आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केपी ओलीलाई जनार्दन शर्माको चुनौती : कसले ल्याएको बजेट राम्रो आयोग बनाएर समीक्षा गरौँ

शुक्रबार, २६ जेठ २०८०, १५ : ०६
शुक्रबार, २६ जेठ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विगत १० वर्षमा प्रस्तुत भएका बजेट आयोग बनाएर समीक्षा गर्न चुनौती दिएका छन् । आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद शर्माले राजनीतिक पूर्वाग्रह राखेर ओलीले चालू बजेटलाई शून्य अंक दिएको बताए । 

सांसद शर्माले राजनीतिक पूर्वाग्रहका कारण विपक्षी दलका नेता केपी ओलीले चालू बजेटलाई शून्य मार्क दिएको बताउँदै भने,‘चालु आर्थिक वर्षको बजेट समीक्षा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका विपक्षी दलका नेता केपी शर्मा ओलीले शून्य मार्क दिनुभयो । उहाँको मूल्याङ्कन सत्ताबाट विमुख हुनुपर्दाको पूर्वाग्रह र प्रतिशोधपूर्ण भएको मैले बुझेको छु । म यहाँ कुनै दोहोरी खेल्न चाहन्न । म यो बुझ्छु कि बजेट जनताको हितमा हुनुपर्छ । ताकि जनताको जीवनमा परिवर्तन आओस् । त्यसैले बजेटको बस्तुनिष्ठ मूल्याङ्कन गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ । देशको भविष्य र जनताको जीवनसँग सरोकार राख्ने बजेटलाई राजनीतिक चस्माबाट समीक्षा गरियो भने त्यसले ठिक निष्कर्ष निस्किँदैन । आग्रह र पूर्वाग्रह नराखी बजेटको समीक्षा गरौँ ।’

उनले चालु आर्थिक वर्षको बजेट आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने, उत्पादन बढाउँदै निर्यातमुखी बाटोमा अघि बढ्ने प्रमुख उद्देश्यमा केन्द्रित रहेको बताए । 

सांसद शर्माले आफू अर्थमन्त्री रहँदा बजेट र नीति तथा कार्यक्रममा कृषि उत्पादनलाई प्राथमिकताका साथै औद्योगिकरणलाई पनि जोड दिएको बताए । यसबाहेक स्वास्थ्य बाहेकका समस्याहरु समाधान गर्नका लागि शिक्षाका गुणस्तरका लागि डिजिटलाइजेशन गर्ने कुरामा जोड दिँदै पढ्दै कमाउँदै गर्ने कार्यक्रम मार्फत शिक्षा र श्रमलाई जोड्ने कुरा अघि सारेको बताए । 

उनले विगत १० वर्षमा प्रस्तुत भएका बजेट समीक्षा गर्नपनि आग्रह गर्दै उच्चस्तरीय आयोग बनाएर, अन्तर्राष्ट्रिय अर्थविद्को पनि सहयोग लिएर विश्लेषण गर्न आग्रह गरे । 

सांसद शर्माले यसका लागि अर्थविद्, नागरिक समाज, किसान, पत्रकार, पूर्व न्यायाधीश, सम्बन्धित क्षेत्रमा विज्ञसमेत राखेर विगतका बजेट समीक्षा गर्ने आयोग वा समिति बनाउन आग्रह गरे । सत्तापक्ष र प्रतिपक्ष दलको आग्रह र पूर्वाग्रहबाट निकालिइएको निष्कर्षमा समस्या कहाँ छ भन्ने पहिचान गर्न सकिने बताए । चालु आवको बजेटको प्रभाव आगामी दुई तीन वर्षसम्म पनि देखिने उनले बताए । 

सांसद शर्माले साउनदेखि लागू भएको बजेट दसैँ तिहार आएको, मंसिरमा निर्वाचन आएकोले निर्वाचन आयोगले लगाएको आचार संहिताका कारण बजेट कार्यान्वनमा समस्या परेको बताए । 

निर्वाचन लगतै नयाँ अर्थमन्त्री (विष्णु पौडेल) आएपछि टेन्डर प्रक्रिया अवरुद्ध गर्ने काम भएकोले बजेट कार्यान्वयनमा समस्या भएको बताए । 

गठबन्धन हेरफेर हुने हल्लाका कारणपनि बजेट प्रभावित भएको उनले बताए । यो वर्ष चुनावी वर्ष भएका कारण पनि बजेट कार्यान्वयनमा समस्या रहेको उनले बताए । 

समृद्ध नेपाल सुखी नेपाली केपी ओलीको नारालाई समर्थन गर्दै आफूले पनि सोही प्रकृतिको बजेट ल्याएको उनले बताए । उनले भने,‘समृद्ध देश बनाउनका लागि हाम्रो जिडिपी बढ्नै पर्ने हुन्छ, जिडिपी उत्पादनले बढाउँछ, त्यो बढ्नु नै सुखी नेपाली समृद्ध नेपाल हो । आयात प्रतिस्थापन गरी निर्यात मूलक अर्थतन्त्र र आत्मनिर्भर अर्थतन्त्र बनाउने नै मेरो बजेटको उद्देश्य र कार्यक्रम थियो । योभन्दा अरू कुनै उद्देश्य नै थिएन ।’

उनले आफूले ल्याएका बजेट व्यावहारिक, प्रगतिशील रहेको उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप