वकिलले १३ पन्ने फारामको प्रसङ्ग निकाल्दा झोक्किए न्यायाधीश
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा १२ जना प्रतिवादीको तर्फबाट बहस पूरा भएको छ । सोमबार सचिव टेकनारायण पाण्डे, नरेन्द्र केसी, गोविन्द चौधरी र रामशरण केसीतर्फका कानुन व्यवसायीले बहस गरेका छन् ।
प्रतिवादी रामशरण केसीका तर्फबाट अधिवक्ता अरुण ज्ञवालीले बहस गर्ने क्रममा प्रसङ्ग बाहिर गएको भन्दै न्यायाधीश प्रेमप्रसाद न्यौपाने रिसाए । बहसमा ज्ञवालीले अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १३ पन्ने फारम भर्ने गरेको प्रसङ्ग निकालेका थिए ।
‘१३ पन्ने फारम भराउने डरले अख्तियार प्रमुख प्रेम राईलाई बयान नै लिइएन,’ अधिवक्ता ज्ञवालीले बहसमा भने, ‘अहिले सम्पत्ति शुद्धीकरणले पनि भराउँछ क्यारे १३ पन्ने फारम ।’
अनि, अधिवक्ता ज्ञवालीसँग न्यायाधीश झोक्किए । न्यायाधीश न्यौपानेले भने, ‘१३ पन्ने अहिलेको विषय हो ?’
जिल्ला अदालत काठमाडौँको २५ नम्बर इजलासमा भइरहेको सुनुवाइको विषय अभियुक्तहरुलाई धरौटीमा छाड्ने, थुनामा पठाउने र साधारण तारेखमा छाड्ने भएको उल्लेख गर्दै न्यायाधीश न्यौपानेले भने, ‘मेरो अगाडि ३ वटा विषय छन्, तपाई आफ्नो पक्षमा त्यो विषयमा आउनुस् ।’
अधिवक्ता ज्ञवालीले बिना आधार सरकारी पक्षले रामशरण केसीलाई शरणार्थी प्रकरणमा प्रतिवादी बनाएको जिकिर गरेका छन् । ‘रामशरण केसी आफैँ पीडित हुन्,’ अधिवक्ता ज्ञवालीले भने, ‘सामान्य रङको काम गरेर जीविकोपार्जन गर्ने मानिसले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने कुरा सम्भव नै हुँदैन ।’