आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले पेन्सन कोषको १ अर्ब ४७ करोड निक्षेपमा लगानी गर्ने

मङ्गलबार, २३ जेठ २०८०, १० : ४४
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ४७ करोड रुपैयाँ निक्षेपको रूपमा बैंकमा राख्ने भएको छ । बैंकले एक वर्षका लागि उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो ।

एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इजाजतप्राप्त क, ख र ग वर्गको बैंकलाई आवेदन आह्वान गरेको छ । इच्छुक बैंकले जेठ २५ गते बेलुका ७ बजेसम्म आफूले चाहेको निक्षेप उचित ब्याजदर सहित प्रस्ताव पेस गर्न सक्नेछन् । 

बैंकका अनुसार कूल रकम मध्ये १ अर्ब १६ करोड ६० लाख रुपैयाँ क वर्गको वाणिज्य बैंकमा, २२ करोड ५ लाख रुपैयाँ ख वर्गको विकास बैंकमा र ७ करोड ३५ लाख रुपैयाँ ग वर्गको फाइनान्स कम्पनीहरूमा राखिनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको सर्त पुरा गरेर निक्षेपका लागि आवेदन दिन सक्नेछन् । 

यस्तो निक्षेपका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पुरा भएको हुनुपर्नेछ भने बैंकको निष्क्रिय कर्जा कूल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हुनुपर्ने बैंकले जनाएको छ । 

असार १, २०८० देखि जम्मा गरिने निक्षेप आगामी वर्ष २०८१ असार २ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप