आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिपक्षीका नेता तान्ने लक्ष्य छाडेर २००७ सालदेखिका भ्रष्टाचारको फाइल खोलौँ : महामन्त्री शर्मा

ओलीलाई कटाक्ष – हामी न्यायाधीश होइनौँ
शनिबार, १३ जेठ २०८०, २१ : ००
शनिबार, १३ जेठ २०८०

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सात सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका हुन् ।

उनले विगतमा नेपाली कांग्रेसका नेतासमेत भ्रष्टाचारको आरोपमा जेल गएको स्मरण गर्दै सबै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरे । ‘कुनै विपक्षी पार्टीका नेतालाई तान्ने लक्ष्यसहित नभई भ्रष्टाचारको स्पष्ट छानबिन गरौँ,’ शर्माले भने, ‘भ्रष्टाचारको स्पष्ट छानबिन गरेर सबै फाइल खोलौँ ।’

उनले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले निर्दोषलाई फसाउने षड्यन्त्र भइरहेको छ भन्ने अभिव्यक्ति दिएको प्रति आपत्ति पनि जनाए । उनले दोषीलाई उम्क्याउन खोजिँदैछ भन्दै गरेको कुरामा आफूले समर्थन गर्न सके पनि निर्दोषलाई फसाइँदैछ भन्ने अभिव्यक्तिले अनुसन्धान प्रभावित बन्नसक्ने बताए । 

उनले भने, ‘केही दिनअघि सम्माननीय पूर्वप्रधानमन्त्री एवं विपक्षी दलका नेता केपी शर्मा ओलीले यो रोष्टममा उभिएर नक्कली भुटानी शरणार्थीको प्रकरणमा उभिएर बोल्दै गर्दा राख्नुभएका अन्य विषयमा म सम्मानपूर्वक समर्थन गर्दछु । दोषीलाई उम्क्याउन खोजिँदैछ भन्दै गरेको कुरामा पनि त्यो आशङ्कामा पनि राज्यले गम्भीरतापूर्वक ध्यान देला नै । सँगै म निर्दोष फसाउने प्रयास भइरहेको भन्ने वाक्य उल्लेख गर्नुभयो । अन्यत्र कहीँ भन्नुभयो रे होइन, यही रोष्टममा उभिएर भन्नुभयो । को दोषी को निर्दोषी नेपाल प्रहरीले छानबिन गरिरहेको छ । हामी न्यायाधीश होइनौँ सभामुख महोदय, यहाँबाट फैसला सुनाउनका लागि । यो समय हामीले निर्दोष कोही नफसुन्, दोषी कोही नछुट्न् । यो बेला सरकारलाई साथ दिने समय हो, यो बेला सरकार बाहिरको दलले पनि सरकारलाई साथ दिने समय हो, समर्थन फिर्ता लिने बेला होइन । रोष्टममा उभिएर मुद्दामा परेका कसैलाई पनि न विगतमा हामीले निर्दोष भन्यौँ, न आज भन्छौँ, केवल यति भन्छौँ, अनुसन्धान र न्यायिक प्रक्रियामा कसैले प्रभावित गर्ने गरी बोल्नु हुँदैन, देश हेरिरहेको छ ।’

त्यस्तै शर्माले नीति तथा कार्यक्रमको शैलीमा परिवर्तन ल्याउनुपर्ने बताएका छन् । उनले यो कार्यक्रम बिरालो बाँध्ने परम्परा धान्ने खालको नीति तथा कार्यक्रमको शैली नै परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

शर्माले जनताको माझमा प्रत्येक वर्ष आउने नीति तथा कार्यक्रम आलोच्य भइसकेको समेत बताए । प्रत्येक वर्ष आउने नीति तथा कार्यक्रम पुरानो शैलीको भएकाले जनताको अवस्था बदल्ने खालको नीति तथा कार्यक्रम ल्याउनुपर्ने शर्माको भनाई छ । पुरानो शैलीको यस प्रकारको नीति तथा कार्यक्रमलाई अन्तिम बनाउनुपर्ने बताउँदै उनले भने, ‘नीति तथा कार्यक्रमलाई चैत महिनामै ल्याउनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप