आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
लघुकथा

लघुकथा : तुइन

शनिबार, १३ जेठ २०८०, ०८ : ११
शनिबार, १३ जेठ २०८०

कार्यालय परिसर भरिभराउ छ । कसैलाई बाहिर निकाल्न सकिएको छैन वा खोजिएको पनि छैन । सबैको अनुहार मलिन छ । 

“अब त आउनुपर्ने हो ।” एउटाले प्रवेशद्वारतर्फ हेरेर भन्यो । 

“के गर्नु, उताको नियमअनुसार काम पूरा गरेर आउने हो । ढिलो हुन्छ ।” अर्कोले भन्यो । 

“के मा खराबी भयो, थाहा भएन है ?” अर्को एकजना बोलेको सुनियो । 

“पारी बजार गएर फर्केका थिए । के हुनु अँध्यारो थियो । पालो कुर्दा रातै परेछ त ।” अघिबाट पर्खालमा बसेर चुरोट तान्दै गरेको हर्क ठगुन्नाले भने । 

एक पटक सन्नाटा छायो । सरकारी कर्मचारी बाहिर निस्केर प्रवेशद्वारतर्फ लागे । प्रहरीले भीडलाई पन्छायो । एउटा मोटर भित्र पसेर रोकियो र मोटरबाट बाकस ओरालियो । 

प्रमुख जिल्ला अधिकारी कार्यालय भित्रबाट बाहिर निस्कनु भयो । “ल हकवाला आउनु त, यहाँ सही गर्न । ” 

प्रमुख जिल्ला अधिकारीसँगै आएको कर्मचारीले कागज देखाए । “ल जाऊ बाबु ।” 

एक जना आठ वर्षको बच्चालाई अगाडि लगाइयो । “अरू ठुलो मान्छे कोही छैन ?” प्रमुख जिल्ला अधिकारीले सोध्नु भयो । 

“छैन सर, उसको त हजुरबुबा, आमालगायत घरका  सबै यसरी नै सकिए । अहिले आएर बुबा पनि बित्यो ।” तीर्थ धामी बाजेले लट्ठी टेक्दै अगाडि आएर भने । 

“आमा कहिले बित्नु भएको थियो ?” प्रमुख जिल्ला अधिकारीले सोध्नु भयो । 

“यसले कोक्रो मच्चाउन सुरु गर्ने बेलामा हो । बुबाले टुहुरो छोरो हुर्काएको हो ।” धामी बाजेले भने । 

“त्यही ठाउँमा कि कता ?” उनलाई सोधियो । 

“हैन माथिल्लोमा हो । त्यही वर्ष पुल बनाउन मन्त्रीबाट शिलान्यास भएको ठाउँ नजिकै । बनाउन त  भ्याएका छैनन् अझै ।” धामी बाजेले भने । 

बाजेले अझ भन्दै गए, “लास वारि भेटियो भने त छिटो हुने इन्डियामा फेला परेको बेला बेस्सरी दुःख पाइने रहेछ ।” 

प्रमुख जिल्ला अधिकारी लास बोकेर गएका गाउँलेहरूको भीड हेरिरहनु भयो ।

पोखरा–७, मासबार,  कास्की 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप