आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

कामना सेवा बैंक कपिलवस्तुमा नक्कली धितो राखी ३७ लाख ऋण प्रवाह

४ वर्षपछि साँवा, ब्याजको हिसाब खोजिदै, ऋणी सम्पर्क बाहिर
मङ्गलबार, १६ जेठ २०८०, ०८ : ३२
मङ्गलबार, १६ जेठ २०८०

बुटवलमा । कपिलवस्तुको तौलिहवास्थित कामना सेवा बैंकमा नक्कली धितो खडा गरी कर्जा दिएको घटना बाहिरिएको छ । 

२०७६ साल पुस २९ गते लिएको ऋण ऋणीले साँवा व्याज नतिरेपछि धितोमा राखेको जग्गा लिलामका लागि प्रक्रिया सुरु गर्दा धितो नक्कली भएको खुलासा भएको थियो । तत्कालीन कर्मचारी तथा  कर्जा लिने व्यक्तिको गलत आशय देखिएपछि अहिले मिलाउन बैंकका कर्मचारीहरूको दौडधुप चलेको छ ।  

तौलिहवास्थित सुनिल ग्यास सप्लायर्सका सञ्चालक सुनिल अग्रहरिलाई नक्कली धितो रोक्का कागज बनाई ३७ लाख ऋण प्रवाह हुँदा उनले  बैकले लोन प्रवाह गरेको ४ वर्षसम्म पनि व्याज, किस्ता तिरेका थिएनन् ।

तत्कालीन बैंक प्रमुख अखिलेश अग्रहरि र कर्जा शाखा प्रमुख अविनाश शुक्लाको मिलेमतोमा  आमा विमलाको नाममा रहेको घर जग्गा राखेर यस अघि पनि २७ लाख ऋण लिएका सुनिल अग्रहरिले थप ऋणका लागि बैंक म्यानेजर र कर्जा शाखा प्रमुखसहित बैंक प्रतिनिधि सरिता कँडेलसँग मिलेर किर्ते रोक्का कागज बनाई बैंकबाट ३७ लाख ऋण लिएको खुलेको हो ।  उक्त रकम अहिले जोखिममा छ ।  

अग्रहरिले कपिलवस्तु नगरपालिका–३ स्थित कित्ता नम्बर १५५२ को ५ कट्टा ६ धुर (साबिक बगरवाद गाविस ८ क) को जग्गा धितो राखेको किर्ते रोक्का कागज बनाएका थिए । बैंकमा १ वर्ष अघि धितो राखिएको भनिएको उक्त जग्गा अग्रहरिले २०७७ साल फागुन २६ गते तौलिहवाकै व्यापारी सन्तोष गुप्तालाई बेचेको तौलिहवा मालपोत कार्यालयको रेकर्डमा छ । 

त्यो  बेला  लोन प्रवाह गर्ने कर्जा प्रमुख र व्यवस्थापक अहिले उक्त शाखामा छैनन् । हाल  बैंकमा खराब ऋणी भन्दै जग्गा लिलामी प्रक्रिया अघि बढाउँदा धितो जग्गा कागज नक्कली रहेको र रोक्का भनिएको जग्गा अर्कैले किनेको थाहा पाएपछि हालै बैंक कर्मचारी मालपोत कार्यालय पुगेका थिए । 

हालका बैंक म्यानेजर रामप्रित पालले घटना पुरानो भए पनि अहिले  मिलाउने प्रयास भइरहेको रातोपाटीलाई बताए । उनले भने,  ‘त्यो बेला म थिइनँ, अहिले समस्या आएपछि सल्टाउने काम हुँदैछ । छिटै हुन्छ होला, बैंक अप्ठ्यारोमा पर्दैन ।’ 

ठगी गर्ने त्यो बेलाका कामना सेवा  बैंकका  कर्जा प्रमुख  अविनाश शुक्ला अहिले  तौलिहवास्थित साइन रेसुङ्गा बैंक शाखा प्रमुख छन् । उनले पनि त्यो बेला घटना मिल्दै गरेको बताए । उनले भने, ‘उहाँले दुईवटा जग्गा  धितोमा राख्नु भएको थियो । त्यस कारणले समस्या हुँदैन, छिटै प्रक्रियामा जान्छ ।’ 

कामना सेवा विकास बैंकका प्रवक्ता  विनय दाहालले बैंकले राखेको जग्गा नक्कली हो कि या अर्कै प्रक्रियाको हो भन्ने विषयमा छानबिन भइरहेको  बताए । बैंकका कर्मचारी मिलोमतो विषयमा पनि पनि छानबिन गर्ने तयारी भइरहेको छ । 

यो बीचको व्याज र  हर्जाना कसरी सल्टाउने  समस्या रहेको छ । बैंकमा लोन लिएका सुनिल भने सम्पर्कमा छैनन् । अहिले घटना लुकाउन बैंकले सुनिलकी आमा विमलाको घर रोक्का गरेर लोन असुल गर्ने तयारी गरेको  स्रोतले जनाएको छ । 

कपिलवस्तु मालपोत कार्यालय प्रमुख प्रमुख ऋषिराम पौडेलले जग्गाको विषयमा हालै बैंक कर्मचारी कार्यालयमा आएर सोधखोज गरेको रातोपाटीलाई बताए । उनले त्यसबेला उक्त जग्गा  रोक्का नै नभएपछि अर्को व्यक्तिले नियमअनुसार खरिद बिक्री भएको बताए । उनले बैंकमा  राखिएका कागजपत्र नक्कली देखिएको, त्यो लोन खानेले या बैंक कर्मचारी कसले तयार परेको हो, त्यो छानबिन पछि खुल्ने बताए । 

348981007_770926794726989_8607137038549973923_n (1)348366983_2494669747337963_7051392897205283313_n
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप