ : अर्थमन्त्री

शुक्रबार, २९ वैशाख २०८०, १७ : ३५
शुक्रबार, २९ वैशाख २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्रको विकासका लागि वर्तमान जनसाङ्ख्यिक लाभको भरपुर उपयोग गर्नुपर्ने बताएका छन् । शुक्रवार लगानी बोर्ड नेपालको आयोजनामा नेपालमा लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै लाखौं युवाहरू विदेश रहेको र ती युवाहरूलाई स्वदेशमा फर्काइ उत्पादनको क्षेत्रमा लगाउनुपर्ने बताए ।

‘हामीसँग भएका स्रोतसाधनको अधिकतम उपयोग गर्नु नसक्नु हाम्रो कमजोरी हो । हामीसँग यतिखेर जनसाङ्ख्यिक लाभ लिन सकिने ठुलो सम्भावना छ । र पनि हामीले यो शक्तिलाई पूर्ण रूपमा पुँजीकरण गर्न सकेका छैनौँ’ मन्त्री डा. महतले भने, ‘हामीसँग ३० लाखभन्दा बढी वैदेशिक रोजगारीमा रहेका आप्रवासी कामदारहरू छन्, यसले कुनै न कुनै रूपमा रेमिट्यान्सको रूपमा हाम्रो अर्थतन्त्रलाई टेवा पुर्‍याइरहेको छ । तर, यसलाई हामीले उत्पादनशील क्षेत्रमा लगानी गर्न सकेनौँ ।’

मन्त्री डा. महतले भने, ‘नेपालको अर्को सकारात्मक पक्ष भनेको उच्च सम्भावित जनसाङ्ख्यिक लाभ भएको युवा जनसङ्ख्या र कोभिडपछि हामीले देखेको डिजिटल परिवर्तन हो । नेपालको औसत उमेर २६ वर्ष मुनिको छ र राष्ट्रिय योजना आयोगले सन् २०५० सम्म देशमा जनसाङ्ख्यिक लाभांश कायम रहने प्रक्षेपण गरेको छ । हामीसँग अझै पनि पर्याप्त युवा जनसङ्ख्या हुनेछ जसले आगामी दिनको लागि देशको आर्थिक गतिविधिलाई सहयोग गर्नेछ ।

दिगो विकासको लक्ष्य हासिल गर्न पर्याप्त वित्तीय लगानी गरी पूर्वाधारको खाडल पुर्नुपर्ने, जलवायु परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्नुपर्ने एवम् समावेशी, फराकिलो र दिगो आर्थिक वृद्धि हासिल गर्नुपर्ने बताएका छन् । देशमा लगानी योग्य कोषको प्रवाह कसरी बढाउने भन्नेमा समन्वय र व्यवस्थित छलफल आवश्यक रहेको उनले बताए । 

अहिले मुलुकको आर्थिक स्थिति बिग्रिएको नभएर क्रमशः सुधारोन्मुख रहेको बताए । मासिक रेमिटेन्स प्रवाह करिब ८० अर्ब र विदेशी विनिमय सञ्चिति १०.९ अर्ब डलर रहेकोमा उक्त रकमबाट ९ महिना भन्दा बढीको व्यापारिक वस्तु र सेवा आयात धान्न पर्याप्त रहेको उनले बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप