आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

केशव दुलालको बयान : नक्कली भुटानी शरणार्थी प्रकरणमा म आफैँ पीडित हुँ

‘अमेरिका पठाइदिन्छु भन्दै म र मेरा आफन्तलाई सन्देश शर्माले १ करोड ठगे’
मङ्गलबार, ०९ जेठ २०८०, १८ : ०६
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार भनिएका केशवप्रसाद दुलालले आफू ठगी गर्ने व्यक्ति नभएर पीडित भएको बयान दिएका छन् । बयानमा दुलालले आफूले कसैलाई नठगेको तथा सन्देश शर्माले आफूलाई आफ्नो आफन्त र साथीभाइलाई अमेरिका पठाइदिन्छु भन्दै १ करोड रुपैयाँ ठगेको दाबी गरेका हुन् ।

सन्देश शर्मा र गजेन्द्र बुढाथोकीबीच आरजु देउवालाई २ करोड बुझाएको, छ करोड रुपैयाँ बुझाएको र सो रकम मञ्जु खाणले लिएको भनेर भएको कुराकानीको बारेमा पनि आफूलाई कुनै जानकारी नभएको पनि सरकारी अधिकारीहरूसँगको बयानमा जिकिर गरेका छन् । उनले गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीलाई नचिनेको र उनीहरूलाई अमेरिका पठाइदिन्छु भनेर कुराकानीसमेत नगरेको दाबी गरेका छन् । यस विषयमा कुनै उच्च अधिकारी र प्रधानमन्त्रीसँग पनि कुरा नगरेको तथा कसैलाई कुनै अफर पनि नगरेको पनि उनले बयानमा बताएका छन् ।

केशव प्रसाद दलालले गरेको बयान  :-

गजेन्द्र बुढाथोकी र राम कुमार रेग्मीलाई मैले चिनेको छैन, निजहरूलाई अमेरिका पठाई दिने भनी कुराकानी समेत गरेको छैन, मैले कुनै उच्च अधिकारी र प्रधान मन्त्रीसँग कुरा गरेको छैन, मैले अमेरिका जान पाइन्छ भनी निजहरूलाई कुनै अफर(प्रस्ताव) गरी विश्वास दिलाएको समेत छैन, प्रतिवादी सन्देश शर्माको WhatsApp वाट पठाएको भनिएको श्रम मन्त्रालय, गृह मन्त्रालय र नेपाल सरकारका विभिन्न निकायहरूबाट भुटानी शरणार्थीहरूको सम्बन्धमा भएको निर्णय र सो सँग सम्बन्धी समाचारको फोटो, कागज पत्रहरूको के-कुन प्रयोजनको लागी पठाएका हुन मलाई जानकारी भएन । निजहरूले जाहेरी दरखास्तमा उल्लेख गरे अनुसार मैले कोही कसैलाई ठगी गरेको छैन। जाहेरी दरखास्तमा जाहेरवाला ६१ जना व्यक्तिहरूसँग मेरो चिनजान र सम्पर्क छैन, चिनजान नै नभएका व्यक्तिहरूलाई मैले काठमाडौँको सुन्धारा भेट गर्ने भन्ने विषय हुनै सक्तैन, निजहरूले म माथि लगाएको आरोप निराधार र झुट्टा हो।

 भुटानी शरणार्थीको फारम भर्न लगाई बायोमेट्रिक गरी, फोटो खिची, ट्राभल डकुमेन्ट बनाउनु पर्छ भनेको छैन र सो कार्यको लागी रकम दिन भनी दस लाखदेखी बीस लाखसम्म रकम माग गरेको भन्ने सम्बन्धमा मलाई जानकारी भएन । मैले जाहेरीमा दाबी लिएको कुनै रकम लिएको छैन ।मैले आशिष बुढाथोकी र मोहन राई भन्ने व्यक्तिहरूको खातामा रकम जम्मा गर्न लगाएको छैन । 

गजेन्द्र बुढाथोकी र शन्देश शर्माबीच अडियोमा के कुराकानी भएको हो मलाई केही थाहा छैन। सन्देश गर्मीले आरजु देउवालाई दुई करोड बुझाएको हो, छ करोड रुपैयाँ त्यो बाल कृष्ण खाणलाई बुझाएको हो, उक्त रकम मञ्जु दिदीले लिनु भएको, हनुमान थान भित्र घर छ, त्यही बुझाएको हो भनी बोलेका कुरा सम्बन्धमा मलाई थाहा भएन ।

सन्देश शर्माले भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन्छु भनी रु.१,००,००,०००।- (एक करोड) रकम लिएको हुँदा म लगायत मेरा आफन्त र साथीभाइ समेत पीडित भएका छौँ, सन्देश शर्मासँग मिली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन्छु भनी कसैलाई ठगी गरेको छैन र यो कार्यमा मेरो कुनै संलग्नता छैन । 

मेरो श्रीमती दिपा हुमागाईको नाममा जम्मा भएको रकम रु.२०,००,०००।- (बिस लाख) मैले व्यक्तिगत ऋण लिएको हुँ, उक्त ऋण मैले निजको बैंक खातामा फिर्ता गरी सकेको छु, बैंक भौचर उपलब्ध गराउने छु, बैंक भौचर उपलब्ध नभए निजले दाबी गरेको मितिबाट हाल सम्मको बैक स्टेटमेन्ट झिकाई पछि पेस गर्ने छु ।

जाहेरवाला रोशन खेरल मेरो गाउँको छिमेकी भाइ हुन, तत्कालका समयमा मलाई ऋण तिर्नका लागी रकम आवश्यक भएको हुँदा मैले निज सँग ऋण लिएको हुँ, सो ऋण मैले निजको बैंक खाता मार्फत फिर्ता गरी सकेको छु, निजले फिर्ता गरी सकेको रकम किन दाबी गरेका हुन, मलाई थाहा भएन। 

सन्देश शर्माले म समेत मेरा आफन्त र साथीभाइहरुलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी रु.१,००,००,०००।- (एक करोड) लिएका बखत उल्लेखित व्यक्तिहरूको नाम लिई म अमेरिका पठाई दिन्छु भनेका थिए, म सन्देश शर्माबाट ठगिए पछि पटक-पटक रकम फिर्ता माग्दा ४ वर्ष बितिसक्यो मलाई म आफू पीडित भई आर्थिक व्यवहारले मार्का परेको हुँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप