कविता
शंका
शनिबार, २० जेठ २०८०, ०६ : ४८
तिम्रो दिल भिजाउँदा भिजाउँदै
बगेको छु भन्ठानेँ
साउनको झरीले
खरबारी पाखा भिजाएजस्तै
सतह सतहमा मात्रै
बगेछु क्यारे
हतार हतार त्यतिकै ।
उम्रेनन् हरिया पिपिराहरू
हाम्रो प्रेम बनेर
कहिल्यै पनि ।
आजभोलि घोत्लिने गर्छु
कतै भिज्नु पर्छ भनेर
जानी जानी नभिज्ने गरी
तिमीले नै पो केही
त्यस्तो गरेकी थियौ कि ?
खोटाङ, हाल: दक्षिण कोरिया