आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युवतीले प्रेमीकी प्रेमिकालाई साथी बनाइन्, प्रेमी बाँड्न राजी भइन्

सोमबार, ०१ जेठ २०८०, १६ : १९
सोमबार, ०१ जेठ २०८०

भेनेजुएलाकी एक युवतीले आफूलाई धोका दिने प्रेमीकी प्रेमिकालाई साथी बनाएकी छिन् । उनले ती युवतीलाई साथी मात्रै बनाइनन्, उनीसँग आफ्नो प्रेमी बाँड्न राजीसमेत भइन् । 

भेनेजुएलास्थित लेचेरियाकी सोफिया गुटेरेजले फेसबुकमा आफ्नो र अर्की एक युवतीको फोटो राखेर ती युवतीलाई आफ्नो प्रेमीकी प्रेमिका र आफ्नो साथी भएको बताएपछि उनी चर्चित बनेकी छिन् । आफ्ना प्रेमीले धोका दिइरहेको बारे ह्वाट्सएप मेसेज हेरेर थाहा पाएको सोफियाले बताइन् । यसबारे प्रेमीलाई सोध्नुको साटो उनले उनकी गोप्य प्रेमिकालाई सम्पर्क गरिन् । कुराकानी हुँदै गएपछि यी दुई निकै मिल्ने साथी भए । 

सोफियाले ती युवतीलाई फोटोमा ट्यागसमेत गरेकी छिन् । उनको नाम साराही गिल हो । यो अचम्मको पोस्ट हेर्दा हेर्दै भाइरल भइहाल्यो । 

‘उनी को हुन् ? उनी मेरो प्रेमीकी मोसा (प्रेमिका) र मेरी साथी हुन्,’ सोफियाले लेखेकी छिन् । ‘हँ..... ! सोफिया तिमी पागल भयौ कि क्या हो ? होइन, म पागल भएको छैन । यी युवतीले मेरो प्रेमीलाई आफ्नो भनेर स्वीकार गरेपछि मेरो सबै स्नेह पाएकी छिन् । उनलाई उनको स्थान थाहा छ । उनी सार्वजनिक स्थलमा प्रेमीसँग कतै जाँदिनन् । उनले मेरो प्रेमीलाई असाध्यै माया गर्छिन् ।’

‘उनले प्रेमीलाई विशेष महसुस गराउन सधैँ ह्वाट्सएप मेसेज पठाउने गर्छिन् । यो मेरो लागि निकै ठुलो कुरा हो किनभने जब म प्रेमीसँग हुन पाउँदिनँ, उनी त्यहाँ हुनेछिन् । मेरो प्रेमीको ख्याल राख्नेछिन् । मेरो प्रेमीले पाउनु पर्ने जति माया दिनेछिन् । एक व्यक्तिको दुई प्रेमिकाबीचको दोस्ती निकै दुर्लभ कुरा हो भन्ने थाहा छ तर मेरो प्रेमीले उनले सोचेभन्दा बढी माया पाउनेछन् । परिपक्व व्यवहार देखाएकोमा धन्यवाद र म वचन दिन्छु कि म र मेरो प्रेमीको जीवनमा तिमीले खेल्ने भूमिकालाई कहिल्यै कम हुन दिने छैन,’ उनले लेखेकी छिन् । 

समाचार तयार पार्दासम्म यो फेसबुक पोस्टलाई १५ हजार जनाले सेयर गरिसकेका छन् भने  २६ सय भन्दा बढी रियाक्सन आइसकेको छ । कतिले यो पोस्टमा ‘विश्वका सबैभन्दा भाग्यमानी प्रेमी’ भनेर कमेन्ट गरेका छन् । कतिले यो पोस्ट ठट्टाका लागि मात्रै गरिएको हुनसक्ने आशङ्का गरिरहेका छन् । यसबारे सोफियाले पुष्टि गरिसकेकी छैनन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप