आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
काठमाडौँ महानगरमा बालेन शाहको ‘बुक फ्रि डे’ प्रभावकारी बन्दै (फोटो/भिडियो)
बुक फ्रि डे

काठमाडौँ महानगरमा बालेन शाहको ‘बुक फ्रि डे’ प्रभावकारी बन्दै (फोटो/भिडियो)

शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । कक्षा ३ का विद्यार्थी ऋतिक यादव अगाडि अगाडि उभिएको डेक्समा तीन थरी खानेकुरा राखिएका छन् । जसमा शक्ति दिने, शरीर रक्षा गर्ने खाना छुट्टा छुट्टै राखिएका थिए । विद्यार्थीहरूलाई शिक्षिकाले त्यस बारेमा भन्न लगाइन् । 

किताब नै नबोकेर स्कुल पुगेका ऋतिकसँगै अन्य बालबालिका निकै उत्साहित देखिन्थे । प्रदर्शनीमार्गमा रहेको पद्मोदय माविमा शुक्रबार देखिएको उक्त दृश्य निकै रमाइलो थियो । ऋतिकले अगाडि उभिएर सबै खानेकुराका नाम सरर्र भने । र अन्य विद्यार्थीलाई समेत जानकारी गराए । 

शुक्रबारको दिन कापी किताबबिना स्कुल गएका विद्यार्थीहरूले धेरै कुरा सिके । जुन किताबी भन्दा व्यवहारिक ज्ञान थियो । 

उता, कक्षा ८ विद्यार्थीहरूले कक्षाकोठामा विभिन्न खालका ड्रइङ गर्दैथिए । विद्यार्थीहरू रमाइला र निकै आकर्षक चित्र बनाइरहेका थिए । सोही कक्षाकी विद्यार्थी अन्जली चौधरीले किताबका ज्ञानसँग बाह्य ज्ञानका लागि शुक्रबार ‘बुक फ्रि फ्राइडे’ निकै राम्रो लागेको बताइन् । 

‘शुक्रबार पढाई हुन्थ्यो । अहिले चाहिँ हाम्ले के जान्यौ, के सिक्यो, के के ग¥यौं त्यो अहिले हामी आफैंले गर्नुपर्छ,’ स्कुल गएको जस्तो पनि नलाग्ने । किताब पढे जस्तो नलाग्ने । तर, धेरै कुरा सिकिँदो रहेछ । यो एकदमै राम्रो लाग्यो ।’ अन्जलीले भनिन् ।  

कक्ष ८ को बी सेक्सनमा विज्ञान विषयको क्लास थियो । कक्षा शिक्षक प्रकाश सिम्खडाले विद्यार्थीहरूलाई रसायन शास्त्रको विषय पडाइरहेका थिए । तर, विद्यार्थीको हातमा न किताब थियो, न शिक्षकको हातमा पढाउने नोट । 

शिक्षक सिम्खडाले १ देखि २० सम्मका तत्त्वहरूका नाम र तिनको गुणका विषयमा विद्यार्थीहरूलाई सिकाए । उनले गेमको सहाराले सेलुट र मेमोरीको माध्यमबाट तत्त्वका बारेमा अध्ययन गराए । र, विद्यार्थीहरू १ देखि २० सम्मका तत्त्वहरूका नाम भन्न सक्ने भए । 

गणितका शिक्षक प्रमोद कुमार झाको कक्षा ९ मा गणित विषयको क्लास थियो । उनले स्मार्ट बोर्डमै लेखेका थिए, ‘नो बुक डे’ । 

उनले विद्यार्थीहरूलाई मल्टिपिलेसन ट्रिक (गुणन गर्ने तरिका) सिकाए । अहिलेसम्म विद्यार्थीहरूले सिक्दै आएको र शिक्षकले पढाउँदै आएको तरिकाभन्दा निकै सहज तरिकाले उनले सिकाए । 

यसरी विद्यार्थीहरूले शुक्रबारको दिन किताबमा नियमित पढ्दै आएको कुरा निकै सरल तरिकाले प्रयोगमा ल्याउँदै आएका छन् । 

काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरूमा प्रत्येक शुक्रबार ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन हुँदै आएको छ । मेयर बालेन शाहको चुनावी घोषणापत्रमा हप्तामा एक दिन सामुदायिक विद्यालयमा सीप, उद्यमशीलता, खेलकुद, सङ्गीत, कला तथा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको व्यवस्था गरिने उल्लेख गरिएको थियो । 

सोही घोषणाअनुरूप महानगरको सबै सामुदायिक  विद्यालयमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन भइरहेको हो । 

पद्मोदय माविमा विद्यार्थीहरूले शुक्रबार जीवनोपयोगी शिक्षाअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएका छन् । पद्मोदयका प्रधानाध्यापक नारायण गौतमले भने, ‘प्रत्येक शुक्रबार भाइबहिनीहरूले किताब ल्याउनुहुन्न । सिर्जनात्मक सिकाइका साथै विद्यार्थीहरूलाई कक्षाकोठामा मात्र सीमित नराखी बाहिर पनि लागिरहेका छौं ।’ 

यसका अतिरिक्त कक्षा ९ मा शिक्षासँग सीप कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ । जसले गर्दा विद्यार्थीहरूलाई बुक फ्रि फ्राइडेलाई थप प्रभावकारी बनाउन सकिने उनको भनाई छ । 

