आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमती प्रदेशसभामा बहस : नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनप्रति एमाले सशंकित

बुधबार, १० जेठ २०८०, १६ : १८
बुधबार, १० जेठ २०८०

हेटौंडा । बागमती प्रदेशसभाको बैठकमा सत्तारुढ दलका सांसदहरुले वर्तमान व्यवस्थालाई संस्थागत गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 

बुधबार बसेको प्रदेशसभा बैठकको विशेष समयमा धारणा राख्दै सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरुले संघीयता जोगाउन जोड दिए ।

उता, एमालेका सांसदहरुले भने भ्रष्टाचार मुद्दामा पक्षपात नगरी अनुसन्धान अघि बढाउन माग गरे ।

बुधबार प्रदेशसभाको बैठकमा ३१ जना सांसदहरुले आफ्नो धारणा व्यक्त गरेका थिए । 

कांग्रेस सांसद सुना परियारले प्रदेशसभाको औचित्यमाथिनै प्रश्न उठिरहेकाले सरकारले त्यसतर्फ गम्भीर भएर कार्यक्रम सञ्चालन गर्नुपर्ने अनि त्यहीअनुसार नीति तथा कार्यक्रम र बजेटमार्फत् सम्बोधन गर्नुपर्ने बताइन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका मातृका भट्टराईले संघीयतालाई मास्ने गरी गरिएका विभिन्न अभिव्यक्तिहरुलाई सरकारले काम गरेर गलत सावित गर्नुपर्ने बताए । उनले गाउँगाउँमा संघीयताको प्रभाव पुगेको जिकिर गरे ।

नेकपा एकीकृत समाजवादीका सांसद वसन्त प्रसाद मानन्धरले संघीयता कार्यान्वयनको ६ वर्षको अवधिमा भौतिक, सामाजिक र सेवा प्रवाहको पहुँच वडा तहसम्म पु¥याउन सफल भएकाले प्रदेश संरचनाको अपरिहार्यतालाई पुष्टि गरेको बताए । 

त्यसैगरी, कांग्रेस सांसद रामकुमार पहाडीले भने जनताका माझमा संघीयता र राजनीतिक दलहरुप्रति वितृष्णा पैदा भएको बताए । जनतामा देखिएको वितृष्णालाई सम्बोधन गर्ने गरी सरकारको बजेट र योजनामा समेट्नुपर्ने उनको भनाई थियो । 

कांग्रेसका अर्का सांसद मदुकुमार श्रेष्ठले जनताको आवश्यकता पुरा गर्न पुँजीगत खर्च बढाउने र चालु खर्चलाई घटाउन सरकारले योजना ल्याउनु पर्ने धारणा राखे ।

त्यस्तै, बैठकमा एमालेका सांसदहरुले हाल नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन प्रक्रियामा सरकारको गतिविधि शंकास्पद रहेको विचार राखे । 

एमाले सांसद कृष्णप्रसाद सिलवालले सरकारमा बसेका पूर्व मन्त्री र सांसदहरु अनुसन्धानको दायरमा रहेको र सरकारले खुट्टा नकमाई अनुसन्धानलाई अघि बढाउनु पर्ने धारणा राखे । सबै मान्छेलाई एउटै ड्याङमा राखेर संघीयतामाथि नै आँच आउने गरी फसाउन पाइन्न भन्दै उनले सरकारलाई खबरदारी गरे । 

अर्का एमाले सांसद केशवप्रसाद पोखरेलले भुटानी शरणार्थी प्रकरणमा दोषी जो सुकै भएपनि कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । ‘कोही दाजु वा कोही भाउजूहरू पर्न सक्लान् । तर, कसैलाई जोगाउने प्रपञ्चमा प्रतिपक्षलाई ताकी ताकी नाम जोड्ने र डाम्ने मात्र काम हो भने एमाले यो मञ्चबाट खबरदारी गर्न चाहन्छ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप