आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

बालुवाटारसम्मै कसरी पुग्यो करोडौँ रकम ?

बुधबार, १० जेठ २०८०, १३ : ३७
बुधबार, १० जेठ २०८०

काठमाडौँ । शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको आरोपमा २०७९ चैत १२ मा पक्राउ परेका केशव प्रसाद दुलाल प्रहरीको हिरासतमा छन् । मोरङ घर भएका दुलाल शरणार्थी प्रकरणको मुख्य योजनाकार मध्येका हुन् ।  

दुलालले अनुसन्धान अधिकृतहरूसँग तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई पनि रकम दिएको बयान गरेका छन् । बज्राचार्यलाई शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने प्रयोजनका लागी १ करोड रुपैयाँ दिएको जिकिर गरेका हुन् ।

बयानमा दुलालले भनेका छन्–‘तत्कालीन प्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ऊर्जा मन्त्री टोप बहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसी. मार्फत मलाई बोलाई मिति २०७६ साल असोजमा १ करोड नगदै बुझी लिएका हुन् ।’

केशव दुलालको थप बयान

तत्कालीन गृह सचिव प्रेम कुमार राईले डा. इन्द्रजीत राई मार्फत गृह मन्त्रालयको सचिवको कार्य कक्षमा बोलाई मिति २०७६ सालमा ३ करोड नगदै बुझी लिएको, तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ऊर्जा मन्त्री टोप बहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसी. मार्फत मलाई बोलाई मिति २०७६ साल असोजमा १ करोड नगदै बुझी लिएको । तत्कालीन ऊर्जा मन्त्री टोप बहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसी.ले प्रधानमन्त्रीकोमा पैसा पुगी सक्यो, सामाजिक समितिबाट भुटानी शरणार्थीको निर्णय गर्नुपर्ने रहेछ, ऊर्जा मन्त्री ज्यू र मलाई पनि रकम चाहियो भनी ऊर्जा मन्त्रीको क्वार्टर पुलचोकमा बोलाई सामाजिक समितिबाट निर्णय भएको अघिल्लो दिन बेलुक १ करोड नगदै बुझी लिएका हुन् ।

त्यसैगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व सल्लाहकार डा. अजय क्रान्ति शाक्य (तत्कालीन इजरायलका नेपाली राजदूत अञ्जान शाक्यका श्रीमान्) र तत्कालीन काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितले सामाजिक समितिबाट भुटानी शरणार्थीको विषयमा निर्णय गर्न माथि रकमको अपुग भयो भनी तत्कालीन गृहमन्त्री राम बहादुर थापा ‘बादल’ बस्ने पुल्चोकमा रहेको मन्त्री क्वाटरमा गृहमन्त्री बादल र ऊर्जा मन्त्री टोपबहादुर रायमाझीसँग मिटिङ गराई सकेपछि तपाईंहरुको काम हुने भयो भनी डा. अजय क्रान्ति शाक्य र राजेश्वर स्थापितले १ करोड बुझी लिएका हुन् ।

काम नभएपछि पटक पटक रकम फिर्ता माग्दा धाक धम्की दिई ‘हामी पावरमा छौँ, तिमीहरुको केही लाग्दैन हामीलाई फोन सम्पर्क गर्ने, भेट्ने काम नगर्नु’ भनेर प्रतीक थापा मार्फत खबर पठाउने गरेको । तपाईंहरुले दिएको सम्पूर्ण रकमको ४० प्रतिशत हामी राख्छौँ ६० प्रतिशत लानु भनेर प्रतीक थापा मार्फत नाङ्लो रेस्टुरेन्ट पुलचोकमा तत्कालीन गृहमन्त्री बाट हटेको ६ दिनपछि मसँग भेट गरी प्रस्ताव गर्दा मैले साथीहरूसँग ऋण खोजेर दिएको रकम हो, सम्पूर्ण रकम चाहियो भनेको थिएँ । त्यसबेला प्रतीक थापाले माथि उल्लेखित मानिसहरूसँग कुरा गरी खबर गर्छु भनी हाल सम्म रकम फिर्ता नदिई पीडित बनाई ठगी गरेको र हाल भुट्टा मुद्दा लगाई थुनामा राखेको हुँदा सम्पूर्ण रकम फिर्ता गरी झुट्टा मुद्दाबाट सफाइ पाउँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप