आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अन्तरराष्ट्रियस्तरमा आरएमबीको प्रयोग बढाउने प्रयासमा चीन

शुक्रबार, १२ जेठ २०८०, २० : ५६
शुक्रबार, १२ जेठ २०८०

ब्रसेल्स । चीनले आफ्नो राष्ट्रिय मुद्रा रेन्मिन्बी अर्थात् आरएमबीको प्रयोग अन्तरराष्ट्रियस्तरमा बढाउन प्रयास गरिरहेको छ । यद्यपि अमेरिकी डलरलाई टक्कर दिने गरी चीनले अघि बढाएको आफ्नो मुद्राको अन्तर्राष्ट्रिय कारोबार तत्काल साकार हुने देखिँदैन । 

अन्तर्राष्ट्रिय मुद्रा बनेको अमेरिकी डलर र बेलायत बाहेकका युरोपेली मुलुकका केही देशमा चिनियाँ युआन मुद्रा बने पनि त्यसलाई सहजै स्वीकार गर्ने वातावरण बनेको छैन । तर चीनले यसलाई अन्तरराष्ट्रियकरण गर्न वित्तीय प्रणालीमा निरन्तर दबाब दिइरहेको छ । 

संयुक्त राज्य अमेरिकाले भूराजनीतिक उपकरणका रूपमा आफ्नो मुद्राबाट लाभ उठाउन हदैसम्मको प्रयास गरिरहँदा चीनले आफ्नो प्रभावशाली अन्तर्राष्ट्रिय भूमिका प्राप्तिका निम्ति निरन्तर सङ्घर्ष गर्नु असामान्य होइन । 

दोस्रो विश्वयुद्धपछि विकसित भएको विश्वव्यापी वित्तीय संरचनामा अमेरिकाको अनौठो भूमिकाले चीनको आरएमबी अन्तरराष्ट्रियकरणको प्रयासमा गएको हो । सन् १९४५ देखि अमेरिकी डलरले सङ्घीय रिजर्भ प्रणाली अर्थात् अमेरिकाको केन्द्रीय बैंकिङ प्रणालीमा यसको विश्वव्यापी उपलब्धतालाई नियन्त्रण गर्दै विश्व मुद्राको रूपमा काम गर्दै आएको छ । 

वित्तीय सङ्कटको समयमा विश्वव्यापी आर्थिक पुनरुत्थान गर्न पनि डलरको महत्त्वपूर्ण स्थान रहेको छ । विश्व मुद्रा बजारमा डलरका कारण अमेरिका विशेषाधिकार प्राप्त देश बनेको छ । साथै अमेरिकाको तथाकथित यो विशेषाधिकारको आलोचना पनि हुने गरेको छ । 

सन् १९७० को दशकको उत्तरार्धमा देङ स्याओपिङले सुधार युगको सुरुवात गरेपछि चीनको आर्थिक वृद्धिले चिनियाँ राष्ट्रिय मुद्राको अन्तर्राष्ट्रिय प्रयोगलाई प्रवर्द्धन गर्ने अभियान थालेको हो ।  

आरएमबीको अन्तरराष्ट्रियकरण एक दशकभन्दा लामो समयदेखि चिनियाँ मौद्रिक नीतिको मुख्य उद्देश्य बनेको छ । यसले विश्वव्यापी वित्तीय कारोबारहरूमा आरएमबीको प्रयोगलाई प्रवर्द्धन गर्न खोजेको छ । यसको मुख्य उद्देश्य अमेरिकामा आधारित अधिकांश  वित्तीय संस्थाहरूमा  आफ्नो निर्भरता घटाउनु हो । 

बेइजिङले गैरपश्चिमा साझेदारहरूसँग उच्चमूल्यका कारोबारमा आरएमबीको प्रयोगलाई अधिक महत्त्व दिएको छ । पछिल्लो समयमा रुस र खाडी मुलुकबाट आरएमबीमा ऊर्जा आयात गरेको छ । आफ्नो मुद्राको अन्तरराष्ट्रियकरण हुँदा बहुध्रुवीय विश्वमा चीन पनि अमेरिकाभन्दा कम छैन भन्ने सन्देश प्रवाह हुने चीनको ठम्म्याइ छ । चीनको विश्वव्यापी राजनीतिक एवम् आर्थिक भूमिका अमेरिकाकै हाराहारीमा पुगेको ठानिए पनि  तत्काल उसको राष्ट्रिय मुद्रा विश्वभर क्रयविक्रयको उपकरण हुने कुनै आधार देखिँदैन । 

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा आरएमबीलाई स्थापित गर्न चीनलाई वर्षौं लाग्ने यथार्थ निर्विवाद छ । अमेरिकी डलरको प्रभुत्वलाई चुनौती दिन युरो जोनमा लागू भएको एकल मुद्रा युरो अन्तर्राष्ट्रिय व्यापार साझेदारहरूमाझ अझै लोकप्रिय बन्न सकेको छैन । डलरले प्रमुख विश्वव्यापी मुद्राको रूपमा आफ्नो भूमिकालाई कायमै राखेको छ ।- (रासस /एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप