आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमती प्रदेशसभा बैठक बस्दै

मङ्गलबार, ०९ जेठ २०८०, ११ : १३
मङ्गलबार, ०९ जेठ २०८०

मकवानपुर । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आज मंगलबारबाट सुरु हुँदैछ । संसद्‍को दोस्रो कार्यकाल अन्तर्गतको दोस्रो अधिवेशन ९वर्षे अधिवेशन०को पहिलो बैठक मंगलबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले गत जेठ १ सोमबार प्रदेशसभाको बजेट अधिवेशनको रूपमा रहेको वर्षे अधिवेशन जेठ ९ गते मंगलबार दिउँसो १ बजेका लागि आह्वान गरेका थिए । गत वैशाख ३१ गते आइतबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार प्रदेशसभाको अधिवेशन आह्वानका लागि सिफारिस गरे अनुसार प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका थिए ।

उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफल हुने प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार प्रदेशसभा बैठकको कार्यसूची तयार पार्ने केही बेरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तयारी भइरहेको छ । उक्त बैठकले प्रदेशसभामा प्रस्तुत हुने कार्यसूची तयार पार्ने सचिव खड्काको भनाई छ ।

प्रदेशसभा बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकताको क्षेत्र माथि छलफल हुने उनले बताए । उनका अनुसार प्रदेशसभा बैठकमा सरकारको तर्फबाट विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पेस हुने र त्यस माथि सांसदहरूले सैद्धान्तिक छलफल गर्नेछन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि शिक्षा स्वास्थ्य तथा भौतिक संरचना विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको जनाइएको छ । सरकारले टुक्रे योजनालाई वैकल्पिक व्यवस्था गरी प्रभावकारी ढंगबाट बृहत् र दीर्घकालीन योजनाहरू ल्याउने तयारी गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप