आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एक हप्ताभित्र वीरको सेवामा सुधार गर्न स्वास्थ्यमन्त्रीकाे निर्देशन

शुक्रबार, १२ जेठ २०८०, १६ : ३०
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुक्रवार वीर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनको महासभामा भाग लिएर शुक्रवार बिहान काठमाडौँ आइपुगेका मन्त्री बस्नेतले एक हप्ताभित्र बिरामीहरूले महसुस हुने गरी र सुधार भएको देखिने गरी वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन् । 

वीर अस्पतालको सेवा सुविधा नसुध्रेसम्म देशका अन्य स्वास्थ्य संस्थाको सेवा सुधार गर्न नसकिने बताउँदै मन्त्री बस्नेतले सबैभन्दा पहिले वीरको सेवा सुविधा सुधार हुनुपर्नेमा जोड दिए । मन्त्री बस्नेतले भने, ‘वीर अस्पताल देशको लिडर अस्पताल हो । वीरको सेवामा तत्काल सुधार हुनै पर्छ । ’  वीरको सेवा सुधार्न हरेक चिकित्सकले इमानदार प्रयास गर्नुपर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको मन्त्री बस्नेतको भनाई छ । 

मन्त्री बस्नेतलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का निमित्त उपकुलपति प्राडा भूपेन्द्र बस्नेत र वीर अस्पतालका निर्देशक डा।सन्तोष पौडेलले वीर अस्पतालले प्रदान गरिरहेका सेवा र सुविधाका बिषयमा मन्त्री बस्नेतलाई जानकारी गराएका थिए । मन्त्री बस्नेतले वीर अस्पतालको टिकट काउन्टर, फार्मेसी, हेमोडाइलासिस, आइसियु, आकस्मिक कक्ष, जनरल वार्ड, ग्यास्ट्रो, उपकुलपति कार्यालय लगायत वीर अस्पतालका महत्त्वपूर्ण विभागहरूको निरीक्षण गरेका थिए । 

मन्त्री बस्नेतले टिकट काउण्डरको भिड कम गर्न र सेवा सहज बनाउन अनलाइन मार्फत टिकट काट्ने व्यवस्था मिलाएर त्यसको जानकारी सर्वसाधारणलाई हुने गरी व्यवस्था गर्न निर्देशन दिएका छन् । त्यसैगर अस्पतालमा रहेका बेड र आइसियु बेड खाली भए नभएको जानकारी वेबसाइटमा राख्न समेत मन्त्रीले निर्देशन दिएका छन् । 

वीर अस्पतालमा सञ्चालनको तयारीमा रहेको ९ बेड आइसियु एक हप्ताभित्रै सञ्चालनमा ल्याएर आइसियु बेड नपाएर भौँतारिनु पर्ने अवस्थाको अन्त्य गर्न मन्त्री बस्नेतले निर्देशन दिए ।  उनले भने, ‘नर्सिङ जनशक्ति केही दिनमा लोकसेवा पास गरेर आउँदैछ भनेर पर्खेर बस्ने अवस्था छैन । अस्पतालकै जनशक्ति तानतुन गरेर भए पनि चाडो आइसियु सञ्चालन गर्नुपर्‍यो । ’

देशभरि मिर्गौला फेल हुने बिरामीहरूको सङ्ख्या बढ्दै गइरहेकोले डाइलासिस गराउन आवश्यक पर्ने बेड सङ्ख्या थप्न, अस्पतालको सरसफाइमा ध्यान दिन र आकस्मिक कक्षमा बेडको सङ्ख्या थप्न पनि मन्त्रीले निर्देशन दिए । वीर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी ड्युटी समयमै निजी क्षेत्रका अस्पताल र क्लिनिकहरूमा जाने गरेको पाइएकाले ड्युटी समयमा अस्पताल छोडेर निजीमा जाने चिकित्सकलाई कारबाही गर्न वीरको नेतृत्वलाई निर्देशन दिए । 

मन्त्री बस्नेतले भने, ‘सुरुमा हामी चिकित्सकहरूलाई ड्युटी समयमा निजी अस्पताल क्लिनिकमा नगइदिन अनुरोध गर्दछौँ । तर हाम्रो अनुरोधलाई कमजोरी ठाने कारबाही गरिने छ । ’  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का निमित्त उपकुलपति प्रा. डा.भूपेन्द्र बस्नेतले स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन अनुसार वीर अस्पतालको सेवामा देखिने गरी परिवर्तन गरिने बताए ।   निरीक्षण टोलीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेल, देवकुमारी गुरागाईँ, अतिरिक्त सचिव डा. संगीता मिश्र र मन्त्रालयका अधिकारी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप