डोजरले भत्काउन बन्द गरौँ, संरचनाहरुको स्तरोन्नतिमा ध्यान दिऊँ : मन्त्री श्रेष्ठ
मकवानपुर । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले डोजरे विकासका कारण प्राकृतिक विपद् भोग्नु परेको बताएका छन् ।
मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले हरेक वर्ष प्राकृतिक विपद् आउनुको कारण डोजरे संस्कृति भएको बताएका हुन् । उनले जथाभाबी डोजर चलाउने गरेका कारण हरेक वर्ष नेपालमा विपद्को सामना गर्नु परेको बताए । जथाभाबी डोजर चल्न थालेको दुई दशकभन्दा बढी भएको उल्लेख गर्दै उनले पर्यावरणमैत्री विकास गर्न नसकेमा विकासले नै विनाश निम्त्याउने उल्लेख गरे ।
मन्त्री श्रेष्ठले डोजरे विकासबाट बागमती प्रदेश पनि अछुतो नरहेको भन्दै अब भत्काउने क्रम बन्द गरेर भत्काइएका संरचनाहरुलाई नै स्तरोन्नति गर्ने अभियानमा लाग्नुपर्ने बताए । बागमती प्रदेश सरकार नीति, योजना र बजेट निर्माणको क्रममा रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले यस विषयलाई सरकारले गम्भीर रूपमा लिएर अघि बढ्ने स्पष्ट पारे ।