आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनप्रतिनिधिको एक वर्ष : कामबाट सन्तुष्ट तर समन्वयमा तिक्तता

सोमबार, ०८ जेठ २०८०, १६ : १७
सोमबार, ०८ जेठ २०८०

कैलाली । स्थानीय तहको दोस्रो निर्वाचन भएको एक वर्ष पूरा भएको छ । अहिले निर्वाचित जनप्रतिनिधिले एक वर्षे कार्यकाल पूरा गरिसकेका छन् । तर  निर्वाचनका बेलामा नागरिकमा बाँडिएका आश्वासन पूरा नगरेको र जनताको जनभावनाअनुसार काम गर्न नसकेको स्थानीयवासीको गुनासो छ ।

नागरिक विश्वस्त हुनेगरी जनप्रतिनिधिले काम गर्न नसकेको भन्दै विगतका र अहिलेका नेतृत्वले गरेको कामको  तुलना गर्दा खासै फरक नभएको आवाज पनि उठ्न थालेको छ ।

स्थानीय तहको नेतृत्व गरिरहेका जनप्रतिनिधि भने आफ्नो कार्यकालको पहिलो वर्षमा थुप्रै काम गर्न सफल भएको बताउँदै आएका छन् । उनीहरुले स्थानीय तहमा विकास र समृद्धिको जग बसालेको र  त्यसलाई पूर्ण गर्न समय लाग्ने बताए । 

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले नागरिकको जनभावनाअनुसार काम गर्न नसकिएको बताए । उनले केही राम्रा कामको सुरुवात भए पनि नागरिकले तत्काल नतिजा खोज्दा त्यस्तो हुन पुगेको बताए ।  

“सुरुवाती चरणमा छौँ । धेरै कुराको तालमेल नमिल्दा पनि महसुस हुने गरी कामको नतिजा एकै वर्षमा देखाउन सकिएको छैन,” नगर प्रमुख थारुले भने, “स्थानीय तहसँग सङ्घ र प्रदेशको तालमेल नमिल्दा पनि समस्या भएको छ । हामी वैशाखमा सबै काम सम्पन्न गर्ने योजनामा हुन्छौँ तर प्रदेश र सङ्घका योजनाको प्रक्रिया वैशाखमा सुरु हुन्छ । अनि कसरी फलदायी काम हुनसक्छ ?”

भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले नगरपालिकामा एक वर्षमा थुप्रै काम भएको जिकिर गरे । जनताको चाहनाअनुसार आफू निर्वाचनको समयमा बोलेका कुरालाई पूरा  उन्मुख भएको उनको भनाइ थियो ।

“नागरिकहरूका अपेक्षा धेरै भएको तर हाम्रा स्रोतसाधनको सीमितताले पक्कै पनि नागरिकको अपेक्षाअनुसार काम नभएको हुनसक्छ,” नगर प्रमुख चौधरीले भने, “तर हाम्रा तर्फबाट थुप्रै कामको सुरुवात गरिएको छ । त्यसको परिणाम अहिले नै देखिने स्थिति नभए पनि बाँकी चार वर्षमा नागरिकलाई महसुस हुनेगरी कामको थालनी भएको छ ।” 

भजनी बाढीप्रभावित क्षेत्र भएकाले विपत् व्यवस्थापन, शिक्षामा सबैको सहभागिता र स्वास्थ्य क्षेत्रमा सबैको पहुँचका लागि नगरपालिकाले प्राथमिकताका साथ काम गर्दै आएको उनले बताए ।

जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले अहिले नै कामको मूल्यङ्कन गरिहाल्नुपर्ने स्थिति भइनसकेको बताए ।  उनले पहिलो वर्षमा नागरिकका माझमा कबुल गरिएका विषयको जग बसाल्न सफल भएको बताए । अध्यक्ष चौधरीले  कुनै पनि काम गर्न सहज नहुने तर चुनौतीलाई सामना गरी योजनालाई  सफल बनाउन गाउँपालिका क्रियाशील भएर लागेको बताए ।

जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले अहिले नै नतिजा खोज्ने समय नभए पनि एक वर्षमा गरिएका कामको उपलब्धिले जनतामा  विश्वास बढाएको बताए ।  उनले पनि गरिएका कामको नतिजा आइनसकेको बताए । “नागरिक सन्तुष्ट हुनेगरी हाम्रा कार्य अगाडि बढेका छन् । नागरिकलाई त्यसको अनुभूति हुने समय भने भइसकेको छैन,” अध्यक्ष चौधरीले भने, “अनुभूति गराउन  समय लाग्छ । हाम्रो कार्यकालमा हामीले बोलेका मूलभूत कुरालाई पूरा गर्छौं ।’’

लम्कीचुहा नगरपालिकाकी प्रमुख सुशीला शाहीले बजेटको सङ्कुचनले सोचेजस्तो उपलब्धि हासिल गर्न नसकिएको बताइन् । उक्त नगरपालिकामा एक वर्षमा बादी बस्तीमा लालपुर्जा वितरण, शिविर बस्तीमा  आठवटा घर निर्माणलगायत केही उल्लेखनीय काम भए पनि नेतृत्वमा आएको दिनदेखि प्रयास गरेको ट्रमा सेन्टर स्थापनाको कामलाई जग्गाको अभावका कारण पूरा गर्न नसकिएको उनको भनाइ थियो  । “काम गर्नुपर्ने धेरै छ । नागरिकको अपेक्षा पनि धेरै छ । त्यो अपेक्षा पूरा गर्न समय पक्कै लाग्छ,” नगर प्रमुख शाहीले भनिन्, “अहिले संघीय सरकारले कटौती गरेको बजेटले पनि काममा समस्या भएको छ । अर्को समस्या जनप्रतिनिधि र कर्मचारी बीचको समन्वयमा देखिएको उल्झन पनि छ ।” 

जनप्रतिनिधिले बनाएको नीतिलाई कर्मचारीले सहज रुपमा कार्यान्वयन नगर्दा थुप्रै कामको नतिजा नदेखिएको गुनासो गर्दै उनले  गत आर्थिक वर्ष कर्मचारीले बजेट कार्यान्वयनमा गरेको आनाकानीले नगरपालिकाको साँढे १३ करोड बजेट फ्रिज भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप