आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आध्यात्मिकहरूमै अध्यात्मको भ्रम

सोमबार, १५ जेठ २०८०, १२ : २५
सोमबार, १५ जेठ २०८०

कुनै समयमा मैले काम गरेको कार्यालयमा काम गर्नु हुने बडो आध्यात्मिक इमेज बनाउनु भएकी एक जना माँ जी हुनुहुन्छ । उहाँ जो भेट्यो, उसँग आध्यात्मिक कुरा गर्नुहुन्छ । कार्यालयमा वर्षमा दुई चार पटक जोगीहरु बोलाएर स्या स्या र फ्या फ्या गराउनु हुन्छ । 

फलानो संघसँग जोडिएपछि उहाँको जीवनमा रूपान्तरण भयो भन्दै सम्पर्कमा आउने सबैलाई फलानो संघसँग जोडिन अनुरोध गर्नुहुन्छ । अनि दैनिकजसो उहाँले विभिन्न गुरुका भनाइ सोसल मिडियामा शेयर गरिरहनु हुन्छ । 

केही समय अगाडि उहाँले गुरु ओशोको एउटा प्रसिद्ध भनाई शेयर गर्नु भयो, भागो नही जागो, स्वर्ग यही संसारमा छ ।  

लाईक र कमेन्ट बढदै थियो । मैले कमेन्ट गरे, ‘भागो नही जागो । स्वर्ग यही संसारमा छ ।  यो गुरु ओशोको अनुभव हो, आर्जन हो । कति गुरुलाई मात्र सुन्नुहुन्छ । आफ्नो आत्माको आवाज सुन्नुस् र शेयर गर्नुस् ।’  तर यति प्रतिक्रियामा उहाँले त मलाई ब्लक पो गर्नु भएछ । मलाई अचम्म लाग्यो ।  

मैले राम्रै मनसायले कमेन्ट गरेको भए पनि उहाँलाई कहाँ र किन चोट पर्‍यो ?  उहाँले जागेर हेर्ने कोसिस गर्नुपर्ने ठाउँमा मलाई ब्लक गरेर भाग्नु भयो । फलाना गुरुको १५ वर्ष भन्दा पुरानो साधक, मेरो कमेन्ट उहाँलाई कत्ति पनि मन परेनछ । 

साधकले मन नपरेको कुरालाई मन परेन भन्न सक्ने मुटु राख्नुपर्छ । रिस उठे रिस देखाउनु पर्छ । अनि प्रेम जागे प्रेम देखाउनु पर्छ । इमानदारिता र निष्ठा यही हो । इमानदारिता र निष्ठा नभई सांसारिक जीवनमा त विकास हुँदैन, आध्यात्मिक जीवन त धेरै माथिको कुरा हो । 

मान्छेको शरीरको विकास बाल अवस्था, किशोर अवस्था, वयस्क अवस्था हुँदै भए जस्तै अहङ्कारहरू पनि विभिन्न अवस्था हुँदै विस्तार हुँदो रहेछ ।  बाल अवस्थाको अहङ्कार हुने मान्छेले पैसाको चाहना राख्दछ र मान्छे पैसा कमाउन लाग्छ । पैसाको लागि मेहनत गर्छ, चेष्टा गर्दछ  । जसरी त्यसरी हुने नहुने काम गरेर पैसा कमाउँछ । 

मानव स्वास्थ्यसँग खेलबाड गरेर पनि सामान बेच्ने व्यापारीहरू पनि यसको उदाहरण हुन् । पैसा पुगेपछि उसको अहङ्कार अझ बलियो हुन्छ यानी किशोर अवस्थामा पुग्छ । किशोर अवस्थाको अहङ्कारले पद यानी शक्ति माग गर्छ । अब उसले आफ्नो अहङ्कार पुरा गर्नका लागि नैतिक अनैतिक सबै काम गर्दछ । जसरी त्यसरी कमाएको पैसा समेत खर्चिन्छ । 

विभिन्न पदमा जानका लागि तथा रहिरहनका लागि खर्च गर्नेहरुसँग किशोर अवस्थाको अहङ्कार हुन्छ । विशेष गरी यो अवस्थाको अहङ्कार भएका व्यक्तिहरू नेपाली राजनीतिमा देख्न सक्छौ । मन्त्री बन्न करोडौँ खर्च गर्दछन् । यो अवस्थाको अहङ्कारले भ्रष्टाचार गराउँदछ । 

पैसा र पदको अहङ्कारले पुगेकाहरूको अहङ्कार अझ विकसित हुन्छ । अव अहङ्कार वयस्क भयो । वयस्क भएको अहङ्कारले सर्वोच्चको वासना राख्छ । 

मानव जीवनको सर्वोच्च शिखर बुद्धत्व हो । सानातिना अहङ्कारी पद, पैसाका पछाडि लाग्दछन् तर ठुला अहङ्कारी अध्यात्मका पछाडि लाग्दछन् । यस्ता व्यक्तिको बाहिरबाट खुब देखाउँछन् तर भित्र दिन प्रतिदिन अहङ्कारले दिएको पीडाको दलदलमा फसेका हुन्छन् । यिनीहरूको जीवनमा गरिमा हुँदैन । यस्ता व्यक्तिको बोलीमा सोसल मिडियामा खुब आध्यात्मिकता हुन्छ तर अन्तरआत्मामा कुनै पनि रूपान्तरण भएको हुँदैन । यिनीहरूले ध्यान पनि अहंकारको तृप्तिका लागि गर्दछन् । अनि भुक्दै र फुक्दै हिँड्छन् । यस्ता व्यक्तिकै कारण सामान्य व्यक्तिलाई आध्यात्मप्रति विकर्षण हुन्छ, वितृष्णा हुन्छ । 

केही समय अगाडि मलाई करिब दुई दशकदेखि देवघाटमा संन्यास जीवन बिताई रहनु भएको एक पाको व्यक्तित्वसँग भेट्ने अवसर जुरेको थियो । बल्ल बल्ल समय तालिका मिलाएर भेट्न गएकी थिएँ म । आध्यात्मिक यात्रामा उहाँका अनुभव र आर्जनका बारेमा सुन्न हतारो थियो मलाई । तर वास्तविकता विपरीत भयो । 

उहाँले ३ घण्टाको बसाइँमा बुद्ध, रामकृष्ण परहंस लगायतले के के भन्नु भयो, त्यो सुनाउनु भयो । कबिरका दोहा सुनाउनु भयो, अनि भागवत गीताको श्लोक प्रष्ट्उाउनु भयो । यति लामो कुरामा उहाँको अनुभव स्वाद कतै पनि थिएन । उहाँले सुनाउनु भएका कुराहरू सबै युट्युब र सोसल मिडियामा छरपष्टै छन् । एउटा खोज्दा हजारौँ निस्कन्छन् । 

यी कुराहरू सुनेर मात्र जीवनमा रूपान्तरण हुँदैन । करुणा लाग्छ मलाई, संसार त्यागेर २० वर्षदेखि देवघाटमै बस्नेले पनि आजसम्म अनुभवको सानो झिल्का पनि कमाएको छैन । उही अरूको सम्पत्ति र आर्जनको बारेमा सूचना सङ्कलन गर्दै चर्चा गरेर संन्यास जीवन काट्दै छ ।  

विल गेट्स, मुकेश अम्बानी, विनोद चौधरी जस्ता व्यक्तिको सम्पत्तिको बारेमा जानकारी सङ्कलन गरेर चर्चा गरेर, हामी धनी हुने होइन । त्यस्तै सम्पत्तिको स्वामित्व चाहिएको हो भने उनीहरुले गरेको जस्तो कर्म गर्नुपर्छ । 

बुद्धत्व प्राप्त गरेका व्यक्तिहरूको बारेमा जानकारी दिनु र लिनु मुख्य उद्देश्य नै उसलाई प्राप्त भयो, तिमीले पनि प्राप्त गर्न सक्छौ भनी उत्प्रेरणा दिनु हो । आध्यात्मिक यात्रा सुरु गर्न यो अपरिहार्य छ तर यात्रा सुरु भएपछि यो स्वतः छोडिनु पर्छ । किनकि, आध्यात्मिक यात्रामा बुद्धत्व प्राप्त गरेको आत्माहरूसम्बन्धी जानकारी पनि बोझ हो । यदि कुनै व्यक्तिहरू यस्ता जानकारी छाडिरहेका छैनन् भने उनीहरूको आध्यात्मिक उन्नयन भएको छैन । उनीहरू आध्यात्मिक भ्रममा छन् ।   

समग्रमा, आध्यात्मिक उन्नयन चाहने साधकले जीवनमा जे सुकै कारणले होस् । चोट पर्दा मलाई किन चोट पर्‍यो, खोज्नु पर्छ । कमी आफैभित्र देख्न सक्नु पर्छ, जसले आत्म शुद्धीकरणको बाटो खोल्छ ।  

साधकमा इमानदारिता र निष्ठा हुनैपर्ने गुण हो  । मन नपरे, मन परेन भन्न सक्नु पर्छ । जस्तो आवेग आउँछ, त्यस्तै प्रस्तुत हुनु पर्छ । आफैभित्र भएको कमीलाई खोल्नु पर्छ । अनि यस्ता कमीहरु सुधार हुँदै जान्छन् । आवेगहरू लुकाएर सुधार हुँदैन । 

त्यसै गरी, बुद्ध पुरुषहरूको बारेमा जानकारी उत्प्रेरणाको रुपमा लिनु पर्छ ।  एक अवस्थामा पुगेपछि सङ्कलित जानकारीको बोझ छाड्नै पर्छ । किनकि यो बोझले व्यक्तिको अन्तर ज्ञानको बीउलाई उम्रिनै दिदैन ।  

लेखक ओशोधारा मैत्री संघकी आचार्य हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आनन्द मन्जु
आनन्द मन्जु
लेखकबाट थप