आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एप्पलले लञ्च गर्‍यो भिजन प्रो हेडसेट, के छ विशेषता ?

मङ्गलबार, २३ जेठ २०८०, ११ : १२
मङ्गलबार, २३ जेठ २०८०

एप्पलले आफ्नो बहुप्रतीक्षित अगमेन्टेड रियालिटी हेडसेट भिजन प्रो सार्वजनिक गरेको छ । यो पछिल्लो एक दशकमा एप्पलको कुनै हार्डवेयर लञ्च भएको यो पहिलो पटक हो ।

एप्पलका सिइओ टिम कुकले यो नयाँ हेडसेटले भर्चुअल र वास्तविक दुनियाँलाई निकै सरलतापूर्वक मिलाउने दाबी गरेका छन् ।

शीर्ष टेक्नोलोजी कम्पनी एप्पलले आईफोनका लागि नयाँ अपरेटिङ सिस्टम र म्याकबुक एयर ल्यापटपको अपडेट पनि ल्याएको छ ।

यो हेडसेट एक पटक चार्ज भएपछि दुई घण्टासम्म चल्नेछ । यसको मूल्य ३४९९ डलर अर्थात् ४ लाख ६१ हजार रुपैयाँ । यसलाई अर्को वर्षको सुरुमा अमेरिकी बजारमा सार्वजनिक गरिनेछ । 

एप्पलको यो हेडसेटको मूल्य बजारमा पहिले नै भएका यस्ता अन्य हेडसेटभन्दा थुप्रै गुणा बढी छ । अघिल्लो हप्ता नै मेटाले आफ्नो हेडसेट क्वेस्ट लञ्च गरेको छ जसको मूल्य ४४९ डलर राखिएको छ । 

एप्पलले जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्सबारे खासै धेरै जानकारी दिएको छैन । र यो नयाँ प्रविधि यतिबेला सिलिकन भ्यालीमा चर्चाको केन्द्र हो ।

क्यालिफोर्नियाको कुपाटिनोस्थित कम्पनीको मुख्यालय एप्पल पार्कमा यो घोषणा गर्दा कम्पनीको सेयरमा साधारण गिरावट आयो ।

headset1स्काई गगल्स

एप्पलको भिजन प्रो बजारमा भएका यस्तै अन्य हेडसेटभन्दा केही भिन्न छ । झट्ट हेर्दा यो भर्चुअल रियालिटी हेडसेटभन्दा स्किइङ गगल्स जस्तो देखिन्छ ।

एप्पलले यो नयाँ डिभाइसको विवरण दिँदै ‘अगमेन्टेड रियालिटी’ शब्दावलीको प्रयोग गरेको छ ।

अगमेन्टेड रियालिटी अर्थात् संवर्धित वास्तविकता एउटा यस्तो प्रविधि हो जसमा हाम्रो आसपासको दुनियाँमा भर्चुअल चिज राख्ने गरिन्छ । यस्तो अवस्थामा स्क्रिनबाट हेर्दा मिश्रित वास्तविकता देखिन्छ, जसमा वास्तविक चीजहरू बाहेक भर्चुअल चीजहरू पनि छन् ।

प्रयोगकर्ताहरूले भर्चुअल संसारमा चलचित्रहरू हेर्न, एपहरू प्रयोग गर्न वा दस्ताबेज लेख्न सक्छन् ।

तर अहिलेसम्म यस्तो प्रविधिको लागि कुनै ठुलो बजारको उपलब्धताको कुनै प्रमाण छैन ।

म्याकरुमर्जका सिनियर एडिटर हार्टले शाल्ट्रनले यो नयाँ हेडसेटले जनतालाई आफूतिर तान्न सक्छ भन्ने कुरामा अनिश्चितता व्यक्त गरेका छन् ।

उनी भन्छन्, ‘यसले साधारण उपभोक्तालाई आफूतिर खासै आकर्षित गर्ने छैन किनभने यसको मूल्य असाध्यै धेरै छ र यो फर्स्ट जेनेरेसन डिभाइस हो जसको आफ्नै कमी पनि हुनेछ जस्तै कि यसको ब्याट्री प्याक छुट्टै तारमा जोडिएको छ ।’

उनले थपेका छन्, ‘एप्पलले सधैँ आफ्नो डिभाइसका लागि ‘आशङ्कालाई गलत साबित गरिदिएको छ’ र यो कम्पनीको इतिहास के छ भने यसले आफ्नो उपकरणतर्फ मानिसलाई जसरी पनि आकर्षित गर्छ र यसका उपकरण हेर्नका लागि आफ्नो पैसा खर्च गरिदिन्छन् ।’

टिम कुकले यो उपकरणबारे कुरा गर्दै भनेका छन् – यो हेडसेटले मानिसलाई डिजिटल कन्टेन्टलाई यसरी हेर्न, सुन्न र अन्तरक्रिया गर्ने यस्तो मौका दिन्छ कि यो उनीहरूको वास्तविक दुनियाँको हिस्सा हो ।

यो डिभाइसलाई हात, आँखा र आवाजमार्फत नियन्त्रित गर्न सकिन्छ ।

headset2उदाहरणको रुपमा औँलाले छुँदा वा हल्लाउँदा कन्टेन्टलाई स्क्रोल गर्न सकिन्छ । 

मेटा र लेनेभोले पहिलेदेखि नै भएको भर्चुअल रियालिटी हेडसेटको नयाँ रूप पेस गरेको हप्ता दिन पछि नै एप्पलले यस्तो घोषणा गरेको हो । मेटा र लेनेभोको हेडसेटले वास्तविक दुनियाँको दृश्यमा कुनै भर्चुअल अब्जेक्टको मिश्रण गराउँदैन ।

मेटाले पनि मिश्रित वास्तविकताको क्षेत्रमा वास्तविक लगानी गरेको छ तर यतिबेला यो क्षेत्रले सङ्घर्ष गरिरहेको छ ।

इन्टरनेशनल डेटा कोअपरेशनका अनुसार हेडसेटको बजारमा अघिल्लो वर्ष ५४ प्रतिशतको गिरावट आएको छ ।

एप्पलले यसअघि प्रमुख हार्डवेयर डिभाइस एप्पल वाच सन् २०१५ मा लञ्च गरेको थियो ।

अनुसन्धाता थोमस ह्युसनले यो नयाँ उपकरणले बजारमा आफ्नो स्थान बनाउन केही समय लाग्न सक्ने बताएका छन् ।

उनी भन्छन्, ‘एआर–भिआर स्पेसलाई पछिल्ला केही वर्षमा असाध्यै बढाई–चढाई पेस गरिएको छ, विशेष गरी मेटावर्स र त्यस खालको अनुभवमा । यसै कारण मलाई लाग्छ कि यो उपकरणले आफ्नो स्थान बनाउन अझै थोरै समय लाग्नेछ ।’

उनी भन्छन्, ‘यदि मैले १०–१५ वर्ष अघि मानिसले मोबाइलमा २००० डलर खर्च गर्न तयार छन् भनेको भए मलाई लाग्छ कि धेरैजसो मानिसले फोनमा यति धेरै पैसा खर्च गर्दैनन् भन्ने थिए ।’

iosआइओएस १७

भिजन प्रोको घोषणासँगै एप्पलले नयाँ अपरेटिङ सिस्टम आईओएस १७ पनि पेस गरेको छ । यो आइफोनको सबैभन्दा ताजा अपरेटिङ सिस्टम हुनेछ ।

यसको अपडेटमा कन्ट्याक्ट पोस्टर पनि छ । तपाईं जब कसैलाई फोन गर्नुहुन्छ भने उसको स्क्रिनमा तपाईंको अनुहार पनि देखिनेछ । यसका साथै लाइभ भोइसमेल पनि उपलब्ध हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप