आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सय मिटर दौड १० सेकेन्डभन्दा कम समयमा पूरा गर्ने पहिलो धावकको निधन

मङ्गलबार, २३ जेठ २०८०, १७ : १७
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौं । चर्चित अमेरिकी धावक जिम हाइनेसको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा निधन भएको समाचारमा जनाइएको छ । उनी विश्व एथलेटिक्सका कीर्तिमानी खेलाडी हुन् ।

अमेरिकाका जिम हाइनेस एक सय मिटर दौड केवल १० सेकेन्डभन्दा कम समयमा पूरा गर्ने विश्वकै पहिलो धावक हुन् । उनले उक्त कीर्तिमान सन् १९६८ मा बनाएका थिए । जिम हाइनेसले यूएस च्याम्पियनसिपमा निर्धारित दूरी केवल ९.९ सेकेन्डमा पार गरेका थिए ।

त्यसपछि पनि उनले आफ्नै कीर्तिमान तोडेका थिए । सन् १९६८ मा मेक्सिकोमा आयोजना भएको ओलम्पिक खेलकुदमा उनले निर्धारित दूरी ९.९५ सेकेन्डमा पूरा गर्दै कीर्तिमानी स्वर्ण पदक हात पारेका थिए । उक्त ओलम्पिकमा एथलेटिक्सको समय डिजिटल रुपमा मापन गरिएको थियो ।

जिम हाइनेसले उक्त कीर्तिमान करिब १५ वर्षसम्म आफ्नो नाममा राखेका थिए । त्यसछि सन् १९८३ मा उनको कीर्तिमान अमेरिकाकै अर्का धावक केल्भिन स्मिथले तोडेका थिए । स्मिथले निर्धारित दूरी ९.९३ सेकेन्डमा पूरा गर्दै जिम हाइनेसको कीर्तिमान तोडेका हुन् ।

अन्तर्राष्ट्रिय एमेच्योर एथलेटिक्स संघले दौडको समयको तथ्याङ्क राख्न सुरु गरेयता कुनै पनि खेलाडीले यति लामो समयसम्म एक सय मिटर दौडको कीर्तिमान आफ्नो नाममा राख्न सकेको छैन । अन्तर्राष्ट्रिय एमेच्योर एथलेटिक्स संघले दौडको समयको तथ्याङ्क राख्न थालेको एक सय १० वर्ष बितिसकेको छ ।

जिम हाइनेसको निधनप्रति विश्व एथलेटिक्सको नेतृत्वदायी निकायले गहिरो दुःख ब्यक्त गरेको छ । विश्वभरका खेलकुदप्रेमीले पनि उनको निधनप्रति दुःख ब्यक्त गरेका छन् । ‘महान धावक जिम हाइनेसको निधनले हामी स्तब्ध छौं,’ अमेरिकी ट्र्याक एन्ड फिल्डले भनेको छ ।

एक सय मिटर दौडका अतिरिक्त उनी चार गुना एक सय मिटर दौडका पनि खेलाडी थिए । उनले उक्त स्पर्धामा पनि स्वर्ण पदक जितेका थिए । पछि उनी एथलेटिक्स छाडेर नेसनल फुटबल लिग (एनएफएल)को खेलाडी बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप