आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

रविको नागरिकताबारे सांसद चौरसियाले कुरा उठाएपछि बैठकमा हंगामा

रविले भने, ‘मैले नागरिकता त्यागेको निस्सा तपाईँलाई बुझाउनुपर्ने हो ?’
बुधबार, १० जेठ २०८०, २३ : २०
बुधबार, १० जेठ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अजयकुमार चौरसियाले प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेको नागरिकताको विषय उठाएपछि हंगामा भएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन रोष्टम पुगेका सांसद चौरसियाले सांसद लामिछानेको नागरिकताको विषय उठाएपछि विवाद सिर्जना भएको हो ।

सांसद चौरसियाले लोकतान्त्रिक पार्टीलाई र सरकारलाई ब्यङ्ग्यवाण गर्ने काम भएको भन्दै चिन्ता लागेको बताउँदै समानुपातिक सांसद बनाउन पैसा लिएको र विदेशको नागरिकता लिएको र नेपाली नागरिकता लिँदा त्यसको निस्सा त्याग नगरेको कुरा आफूले सुनेको बताउँदै सरकारले के गर्छ भन्दै प्रश्न उठाएका थिए । 

सांसद चौरसियाको सो भनाईपछि रास्वपाका सबै सांसद आसनबाट उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले १ मिनेटमा कुरा राख्न समय दिएपछि सांसद लामिछानेले प्रतिवाद गरे ।

सांसद लामिछानेले भने, ‘सम्मानित अदालतमा भएको विषयलाई रोष्टममा बसेर उठाएर माननीयज्यूले के कुरा गर्न खोज्नुभएको हो ? यो सम्मानित अदालतको अपमान हो कि उहाँले सुनेका भरमा कुराकानी गर्न खोज्नुभएको हो कि ? कि मेरो निस्सा मैले तपाईलाई बुझाउनुपर्ने हो ? तपाईको जानकारीका लागि माननीय सदस्यज्यू सम्मानित अदालतमा नमागे पनि मैले अस्ति गएर त्यसलाई दर्ता गराएको छु । नेपाल सरकारसँग र सम्मानित अदालतलाई आवश्यक पर्ने सम्पूर्ण डकुमेन्ट मैले बुझाइसकेको छु ।’ 

अदालतमा रहेको विषय संसदमा उठाउन पाईंदैन भन्दै उनले सभामुखको ध्यानाकर्षण गराए ।

सांसद लामिछानेले भने, ‘हल्लाको भरमा न्यूजको हेडलाइन लेखेको भरमा तपाईंले संसदमा कुरा नउठाउनुहोला र यो भनाई संसदको रेकर्डबाट हटाइयोस् सभामुख महोदय । यो हल्लाको भरमा बोल्ने ठाउँ हैन, प्रमाण छ भने प्रस्तुत गर्नुहोला । तपाईंहरु जस्तो मान्छे लुकाएर बचाएर राख्दैनौँ, प्रमाणित गर्नुहोला । यो संसदको ५ किलोमिटर वरपर हामी देखिँदैनौँ, आफ्नो अनुहार लुकाएर हिँड्छौँ हामी आफैँ । तर हल्लाको भरमा कुनै एउटा मिडियाले लेखेको भरमा अनि त्यसलाई शेयर गरेको भरमा यो संसदमा आएर बोल्न पाइँदैन ।’ 

सांसद लामिछानेको भनाईपछि सभामुखले ध्यानाकर्षण भएको भन्दै सांसद चौरसियालाई फेरि बोल्न समय दिए ।

सांसद चौरसियाले आफ्नै सहकर्मीले सुसाइट नोटमा नाम लेखेर आत्महत्या गर्दापनि केही नहुने, दुई दुईवटा नागरिकता बोक्दा पनि केही नहुने र पुरानै नम्बर राखेर नागरिकता दिन मिल्छ भन्दै प्रश्न गरे ।  सांसद चौरसियाले फेरि त्यही कुरा दोहोर्याएपछि फेरि रास्वपाका सांसदहरुले उठेर उनको भनाईको प्रतिवाद गरे । उनीहरुले सभामुखलाई माइक अन गरिदिन आग्रह गर्दै होहल्ला गरे ।

सभामुखले ध्यानाकर्षण भएको भन्दै बस्न पटक–पटक आग्रह गरेपनि उनीहरुले बोल्नका लागि समय मागे । 

सभामुखले अदालतमा विचाराधिन रहेको कुरा सदनमा नउठाउन रुलिङ गरेपछि मात्र रास्वपाका सांसदहरु बसेका थिए । त्यसपछि बोल्न थालेका चौरसिया नीति तथा कार्यक्रमको विषयमा केन्द्रीत भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप