आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कलाकार

शिल्पाका लागि खोल्ला त ‘परस्त्री’ले बलिउडको ढोका ?

शनिबार, ०६ जेठ २०८०

काठमाडौँ । अभिनेत्री शिल्पा मास्के पछिल्लो समय फिल्म ‘परस्त्री’को फष्टलुकको कारण चर्चामा छिन् । अहिलेसम्मकै बोल्ड लुक्समा प्रस्तुत भएकी शिल्पाको चर्चा अहिले कलिउडदेखि बलिउडसम्म भएको छ ।

फिल्म ‘ब्रेकअप’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी शिल्पाले मुख्य र सहयोगी गरेर ७ फिल्म अभिनय गरिसकेकी छन् । तर हालसम्म उनलाई खासै चर्चा र सफलता मिलेन । त्यसैले, चर्चामा आउन शिल्पा ‘परस्त्री’ मा बोल्ड अवतारमा देखिएको आरोप छ ।

‘परस्त्री’ को बोल्ड लुक्स कथाको माग भएको शिल्पा बताउँछिन् । ‘फिल्म एउटा बोल्ड स्ट्रोङ महिलाको कथामा बनेको हो र कथाअनुसार म बोल्ड भएकी’, उनले भनिन्, ‘चरित्रको कारणले हल्ला होला र अभिनयमा सफलता मिल्ला भनेर होइन ।’ ‘परस्त्री’ बोल्ड र बलियो क्यारेक्टर भएकाले आफ्नो रोजाइमा परेको समेत उनले सुनाइन् ।

कतिपयले मिडियाले करियरले उचाइ नलिएपछि शिल्पा बोल्ड बनिन् शीर्षकमा गसिप लेखेका छन् । तर त्यो आरोप सिधै नकार्छिन् उनी । एउटै कामले बोरिङ हुने भएकोले केही फरक दिने कोसिस गरेको उनको कथन छ । कलाकार भएपछि अभिनयको विभिन्न जनरामा आफूलाई प्रयोग गर्नुपर्ने उनी मान्यता राख्छिन् ।

अभिनयको सिलसिलामा कहिले भूत, कहिले भिखारी, कहिले गरिब, कहिले बोल्ड बन्नुपर्छ’, शिल्पा थप्छिन्, ‘अभिनयमा आएपछि फरक फरक गर्नुपर्छ ।’ 

shilpa maskey (1)

फिल्ममा कथाले मागेको बोल्ड दृश्य दिएको बताउने उनले बोल्डनेस र भल्गारिटीको बटम लाइनमा बसेर ग्ल्यामर पस्किएको खुलाउँछिन् । अहिलेसम्मको फिल्मबाट अभिनयको रूपमा प्रशंसा पाए पनि चरित्रको रूपमा उनी स्थापित छैनन् । ‘परस्त्री’बाट शिल्पाले त्यो आससमेत गरेकी छन् ।

‘परस्त्री’ साइक्लोजिकल थ्रिलर फिल्म हो । फिल्मको टाइटल क्यारेक्टर अर्थात् परस्त्रीको भूमिकामा उनी आफै छिन् । अभिनेत्रीको रूपमा फिल्मको भूमिका च्यालेन्जिङ थियो । त्यसैले, फिल्मको व्यवसाय हुनुपर्ने दबाब आफूमा रहेको उनको भनाई छ ।

‘शीर्ष भूमिकामा म भएकोले व्यावसायिक दबाब पनि छ’, शिल्पा अगाडि भन्छिन्, ‘डेब्यु निर्देशक सुरजले पनि राम्रो काम गरेका छन् । लेखक दीपेन्द्र के खनाल आफै राम्रो निर्देशक हुनुहुन्छ । टिमवर्क राम्रो भएकोले फिल्म मेरो करियरका लागि एक खुड्किलो साबित हुन सक्छ ।’

‘परस्त्री’ शीर्षकले नै अर्काकी श्रीमती भन्ने बुझाउँछ । फिल्मको कथा पनि त्यही भएको उनी बताउँछिन् । ‘श्रीमान्–श्रीमतीको सम्बन्धमा अर्को मानिसको प्रवेशपछि आउने उतार चढाव नै फिल्मको थिम हो,’ उनले कथाको केही अंश खोलिन् ।

त्यो डर थियो 

फिल्म उद्योगमा शिल्पाले कदम राखेको करिब एक दशक भयो । त्यो हिसाबले उनले अहिलेसम्म दर्जन बढी फिल्म अभिनय गरिसक्नुपर्ने हो । तर अहिलेसम्म उनले जम्मा ७ फिल्ममा अभिनय गरेकी छन् । आफू चुजी र फिल्म छानेर मात्र गर्ने भएकोले सङ्ख्या कमी भएको उनको भनाई छ ।

‘फिल्म यात्रा थालेको दुई वर्षमै तीन फिल्म गरे । त्यसपछि कोरोना आयो । अनि फिल्ममा ब्रेक लाग्यो’, शिल्पा थप्छिन्, ‘केही अगाडिको ‘फुलबारी’ र ‘कठपुतली’मा चरित्र राम्रो भएकोले सानो भूमिका भए पनि अभिनय गरे ।’

shilpa maskey (2)

कलाकार धेरै चुजी हुँदा पछि पर्छन् । फिल्म उद्योगको एउटा भनाई हो यो । यो उनले पनि बुझेकी छन् । आफूलाई मन नलागेको भूमिकामा अभिनय गर्दा पनि डुब्न सकिने उनको धारणा छ । फिल्म फ्लप भएर पछि पर्नुभन्दा अभिनय नै नगरेर पछि पर्नु राम्रो ठान्छिन् उनी ।

कलाकारलाई फिल्म छान्न त्यति सजिलो पनि छैन । फिल्मको आ–आफ्नै विषेशता हुन्छ । उनी कथा राम्रो लागेको र युनिट राम्रो भएको फिल्म छान्छिन् । 

‘परस्त्री छान्दा उनलाई निकै कठिन भएको थियो । ‘किनभने यो फिल्मका धेरै कुरा मैले आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किएर गर्नुपर्ने थियो’, उनले कुरा राखिन्, ‘एक साता लगाएर सोचे, टिमसँग बसेर यो कसरी खिचिन्छ, मेरो जोडी को हुन्छ लगायत सबै कुरा बुझे । धेरै छलफल पछि छानेको हुँ ।’

‘परस्त्री’ को फष्टलुकले नै फिल्म प्रति सबैलाई आकर्षित गरेको छ । फष्टलुक सार्वजनिक हुँदै गर्दा उनी एकदमै डराएकी थिइन् । डराउनुको कारण पोष्टरमा रहेको बोल्ड लुक्स थियो । बोल्ड लुक्समा बाहिरकोले के भन्छन् भन्दा पनि आफ्नै परिवारले कसरी लिन्छन् भन्ने चिन्ता धेरै थियो ।

‘आमाबुबालाई पोष्टर मनपर्‍यो । कस्तो क्लासिकल देखिएको छ भनेर शेयर समेत गर्नुभयो । त्यसपछि मन ढुक्क भयो’, शिल्पा भन्छिन्, ‘दर्शक र सामाजिक प्रयोगकर्ता सबैको राम्रो रेस्पोन्स आयो । फिमेलहरुले पनि एकदमै सपोर्ट गर्नु भएको छ ।’ सबैको सकारात्मक प्रतिक्रियाले फिल्मबाट राम्रो आस गरेको उनी सुनाउँछिन् ।

shilpa maskey (4)

शिल्पाको यो वर्ष दुई फिल्म रिलिज हुँदैछ । पहिलो ‘परस्त्री’ र अर्को देवी । उनी अहिले भने परस्त्रीको प्रमोसनमा व्यस्त छिन् । अभिनयका लागि आधा दर्जन नयाँ प्रोजेक्टको कुराकानी भइरहेको उनले बताइन् ।

बलिउडको ढोका खुल्छ कि ?

‘परस्त्री’ इन्डो नेपाली फिल्म हो । फिल्म हिन्दी र नेपाली दुई भाषामा रिलिज हुँदैछ । यसकारण शिल्पा एकदमै खुसी र एक्साइटेड छिन् ।

‘मेरो फिल्म पहिलो पटक भारतमा पनि रिलिज हुन लागेको छ,’ उनले खुसी शेयर गरिन्, ‘बलिउड सबैको सपना हो । त्यो सहरमा नेपाली, त्यो पनि मेरो फिल्म लाग्नु भनेको मेरो लागि एकदमै खुसीको कुरो हो ।’

‘फिल्मको छायाङ्कनमा नै कलाकारले हिन्दी र नेपाली दुवै भाषामा गरेका थियौ । त्यसैले पनि छायाङ्कन एकदमै गाह्रो भएको थियो’, शिल्पा अगाडि थप्छिन्, ‘अहिलेको चर्चाले त्यतिबेला गरेको मिहिनेत सफल भयो भन्ने लाग्छ ।’ फिल्मले आफ्नो र नेपाली फिल्मका लागि बलिउडको बाटो सहज बनाउने उनको आस छ ।

केही नेपाली कलाकार बलिउड यात्राका लागि भारतमा संघर्षरत छन् । केहीले म्युजिक भिडियो अभिनय गरिरहेका छन्, भने कोही सिरियलमा आफूलाई निखार्दै छन् । उनी अफर मिले पनि बलिउडमा अभिनय सहज नभएको बताउँछिन् । त्यसैले, प्रोजेक्ट हेरेर अभिनयका लागि डिसिजन गर्ने उनको सोच छ ।

‘बलिउड त सबैको सपना हुन्छ । हामी यहाँ जस्तो भएपनि बलिउडमा जिरोबाट सुरु गर्नुपर्छ । त्यहाँ धेरै प्रतिभावान कलाकार छन्’, उनी भन्छिन्, ‘बलिउडबाट म्युजिक भिडियोदेखि अन्य जुनै राम्रो प्रोजेक्ट आयो भने गर्छु ।’

अर्को वर्ष बिहे !

‘परस्त्री’को पोष्टरमा पुरै रातो रंग समायोजन गरिएको छ । रातो रंग माया र खतराको प्रतीक पनि हो । फिल्ममा यसले दुवैको ब्यालेन्स गर्ने उनी बताउँछिन् ।

रिल लाइफमा थुप्रै पुरुषको प्रेममा देखिएकी शिल्पाको रियल जीवनमा कोही पुरुष छ कि छैन ? यो अहिलेसम्म बाहिर नआएको विषय हो । 

के प्रेममा हुनुहुन्छ ? प्रश्न राख्न नपाउँदै उनले उत्तर फर्काइन्, ‘प्रेममा हामी सबै जना छौ । मेरो अहिलेसम्म सम वान स्पेसल छैन ।’

प्रेमको विषय उनले टुङ्ग्याए पनि विवाहको प्रश्न छोड्ने कुरै भएन । विवाह कहिले गर्ने त ? 

‘विवाहको योजना अहिले छैन । अर्को वर्ष हुन्छ होला’, उनले जवाफ दिइन्, ‘यो वर्ष करियरमा मात्र फोकस गर्ने बिचार छ ।’

अभिनयको अलावा शिल्पा रेस्टुरेन्ट व्यवसायमा पनि आबद्ध छिन् । ‘दोक्दसारा’ नामक उनको कोरियन रेस्टुरेन्ट कुपण्डोल हाइटमा छ । यो रेस्टुरेन्ट उनले पार्टनरसिपमा चलाउँदै छिन् । 

‘रेष्टुरेन्टबाट एउटा व्यवसायको अनुभव पनि भयो’, शिल्पाले भनिन्, ‘फुर्सदको समय बिताउन सजिलो र आम्दानी पनि भइरहेको छ ।’ अन्य व्यवसायमा अहिले जोडिने सोच नभएको बताउने उनी रेस्टुरेन्ट व्यवसाय बिस्तारको योजनामा भने छिन् ।

shilpa maskey (3)

एक्सनमा रुचि

अभिनयबाट कलाकार कहिल्यै सन्तुष्ट हुन सक्दैनन् । एकपछि अर्को अभिनयको भोक जागिरहन्छ । धेरै कलाकारले भन्ने शब्द हो यो । उनले पनि यही दोहोर्‍याइन् ।

शिल्पाले जति फिल्म गरेकी छन् । ती फिल्मको भूमिकाबाट सन्तुष्ट छिन् उनी । तर, अभिनयको प्यास भने मेटिएको छैन ।  एक प्रोजेक्ट सकिँदै गर्दा यो भन्दा राम्रो गर्न सक्छु भन्ने लागि रहन्छ उनलाई । अभिनयको असन्तुष्टि ‘परस्त्री’ ले केही हदसम्म मेट्ने उनले आस गरेकी छन् ।

पछिल्लो समय धेरै कलाकारले अभिनयको सन्तुष्टि व्यवसायसँग पनि दाँज्न थालेका छन् । उनी पनि ती मध्यकी एक हुन् । 

‘हामीले जति नै राम्रो अभिनय गरेपनि फिल्म चलेन भने कसैले राम्रो भन्दो रहेनछ’, उनले गुनासो पोखिन् । फिल्मले व्यवसाय गर्‍यो भने अडियन्स, निर्माण युनिट सबैको वाहवाही मिल्ने उनले बुझेकी छन् ।

उनले अभिनय गरेका कुनै फिल्ममा अहिलेसम्म एक्सन भूमिका छैन रे । जबकि अभिनयमा एक्सन उनको मनपर्ने जनरा पनि हो ।

‘अभिनयमा भिलेनलाई कुट्ने, हिरोलाई बचाउने, फाइट हान्ने  हामीलाई पनि रहर हुन्छ नि,’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया