आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद्

मन्त्रिपरिषद् गठन–पुनर्गठनमा यसरी बित्यो प्रचण्डको ५ महिना !

मङ्गलबार, ०९ जेठ २०८०, १६ : २४
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले ११ औं पटकमा पूर्णता पाएको छ । पाँच महिनासम्म बन्ने र भत्कने क्रम चल्दै आएकामा मंगलबार भने प्रचण्डले पूर्णता मन्त्रिपरिषद्लाई दिन सफल भएका हुन् ।

अध्यक्ष प्रचण्डको नेतृत्वमा २०७९ पुस ११ गते सरकार गठन भएको थियो । पुस १० मा प्रधानमन्त्री बन्दा प्रचण्डलाई एमाले–माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जसपाको समर्थन रहेको थियो । यस्तै प्रभु साह (हाल आम जनता पार्टी) सहितका तीन जना स्वतन्त्र सांसदको पनि प्रचण्डलाई समर्थन रहेको थियो ।

प्रचण्डले प्रधानमन्त्रीको शपथ लिएसँगै पुस ११ मा आठ सदस्यीय मन्त्रीमण्डल गठन गरेका थिए ।  जसअनुसार प्रचण्डले एमालेका महासचिव विष्णु पौडेललाई उपप्रधानमन्त्री तथा अर्थमन्त्री, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री तथा भौतिक मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृह मन्त्रीमा नियुक्त गरे ।

यस्तै एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई, जनमत पार्टीबाट अब्दुल्ल खानले पनि मन्त्रीमा शपथ लिएका थिए ।  तर उनीहरुलाई त्यतिबेला उनीहरुको मन्त्रालय तोकिएन ।

प्रचण्डले माघ ३ गते फेरि मन्त्रीपरिषद् विस्तार गरे । त्यतिबेला उपप्रधान एवं उर्जामन्त्रीमा राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनसहित अन्य मन्त्रीहरुले शपथ लिएका थिए । यस्तै अघिल्लो मन्त्रिपरिषद्मा जिम्मेवारी नपाएका मन्त्रीहरुलाई जिम्मेवारी दिएर २३ सदस्यीय मन्त्रीमण्डल बनाइयो । त्यही मन्त्रीमण्डलका स्वतन्त्र पार्टी, माओवादीका मन्त्रीहरु थपिएका थिए ।

जसअनुसार प्रधानमन्त्री प्रचण्डसँग वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय बाँकी थियो ।

त्यसपछि तेस्रो पटक माघ १४ गते मन्त्रिपरिषद् विस्तार भयो । नागरिकता काण्डमा मुछिएपछि उपप्रधान तथा गृहमन्त्रीबाट रवि लामिछाने हटेपछि माघ १४ गते गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई तोकिएको थियो ।

यसैगरी माघ २२ गते राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जना मन्त्री र एक जना राज्य मन्त्रीले राजीनामा दिए ।  माघ २३ गते ती मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई नै तोकेर चौथो पटक मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर भयो ।

त्यसपछि २०७९ फागुन १३ गते राप्रपाका उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देन; सहरी विकास मन्त्री विक्रम पाण्डे र कानून न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान र एक जना राज्यमन्त्रीले राजीनामा दिए । रिक्त भएको मन्त्रालयको जिम्मेवारी फागुन १४ गते प्रधानमन्त्री प्रचण्डलाई तोकेर पाँचौ पटक मन्त्रिपरिषद् विस्तार गरिएको थियो ।

यस्तै फागुन १५ गते एमालेका विष्णुप्रसाद पौडेल, ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई, डा. विमला राई पौड्याल, पदम गिरी, भगवती चौधरी र हरिप्रसाद उप्रेतीले प्रचण्ड नेतृत्वको सरकारबाट राजीनामा दिएका थिए ।

खाली भएका ती मन्त्रालयको जिम्मेवारी पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई तोकेर छैठो मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर गरिन् ।

पूर्णता पाउन लागको मन्त्रिपरिषद् एकाएक खुम्चिन पुग्यो । कारण थियो–राष्ट्रपतिको निर्वाचन । राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवारलाई सघाउन माओवादी केन्द्र तयार भएन र उसले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय लियो । माओवादीको निर्णयबाट चिढिएको एमालेले सरकारबाट बाहिरिने निर्णय लियो भने राप्रपा पनि त्यसैगरी बाहिरियो ।

यसैबीच त्यसको एक महिनापछि अर्थात चैत १७ मा सातौँ पटक मन्त्रिपरिषद् विस्तार भयो । त्यतिबेला प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसको इन्ट्री भयो । यस्तै जसपा, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जनमुक्ति पार्टीबाट पनि मन्त्रीहरु सहभागी भए । यस्तै नारायणकाजी श्रेष्ठको गृह मन्त्रालयमा सरुवा भयो ।

त्यही दिन जनमत पार्टीबाट खानेपानी मन्त्री भएका अब्दुल खानले भने मन्त्री पदबाट राजीनामा दिए । जनमतले रोजेको मन्त्रालय नपाएपछि राजीनामा दिएको थियो । तर, सो पार्टीले सरकारलाई दिएको समर्थन हालसम्म कायमै राखेको छ ।

यसैबीच २०८० वैशाख ३ गते आठौँ पटक मन्त्रिपरिषद् विस्तार भयो । त्यो दिन काँग्रेसबाट एनपी साउदले परराष्ट्र मन्त्री र नन्दा चपाईले राज्यमन्त्रीको शपथ लिएका थिए । प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको तयारी गर्नु थियो । त्यही भएर हतार हतारमा परराष्ट्र मन्त्री नियुक्त गरेका थिए । थप मन्त्री पठाउनका लागि काँग्रेसमा छलफल जारी नै थियो ।

वैशाख २० गते फेरि नवौं पटक मन्त्रिपरिषद् विस्तार भयो । त्यतिबेला कांग्रेसबाट धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भए । उनीहरुले वैशाख २१ गते शपथ लिए ।

यसैगरी वैशाख २४ गते फेरि १० औँ पटक मन्त्रिपरिषद् विस्तार भयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका महेन्द्र राय यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी तोकियो ।  महिला मन्त्रालयमा काँग्रेसका सुरेन्द्रराज आचार्यलाई नियुक्त गरियो ।

आज ११ औं पटक मन्त्रिपरिषद् विस्तार भएको छ । जसअनुसार जसपाबाट वन तथा वातावरण मन्त्रीमा डा.विरेन्द्र महतो र शिक्षा राज्यमन्त्रीमा प्रमिला यादव नियुक्त भएका छन् । अर्थात ११ औं पटकमा माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ । 

पाँच महिनाको बीचमा सुरुमा प्रचण्डलाई समर्थन गर्ने एमाले, राप्रपा र रास्वपा अहिले प्रतिपक्षीको भूमिकामा छन् । रास्वपाले वैशाख २३ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

तर,  नयाँ समीकरण बनेपछि प्रचण्डलाई कांग्रेस, राष्ट्रिय जनमोर्चा र लोसपा समेतले समर्थन गरेको छ । सत्तामा नरहेको जनमत पार्टीको सरकारलाई समर्थन कायमै रहेपनि असन्तुष्ट रहेकाले सो पार्टीले अब के गर्छ भन्ने चासो उत्तिकै छ ।

मंगलबारमात्रै मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदा जनमतको मन्त्रालय खोसिएको छ । केन्द्रमा सत्तामा नरहेको तथा मधेसमा पनि मन्त्रालयविहीन बनाइँदा चिढिएको जनमतमा सरकारबाट बाहिरिनुपर्ने आवाज उठ्न थालेको छ । योसहित समग्र विषयमा चैत १२ मा बस्ने केन्द्रीय समिति बैठकले ठोस निर्णय लिएर अघि बढ्ने जनमतका एक नेताले बताए ।  

यस्तो छ प्रचण्ड मन्त्रिपरिषद्को पूर्ण टीमः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप