बागमती प्रदेशसभा : नीति तथा कार्यक्रम माथि छलफल हुने
मकवानपुर। बागमती प्रदेशसभा बैठक आज मंगलबार बस्दैछ । प्रदेश सरकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्नका लागि बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।
बैठकमा सरकारले सार्वजनिक गरेको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि सांसदहरुले धारणा र संशोधन प्रस्ताव राख्ने छन् । संसद् सचिवालयले मंगलबार साँझसम्म संशोधन प्रस्ताव हाल्न समय उपलब्ध गराएको थियो । उक्त संशोधन प्रस्तावहरू माथि पनि संसद् बैठकमा छलफल गरिने सचिवालयको भनाई छ ।
प्रदेशसभा बैठक बस्नु अघि बिहान ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दैछ । कार्य व्यवस्था बैठकले सदनको कार्यसूची निर्माण गर्नेछ । कार्य व्यवस्था बैठकले नीति तथा कार्यक्रमको प्रकृति र प्रक्रिया निर्धारण गर्ने छ भने दलीय हैसियतमा छलफलका लागि सांसदहरूको समय निर्धारण गर्नेछ ।
प्रदेशसभाको गत जेठ १४ गते बसेको बैठकमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेका थिए । उक्त बैठकमा पेश भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेका थिए । प्रदेश प्रमुख शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मुख्यमन्त्री जम्मकट्टेलले संसद्मा टेबुल गरेका थिए ।