आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वीरगन्ज भन्सारले तीन दिनदेखि रोक्यो ‘व्यापारिक वस्तु’को जाँचपास, राजश्व संकलन प्रभावित

मङ्गलबार, ०२ जेठ २०८०, १६ : ४०
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो तीन दिनयता व्यापारिक प्रयोजनका लागि आयात गरिएको सामानको जाँचपास रोकेको छ । भन्सार कार्यालयले प्राविधिक त्रुटि देखाउँदै तीन दिनयता व्यापारिक प्रयोजनका लागि आयात गरिएका सामानको जाँचपास रोकेको हो ।

जाँचपास रोकिँदा भन्सार कार्यालयले असुल्न पर्ने राजश्व संकलनको लक्ष्य नै प्रभावित बनेको छ । दैनिक ७२ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएको भन्सार कार्यालयले वैशाख महिनाभरि उत्कृष्ट प्रदर्शन गर्‍यो । भन्सार कार्यालयले महिनामा २३ अर्ब २२ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य भएको थियो । 

जसमध्ये ५७ प्रतिशत भन्सार राजश्व असुल्न सफल बनेको छ । तर, पछिल्ला ३ दिनयता भने भन्सार कार्यालयको राजश्व संकलन एकाएक घटेको छ । भन्सार कार्यालयका जाँचपास शाखाका २ जना कर्मचारी फिल्ड छाडेर काठमाडौँ हानिएपछि जाँचपास प्रभावित बनेको हो ।

फिल्ड छाडेका २ जना कर्मचारीमध्ये एक जना स्वास्थोपचारका लागि भनेर काठमाडौँ आएका छन् । यस्तै, अर्का एक जना कर्मचारी भन्सार विभागमा आएपछि कर्मचारी अभावका कारण व्यापारिक प्रयोजनका लागि आयात गरिएका सामानहरुको जाँचपास रोकिएको हो ।

पछिल्लो ३ दिनयता व्यापारिक प्रयोजनका सामाग्रीको आयात रोकिएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र शर्मा ढकाल स्विकार्छन् । कार्यालयले पछिल्लो तीन दिन यता भन्सार जाँचपास रोकेको हो भन्ने जिज्ञासामा ढकालले भने, ‘व्यापारिक प्रयोजनको लक्ष्यसहित आयात भएका सामानको जाँचपास रोकिएको छ । अन्यतर्फ भइरहेको छ ।’

‘एक जना कर्मचारी उपचारका लागि काठमाडौँ गएको र चिफसाप तुरुन्त भन्सार विभाग पुग्न परेकाले व्यापारिकतर्फको जाँचपास रोकिएको छ,’ ढकालले भने, ‘यो प्राविधिक त्रुटि हो ।’ तर, कर्मचारी अभावका कारण देखाउँदै भन्सार कार्यालयले जाँचपास नै रोक्दा राजश्व संकलन लक्ष्य नै प्रभावित परेको छ ।

भन्सार कार्यालयले दैनिक ७२ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएकोमा वैशाख महिनामा लक्ष्यको ५७ प्रतिशत संकलन गरेको छ । तर, वैशाख महिनाको अन्तिम सातामा भने कार्यालयले स्वाभाविक राजश्व संकलन गरेको देखिँदैन । वैशाख २६ गते जम्मा २१ करोड ४१ लाख रुपैयाँ राजश्व संकलन गरेको कार्यालयले वैशाख २७ गते ५० करोड ७० लाख रुपैयाँ संकलन गर्‍यो ।

वैशाख २८ गते पेट्रोलियम पदार्थको जाँचपास हुँदा एकै दिन १ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ राजश्व संकलन गरेको कार्यालयले त्यसयता भने निरन्तर खस्कँदो राजश्व संकलन गरिरहेको छ । वैशाख २९ गते शुक्रबार जम्मा ३५ करोड ६५ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै, वैशाख ३० गते शनिबार भएकाले उक्त दिन जम्मा ६ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।

यसबाहेक, वैशाख ३१ गते ३८ करोड रुपैयाँ राजश्व संकलन गरेको छ भने हिजो जेठ १ गते जम्मा ३६ करोड ७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । भन्सार कार्यालयले कर्मचारीको अभावको कारण देखाउँदै तीन दिनयता जुत्ताचप्पल, लत्ताकपडा लगायत व्यापारिक प्रयोजनका लागि ल्याइएको वस्तुको जाँचपास नगरेको हो ।

यद्यपि, व्यापारिक वस्तुको आयात रोकिँदा राजश्व संकलनमा ठूलो प्रभाव नपरेको भन्सार कार्यालय बताउँछ । तीन दिनयता नाकामा व्यापारिक सामान बोकेका करिब दर्जन संख्यामा कन्टेनर आएर बसेको र छिट्टै जाँचपास सुरु हुने कार्यालयको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप