आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘हर्क साम्पाङसँग मात्रै होइन, मेरो सम्बन्ध कोहीसँग बिग्रिँदैन’

शनिबार, ३० वैशाख २०८०, २० : ०२
शनिबार, ३० वैशाख २०८०

विराटनगर । २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामबारे काठमाडौँ महानगरपालिका बाहेक सबैभन्दा धेरै चर्चामा रह्यो धरान उपमहानगरपालिका । धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित हर्क साम्पाङ अहिले पनि चर्चित छन् । उनले थालेको श्रम अभियान देशभरि चर्चामा छ भने खानेपानी समस्या समाधान गराउन निर्वाचित भएको दिनदेखि नै सुरु गरेको यो अभियान आजको दिनसम्म पनि जारी छ । धरानमा सधैँजस्तो खानेपानीको चरम अभाव छैन । यद्यपि अझै खानेपानीको पर्याप्तता भने छैन ।

धरानको नगर प्रमुख साम्पाङ चर्चामा आउनुको अर्को कारण उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्ने, फेसबुकमै गाउने र दिने अभिव्यक्ति पनि हुन् । कतिपय उनको अभिव्यक्ति विवादित हुने गरेका छन् भने कतिपय अभिव्यक्तिले वाहवाही पाउने गरेको छ । त्यति मात्रै होइन निर्वाचित भएपछि प्रमुख हर्क साम्पाङले समयमै बजेट ल्याउन सकस भयो । वडाध्यक्षहरूसँग त्यस बेलादेखि भएको विवाद दोस्रो बजेट ल्याउने समय आउँदासम्म जीवित छ । नगरप्रमुखले वडाध्यक्षहरूलाई गुइँठे र झोले भन्ने र वडाध्यक्षहरूले साम्पाङलाई धक्कुले भन्नेसम्मका आरोप प्रत्यारोप चलिरहेको छ । तर, त्यो विवाद मिलाउन सधैँ अग्रसर हुन्छन् उपमहानगरपालिकाका उपप्रमुख आइद्रविक्रम बेघा ।

समन्वय र छलफलमा रुचि राख्ने उनले धरानको प्रमुख साम्पाङसँगै वडाध्यक्षहरूलाई राखेर छलफल गराउने र महत्त्वपूर्ण कार्यक्रमहरू सम्पन्न गराउन भूमिका खेलिरहेका छन् । एक हिसाबले भन्दा उनी वडाध्यक्षका लागि पनि र प्रमुख साम्पाङका लागि पनि मध्यस्थकर्ता जस्तै बनेका छन् । राजनीतिक हिसाबले माथिल्लो निकायसम्म जाने, साम्पाङसँग भेट गराउने र धरानका विकास निर्माणका हरेक काममा सहयोग माग्न उनै बेघा प्रमुख साम्पाङलाई लिएर जाने गर्छन् । त्यही मध्यस्थकर्ता तथा पहलकर्ता बनिरहँदा प्रमुख साम्पाङले केही दिन अगाडि उपप्रमुख बेघाप्रति पनि आक्रोशपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा व्यक्त गरे । प्रमुखको यो अभिव्यक्ति पछि उनीहरुबीच सम्बन्ध बिग्रिएको हो कि भन्ने चर्चा सुरु भएको छ । निर्वाचित भएको एक वर्ष पुगेको अवसरमा यी र यस्तै विषयमा केन्द्रित भएर उनै बेघालाई हामीले प्रश्न गरेका छौँ । प्रस्तुत छ उनीसँगको कुराकानी । 

निर्वाचित भएको १ वर्ष पुगेको छ । तपाईं निर्वाचित हुनु अघिको धरान र अहिलेको धरानमा के सुधार भयो ?

– हामी निर्वाचित भएको एक वर्ष पूरा भएको छ । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा ठुलो सुधार भएको छ । श्रम संस्कृतिको मूल्यलाई स्थापित गरिएको छ । हामी ज्योमेट्रिक होइन अंकगणितीय हिसाबले अघि बढिरहेका छौँ । मतलब १ को २ होइन, १ को डेढसम्म चाहिँ सुधार भएकै छ । सुधारको अनुभूति क्रमशः हुँदै जानेछ ।

स्वतन्त्रबाट निर्वाचित प्रमुखसँग काम गर्न कत्तिको सहज छ ? 

– सहज नै छ । संविधानले प्रदान गरेको सीमा र घेराभित्र रहेर काम गर्दा असहज हुने प्रश्नै भएन नि । जब संविधानले दिएको सीमा र घेरा मिचेपछि मात्रै झैँ–झगडा र असहज हुने हो । अर्को कुरा म अलि समन्वय गर्ने स्वभाव भएको मान्छे पनि हो ।

तपाईंको काम त मेयरलाई र वडाध्यक्षहरूलाई मिलाउन मै समय बित्यो भन्दा के होला ? 

– त्यस्तो होइन । मिल्ने र मिलाउने जिम्मेवारी सबैको हो । कहिलेकाहीँ एजेन्डामा भएको बहसको सहजकर्ता चाहिँ भएको सत्य हो । तर त्यहि कुरालाई लिएर प्रमुख ज्यू र वडा अध्यक्ष, कार्यपालिका सदस्य ज्यूहरूको भूमिका र जिम्मेवारीमाथि प्रश्न उठ्ने कुरा गर्नु चाहिँ गलत हुन्छ कि ।

पछिल्लो समय तपाईं माथि नै नगरप्रमुख हर्क साम्पाङ खनिनु भयो । त्यति राम्रो सम्बन्ध कसरी बिग्रियो ? 

– त्यो विषयमा मैले धेरै बोल्न मिल्दैन । त्यसको जवाफ उहाँले नै दिने हो । कुन विषय र प्रसङ्गमा के लेखेको हो वा भनेको हो । मेरो सम्बन्ध कोहीसँग बिग्रिँदैन र बिग्रिएको पनि छैन । अर्को कुरा म प्रमुखज्यू होस् या अरू कोही सबैलाई आलोचनात्मक समर्थन गर्छु । त्यसो भन्नुको मतलब गुण र दोषको आधारमा समर्थन या विरोध गर्ने मेरो बानी छ । यसलाई तपाईं के भन्नुहुन्छ त्यो तपाईको कुरा हो । 

तपाईंले निष्पक्ष भएर भन्दा वडाध्यक्ष र प्रमुखबीचको विवादमा को बढी दोषी छ ?

– म न्यायाधीश होइन । हो वा होइन भन्न मिल्दैन । सबैका सीमा र कमजोरी हुन्छन् । त्यसलाई सच्याएर अघि बढ्नुपर्छ । मेरो नजरमा सबै समान हुनुहुन्छ । न दोष मेरो, न दोष उसको ....! भन्ने गीत जस्तै हो ।

अर्को प्रसङ्ग । धरानमा चलिरहेको श्रमदानबाट खानेपानी समस्या समाधान भयो ? 

– श्रमदानबाट खानेपानी ल्याउने अभियान अहिले पनि चलिरहेको छ । जुन कामले खानेपानीको समस्या समाधान गर्ने प्रयत्न भइरहेको छ । यसले पूर्णरुपमा समाधान त हुँदैन तर, सुधार भएको छ । किनकि धरानलाई दैनिक करिब ३ करोड लिटर पानी चाहिन्छ । हाल एक करोड ५२ लाख लिटर पानी उत्पादन हुन्छ र अहिलेको श्रमदानबाट करिब दैनिक २०–२५ लाख लिटर पानी थपिने अवस्था छ । त्यसैले दीर्घकालीन समस्या समाधान चाहिँ कोशी वा तमोर नदीबाटै हुने हो । अहिलेको खानेपानी ल्याउने श्रमदानको अभियानले तत्कालीन समस्या समाधान गर्ने प्रयास हो । 

धरान उपमहानगरपालिका खानेपानीमा मात्रै फोकस भयो । सामुदायिक विद्यालयको सुधार भएन । स्वास्थ्य क्षेत्र जस्ताको तस्तै छ । सडक खाल्डाखुल्डी उस्तै रहेको गुनासो छ नि ? 

– कामहरू सबै क्षेत्रका भइरहेकै छन् । प्रचार खानेपानीको बढी भएको हो । तर, तपाईंले भनेको जस्तो मात्रै होइन । विद्यालय सुधारका कुराहरू, स्वास्थ्य क्षेत्र सुधारका कुराहरू, पर्यटन प्रवर्द्धन र अन्य भौतिक पूर्वाधार निर्माणका कुराहरू तीव्र गतिमा भइरहेका छन् ।

वडाध्यक्षसँग विवाद छँदै थियो । त्यसमा केही दिनदेखि उपमहानगर प्रमुखज्यू र पत्रकारबीच पनि विवाद सुरु भएको छ । यो कसरी समाधान हुन्छ ? वडाध्यक्षसँगको मिलनबिन्दु के हुन सक्छ ?

– वडाध्यक्षहरूसँगको विवाद समाधान भइसकेको छ । अब नयाँ ढंगले अगाडि बढ्ने कुरा भइसकेको छ । कार्यपालिकाको बैठकसमेत तोकी सकिएको छ आइतबार २ बजेका लागि । पत्रकार साथीहरूसँग भएको विवादको विषय पनि हामी समाधान गर्नेछौँ । 

बजेट निर्माणको तयारी के हुँदैछ ? 

– तीव्रताका साथ बजेट निर्माण प्रक्रिया अगाडि बढिरहेको छ । राजश्व परामर्श समितिले सरोकारवालाहरूसँग प्रतिनिधिमूलक ढङ्गले १६ वटा बैठक र अन्तरक्रिया राखेर सुझाव तथा राय सङ्कलन गरी करिब एक अर्ब ५३ करोडको बजेट प्रक्षेपण प्रतिवेदन नगर प्रमुख ज्यूलाई वैशाख २८ गते बुझाइ सकेको छ । हाम्रो बजेट निर्माण कार्य निरन्तर अघि बढिरहेको छ ।

धरानको विकास र समृद्धिको बाधक चाहिँ के रहेछ ? 

– बजेटको अपर्याप्तता नै विकासको बाधक हो । हामीसँग भएको आय र बजेटको सीमाले मात्रै विकास र समृद्धि पूर्णरुपमा सम्भव छैन । बाँकी कसलाई दोष देखाउनु ? अरूलाई दोष देखाउनु राम्रो होइन पनि । 

अबको बजेटले मूल लक्ष्य केलाई मानेको छ ? मुख्य मुख्य योजनाहरू के हुन्छन् ? 

– मूलतः खानेपानी नै हुनेछ । बाँकी खेलकुद, शिक्षा, स्वास्थ्य साथै भौतिक पूर्वाधार निर्माणहरू प्राथमिकतामा हुनेछन् । 

धरानको खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि संघ सरकार र प्रदेशसँग के कस्तो पहल गरिरहनुभएको छ ? 

– छलफल चलिराखेको छ । हामीले आग्रह गरिरहेका छौँ ।  हेरौँ अब के हुन्छ । संघीय सरकारले पानीका लागि योगदान गर्नेछ भन्ने पूर्ण विश्वास छ । यो बीचमा हामीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेका छौँ । प्रदेश सरकारका मन्त्रीहरूसँग पनि छलफल गरेका छौँ । खानेपानीको समस्या समाधान गर्न धरान उपमहानगरपालिकाले मात्रै सक्दैन । माथिल्ला दुई तहको सरकारको पनि धरानको विषयमा चासो हुन आवश्यक छ भन्ने विषयमा उहाँहरूलाई अनुभूत गराएका छौँ । उहाँहरूले यस पटकको बजेटमा धरानको खानेपानी समस्या समाधान गर्ने गरी उल्लेख गर्ने बताउनु भएको छ । आशा छ त्यो विषय बजेटमा आउने छ र धरानको खानेपानी समस्या सधैँका लागि समाधान हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप