प्रदेश र स्थानीय तहको दायित्व थपेर अनुदान कटौती गरियो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आर्थिक वर्ष २०८०/८१को बजेटमा प्रदेश र स्थानीय तहलाई दायित्व थपेर अनुदान कटौती गरिएको टिप्पणी गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेट विनियोजन भएपछि सोमबार सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले हस्तान्तरण गरिएका कार्यक्रम हस्तान्तरण नभई बजेट अभावमा केन्द्रबाट पन्छाइएको बताए ।
'आर्थिक वर्ष २०८०/८१को बजेटले प्रदेश र स्थानीय तहलाई दायित्व थपेर अनुदान चाही गजबले कटौती गरेछ', उनले लेखेका छन्, 'हस्तान्तरण गरिएका भनिएका कार्यक्रम यथार्थमा हस्तान्तरण गरेको नभई बजेटको अभावमा केन्द्रबाट पन्छाइएका कार्यक्रम हुन् ।'
महासचिव पोखरेलले बजेट भाषण सुन्दा राम्रो भएपनि कार्यक्रम कटौतीले प्रदेश र स्थानीय तहले पीडा बेहोर्नुपर्ने उल्लेख गरेका छन् ।
उनले भने, 'बजेट भाषण सुन्दा राम्रो सुनिने यथार्थतामा कार्यक्रम कटौतीको पीडा चैँ प्रदेश र स्थानीय तहले बेहोर्नुपर्ने गजबको आइडिया निकालेछन् प्रचण्ड र महतजीको जोडिले ।'