‘कक्षा ९ को हकमा अझ ‘शिक्षासँग सीप’ कार्यक्रम छ । ९० जना विद्यार्थीले मोबाइल रिपेयरको बारेमा तालिम लिन्छन् । त्यस्तै इलेक्ट्रेसियनको बारेमा समेत तालिम दिइरहेका छौं । शुक्रबार मात्रै होइन, शनिवार पनि तालिम दिइन्छ ।’ उनले भने । 

उता, कालीमाटीस्थित नील बाराही माविमा पनि शुक्रबार कुनै पनि विद्यार्थीको हातमा किताब थिएन । उनीहरूले निकै उत्साहित भएर अतिरिक्त क्रियाकलाप गर्दै थिए । 

विद्यार्थीहरूको सक्रियतामा नील बाराही स्कुलले आज विज्ञान प्रदर्शनी राखेको थियो । त्यहाँ अन्य स्कुलका विद्यार्थीसमेत आएर अवलोकन गरेका थिए । विद्यार्थीहरूले आफूले बनाएको सामग्री प्रदर्शनसँगै त्यसको बारेमा ब्रिफ पनि गरेका थिए । 

नील बाराही माविका प्रधानाध्याकपक डा. जानुका नेपाल पौडेलले रुटिन बनाएर नै शुक्रबारका कार्यक्रम गर्दै आएको बताइन् ।

‘कुन शुक्रबार के गर्ने भनेर पहिला नै रुटिन तयार पारेका छौं । प्रत्येक शुक्रबार गर्ने कार्यक्रमको विषयमा प्रत्येक क्लासमा २÷२ पिरियड दिएर त्यसपछिको समयमा त्यसलाई व्यवहारमा लैजाने खालको कुराहरू गर्ने भनेर रुटिन तयार भएको छ ।’ उनले भनिन् । 

बुक फ्रि फ्राइडे प्रति विद्यार्थी र अभिभावकको दुई किसिमको धारणा देखिएको छ । यसबारे प्रधानाध्यापक पौडेलले भनिन्, ‘माथिल्लो तहका विद्यार्थीहरू एकदमै उत्साहित छन् । तर, तल्लो क्लासका विद्यार्थीका अभिभावकको मनमा भने पढाई नै नहुने भएपछि किन बच्चालाई पठाउनु भन्ने सोचमा हुनुहुन्छ । हामीले उहाँहरूलाई कन्भिन्स गर्दै आएका छौं ।’ 

उक्त बुक फ्रि फ्राइडे कार्यक्रमका लागि काठमाडौँ महानगरपालिकाले प्रत्येक विद्यालयलाई वार्षिक १ लाख रुपैयाँ दिने भएको छ । जुन पैसा शुक्रबार गरिने क्रियाकलापको लागि खर्च गर्नुपर्नेछ । 

उक्त कार्यक्रम केही दिनको तडकभडक हो वा दीर्घकालसम्म अगाडि बढ्न भन्नेमा धेरैको चासो छ । 

यसका लागि केही सुधार गरेर अगाडि बढ्नुपर्ने प्रधानाध्यापक पौडेलको भनाई छ । ‘अहिले गरिरहेको क्रियाकलापले गर्दा पाठ्यक्रमको समय पुरा गर्न सकिँदैन कि भन्ने हो,’ उनले भनिन्, बुक फ्रि फ्राइडेले गर्दा पाठ्यक्रमले तोकेको २२० दिन अनिवार्य स्कुल खोल्नुपर्ने,  १८० दिन अनिवार्य पढाउनुपर्ने भन्ने हुन्छ, त्यो पुग्दैन कि भन्ने हो ।’ 

मेयर शाह प्रत्येक शुक्रबार विभिन्न विद्यालयमा जाने गरेका छन् । सोही क्रममा ‘बुक फ्री फ्राइडे’ आज तेस्रो हप्तामा वडा नम्बर ५  स्थित टंगाल मावि र वडा २५ स्थित  कन्या माविमा अनुगमन गरेका थिए । 

अनुगमनको क्रममा टंगाल माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीले काष्ठकला  र मोबाइल मर्मतसम्बन्धी तालिम लिँदै आएको हेरे । उक्त कार्यक्रममा सहभागी नभएका विद्यार्थी भाइबहिनीहरूले अन्य अतिरिक्त क्रियाकलापमा हस्तकला बनाउने, कक्षा कोठा सजाउने कार्यक्रम गरेको शाहको भनाई छ । 

यस्तै कन्या माविका विद्यार्थीहरूले सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), कपडा निर्माणको तालिम लिइरहेका छन् । 

उक्त तालिममा सहभागी नभएका विद्यार्थीहरूले भने निर्वाचनको अभ्यास कार्यक्रम आयोजना गरेका थिए । विद्यार्थीहरूले आफै उम्मेदवार, निर्वाचन अधिकृत, पर्यवेक्षक, मतदाता बनेर निर्वाचनको अभ्यास कार्यक्रम सञ्चालन गरेका थिए । यस कार्यक्रमबाट हाम्रो निर्वाचन प्रणालीको बारेमा विद्यार्थीहरूलाई विद्यालयमा नै जानकारी होस् भन्ने उद्देश्य राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया