आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इप्पानको निर्वाचन कार्यतालिका : जेठ ३० मा मनोनयन दर्ता, ३२ गते नयाँ नेतृत्व

शनिबार, २७ जेठ २०८०, २० : ४८
शनिबार, २७ जेठ २०८०

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिका लागि हुने निर्वाचनका लागि निर्वाचन समितिले निर्वाचनका कार्यक्रम सार्वजनिक गरेको छ । जेठ २९ गतेदेखि सुरु हुने निर्वाचनका कार्यक्रम जेठ ३२ गते नयाँ नेतृत्वलाई प्रमाणपत्र दिएपछि सम्पन्न हुनेछन् ।

नेतृत्वको लागि अध्यक्षमा गणेश कार्की र किरण मल्लले प्रतिस्पर्धा गर्दै छन् । कार्कीलाई पूर्व अध्यक्षदेखि वर्तमान कार्यमसितिसम्मले समर्थन गरेका छन् । उनको प्यानलबाट चुनाव लड्नको लागि धेरैले इच्छा देखाएका छन् । ५ जना उपाध्यक्षका लागि ८ जनाभन्दा धेरै आकांक्षी देखिएका छन् ।

अध्यक्षका अर्का प्रत्यासी मल्लले भने कुनै टिम बनाउन सकेका छैनन् । उनी एक्लै अध्यक्षमा उम्मेदवारी दिने उनी निकट व्यवसायीहरूले बताएका छन् । कार्की प्यानलबाट भने वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी, महासचिवमा बलराम खतिवडा र उप-महासचिवमा प्रकाश दुलालले प्रतिस्पर्धा गर्दै छन् । ५ जना उपाध्यक्षहरूमा सिए आशिष गर्ग, अधिवक्ता भरतबहादुर खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी, उत्तमा भ्लोन लामा र हिमप्रसाद पाठकले कार्कीकै प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रने तयारी गरेका छन् ।

यसैगरी ५ जना सचिवमा भरत खड्का, विक्रम विष्ट, अविज्ञा मल्ल, कविता कँडेललगायतले प्रतिस्पर्धा गर्दै छन् । कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्थले कार्कीको प्यानलबाटै प्रतिस्पर्धा गर्दै छन् ।

सदस्यहरूमा सिए उत्तरकुमार श्रेष्ठ, शंकर बस्याल, ई.मिथुन पौडेल, कुवेरमणि नेपाल, ई.कदम केसी, ई.दीपक पौडेल, टिएन. आचार्य, मोहन कार्की, ई. सुवास बराल, ई. पुस्कर ढुङ्गेल, ई.गोपाल निउरे, सिताराम तिमल्सिना, जगदिश बहादुर पाललगायत प्रतिस्पर्धामा छन् ।

सदस्यका अधिकांश प्रतिस्पर्धीहरू कार्कीको प्यानलबाट चुनावी प्रतिस्पर्धा गर्दैछन् । महिला सदस्यमा सुमन जोशी, सुसन कर्माचार्य, इन्दिरा पन्त, रजनी थापा, इशा श्रेष्ठलगायतले पनि कार्कीको प्यानलबाट प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।

अध्यक्षका उम्मेदवार गणेश कार्कीले इप्पानका कुल ४५० मध्ये ३०० भन्दा धेरै सदस्यले आफूलाई समर्थन गरिसकेकोले आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।

यस्तो छ निर्वाचन कार्यतालिका

निर्वाचन समितिले एक सूचना जारी गर्दै जेठ २९ गते दिनको २ बजे मतदाता नामावली सार्वजनिक गर्ने बताएको छ । मतदाता नामावलीमा दावी विरोधका लागि सोही दिन २ः१० देखि ३ः३० सम्मको समय दिइएको छ । दावी विरोधमाथि छानबिन गरेर सोही दिन ५ बजे अन्तिम मतदाता नामावली प्रकाशित गरिने छ ।

उम्मेदवारी दर्ताको लागि जेठ ३० गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिइएको छ । ३ः३० बजे उम्मेदवारहरुको नामावली प्रकाशन गरिने छ । ४ः३० बजेसम्म उम्मेदवारको नामावलीमा दावी विरोध गर्न पाइने छ । दावी विरोधमाथि ५ बजेसम्म छानविन गर्ने कार्यतालिका छ ।

३० गते बेलुका ५ बजेदेखि ३१ गते दिनको ४ बजेसम्म उम्मेदवारहरूले चाहेमा उम्मेदवारी फिर्ता लिन समय दिइने छ ।  जेठ ३२ गते २१ औं साधारणसभाको बन्दसत्रपछि मतदान गर्ने कार्यतालिका तय भएको छ । मतदान पछि ३२ गते नै निर्वाचनको मतपरिणाम सार्वजनिक हुने छ ।

इप्पानको साधारणसभा बौद्धस्थित हायात होटलमा हुने छ । साधारणसभाको उद्‍घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप