आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसिया कपको भविष्य फेरि अन्योलमा

मङ्गलबार, २३ जेठ २०८०, १४ : ३६
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । यसै वर्ष आयोजना हुने भनिएको एसिया कप क्रिकेट प्रतियोगिता आयोजनाका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले अगाडि सारेको ‘हाइब्रिड मोडल’लाई हालसम्म तीन देशका क्रिकेट बोर्डले अस्वीकार गरेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले त निकैअघि एसिया कप पाकिस्तानमा नभई अन्य कुनै देश (न्यूट्रल भेन्यू)मा खेलाउने पर्ने माग राख्दै आएको छ ।

तर, पीसीबी भने कुनै पनि हालतमा प्रतियोगिता आफ्नै देशमा आयोजना हुनुपर्ने अडानमा छ । यसका लागि पीसीबीले एसियाली क्रिकेट काउन्सिल (एसीसी)समक्ष प्रतियोगिता आयोजनाको विभिन्न संरचना अगाडि सारेको छ । त्यसैमध्ये एक हो, ‘हाइब्रिड मोडल’ ।

तर, पछिल्लो समय बंगलादेश क्रिकेट बोर्ड, श्रीलङ्का क्रिकेट बोर्ड र अफगानिस्तान क्रिकेट बोर्डले पनि पीसीबीले अगाडि सारेको ‘हाइब्रिड मोडल’लाई अस्वीकार गरेका छन् । पीसीबीले भने प्रतियोगिता आफ्नो देशभन्दा बाहिर (न्यूट्रल भेन्यू)मा आयोजना भए पाकिस्तानले एसिया कपमा भाग नलिने बताउँदै आएको छ ।

पीसीबीका अध्यक्ष नजाम सेठीले पनि आफ्नो देशभन्दा बाहिर आयोजना गरिए पाकिस्तानले एसिया कपमा सहभागिता नजनाउने बताएका छन् । यस्तो विसम परिस्थितमा एसियाकपको विषयलाई लिएर अर्को आङ्कलन सुरु भएको छ । पछिल्लो समय यो वर्ष हुने भनिएको एसिया कप नै रद्द गरिने सम्भावना बढेको समाचारहरु प्राप्त भएका छन् ।   

यदि एसिया कप रद्द भएमा बीसीसीआईले अर्को वहुराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको पनि समाचारमा जनाइएको छ । भारतीय समाचार संस्था प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई)ले एसीसी सूत्रलाई उद्धृत गर्दै यो वर्षको एसिया कप नै रद्द गर्ने तयारी भइरहेको समाचार प्रवाह गरेको छ ।

पीटीआईका अनुसार, एसिया कपको सट्टा बीसीसीआई ५० ओभरको अर्को प्रतियोगिता आयोजना गर्ने तयारीमा छ । आगामी अक्टोबर—नोभेम्बरमा भारतमै आयोजना हुने एक दिवसीय विश्वकपको तयारी स्वरूप उक्त प्रतियोगिता आयोजना गर्न लागिएको दाबी पीटीआईको छ ।

एसिया कपको सट्टामा आयोजना हुने ५० ओभरको प्रतियोगितामा भारतका अतिरिक्त श्रीलङ्का, बंगलादेश र अफगानिस्तान सहभागी हुने बताइएको छ । पीटीआईका अनुसार, पाकिस्तानले भाग नलिए पनि प्रतियोगिताको नाम भने एसिया कप नै राखिने भएको छ ।

पाकिस्तान अनुपस्थित रहेमा त्यसको अवसर प्रसारण अधिकारमा भने पर्नेछ । त्यसैले प्रतियोगिताको प्रसारण अधिकारको विषयमा पुनः छलफल गर्नुपर्ने हुन्छ । पाकिस्तानको अनुपस्थितिमा प्रसारण अधिकारबाट पर्याप्त रकम प्राप्त हुन नसक्ने भएकाले पनि एसिया कप रद्द हुने अनुमानलाई थप बल पुर्‍याएको दाबी समाचारमा गरिएको छ ।

पीसीबीले भने एसिया कप आफ्नो देशमा आयोजना नभए भारतमा आयोजना हुने विश्वकपमा आफ्नो टोली पनि नपठाउने चेतावन दिएको छ । यसअघि श्रीलङ्का र बंगलादेश क्रिकेट संघ पीसीबीले अगाडि सारेको नयाँ ‘हाइब्रिड मोडल’मा सहमत भएको समाचार आएको थियो । उक्त समाचारले एसिया कप हुने सम्भावना बढाएको थियो ।

पीसीबीले अगाडि सारेको नयाँ ‘हाइब्रिड मोडल’मा एसिया कपका खेलहरू दुई चरणमा खेलाउने प्रस्ताव गरिएको छ । पहिलो चरणमा भारतबाहेकका अन्य सहभागी राष्ट्रले एक÷एक खेल पाकिस्तानमा खेल्ने । त्यसपछि दोस्रो चरणमा भारतले सहभागी टोलीहरूसँग आफ्नो खेल ‘न्यूट्रल भेन्यू’मा खेल्ने । एसिया कपको फाइनल खेल पनि ‘न्यूट्रल भेन्यू’मै खेलाउने प्रस्ताव पीसीबीले गरेको थियो ।

हालसम्म प्रतियोगिताको मुख्य आयोजक एसीसीले भने यस विषयमा आफ्नो कुनै आधिकारीक धारणा सार्वजनिक गरेको छ । यो वर्ष एसिया कप आयोजना नहुनु भनेको नेपालका लागि पनि दूर्भाग्य हुनेछ । नेपाल यो वर्ष हुने एसिया कपमा छनोट भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप