आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कलाकार

लोकगीतमा रमाउँदै ‘रोशनी’

‘कलाकारले देशको संस्कृति, संस्कारलाई सधैँ प्राथमिकतामा राख्नुपर्छ’
मङ्गलबार, ३० जेठ २०८०, १० : ३६
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौँ । गायिका रोशनी रसाइली विगत डेढ दशकदेखि लोकगीतमा निरन्तर लागेकी छिन् । उनको चर्चा र काम पहिलेदेखि अहिलेसम्म एकनास छ । 

बागलुङ नगरपालिका–१० भकुन्डे स्थायी घर भएकी उनी आफ्नो एल्बमसँगै बाहिरको गीतमा समेत स्वर दिँदै आएकी छन् । 

अधिकांश लोक गायक÷गायिकाको गीतमा माया प्रेमका कुरा अधिक हुन्छ । लोकगीतमा बढी बिक्ने भनेको यही विषय हो । उनी भने गीतमा मायाप्रेम सँगसँगै समसामयिक विषयवस्तु पनि समेट्छिन् ।

उनको पछिल्लो गीत ४ वर्ष अगाडिको चर्चित काण्ड ‘३३ किलो सुन’को विषयमा थियो । ‘३३ किलो सुन हराइ गएछ’ बोलमा लोकशैलीमा सार्वजनिक यो गीतमार्फत व्यङ्ग्य प्रस्तुत गरिएको थियो । गीतले राम्रै चर्चासमेत पायो ।

अहिले भने उनी ‘फुर्रफुर्र पुतली’ बोलको गीत ल्याउँदैछिन् । माया प्रेमको विषयमा रोमान्टिक जनरामा तयार यो गीतमा भमरासँग एक युवतीले आफूलाई दाँजेर आफ्नो मनको चन्चले कुरा राखेको विषय समेटिएको छ । उनले भनिन्, ‘गीत पुरै रोमान्टिक छ । सबैको रुचिलाई ध्यान दिएकी छु ।’

माधवराज खरेलको शब्द, दीपक शर्माको संगीत रहेको गीत ‘फुर्रफुर्र पुतली’को रेकर्ड सकिएको छ । भिडियो छिट्टै बनाएर गीत सार्वजनिक गर्ने तयारीमा छिन् उनी । 

roshni rasaili (1)

यसकारण लोकगीत

विसं २०६६ मा ‘मुटु बिझाउने’ एल्बम सार्वजनिक गर्दै रोशनीले औपचारिक गायन यात्रा सुरु गरेकी हुन् । गीतको रेकर्ड भने २०६५ मै भएको थियो । त्यसबेला गीत रेकर्डकै लागि बागलुङबाट काठमाडौँ आएकी थिइन् ।

२०६६ मा एसएलसीपछि पढ्ने र गायनमा लाग्ने सोचका साथ उनी फेरि काठमाडौँ आइन् । त्यसपछि ‘मुटु बिझाउने’ गीत सार्वजनिक गरिन् ।

त्यो समय नयाँ गायक गायिकाले एल्बम ल्याउँदा चलेका गायक गायिका पनि समेट्ने चलन थियो । यसले एल्बमको बिक्री र चर्चा दुबैमा फाइदा पुग्थ्यो । उनले पनि आफ्नो एल्बमको साइड ‘ए’ मा राजु परियार र विष्णु माझीको स्वरमा ‘मुटु बिझाउने’ र साइड ‘बी’मा कृष्ण जिसी र आफ्नो स्वरमा ‘काटी पलायो बाली’ बोलमा गीत समेटेकी थिइन् । 

‘पञ्चेबाजा शैलीमा तयार एल्बम राम्रो बिक्यो,’ उनले भनिन्, ‘एल्बमको चर्चा र सबैको हौसलाले गायन छोड्न मन लागेन । यसैमा भविष्य खोज्न थाले ।’

पहिलो एल्बमको चर्चाले उनले ‘मुटु बिझाउने २’ र तेस्रो ‘सानै छ उमेर’ ल्याइन् । यो दुई एल्बम पनि हिट भएपछि रोशनीले गायनमा पछि फर्किएर हेर्नु परेको छैन । 

उनका अहिलेसम्म ‘भट्टी पसल’, ‘काभ्रेमा घर छ १ र २’ ‘साली भेना’, ‘चौतारीमा बर छ’, ‘हेर्न जाऊ न फिल्म’, ‘म त ड्राइभर सहारा’, ‘एउटा फोटो खिच्न देऊ न’ लगायत  तीन दर्जन बढी गीत आएका छन् । जुन गीतले राम्रै चर्चा पाएका छन् ।

रोशनीले अहिलेसम्म जति गीत गाएकी छन्, लोकदोहोरी शैलीमै गाएकी छन् । अन्य गीतको अफर उनलाई नआएको हो त ?

‘आफ्नो स्वर लोकदोहोरी गीतमा मात्र मिल्ने भएकोले अन्य गीत नगाएकी हुँ’, उनले भनिन्, ‘लोकदोहोरी अर्थात् लोकभाका भनेको हाम्रो मौलिक संस्कृति हो । त्यसैले, यो रोजेकी हुँ ।’

बाहिरको गीतमा दाम

बाग्लुङ नेपाली लोकगीत संगीतको उर्वर भूमिको रूपमा परिचित छ । यही ठाउँकी उनी लोक तथा दोहोरीको साथमा सालैजो, कौडा, पञ्चेबाजाका भाका गाउँदै हुर्किएकी हुन् । त्यसैले पनि सानैदेखि गायनमा लाग्ने उनको सोच थियो । चर्चित गायिका बनेर देश तथा विदेशमा ख्याति कमाउने चाहना पनि । 

‘गायनमा देखेको सपना केही पुरा भयो केही बाँकी छ’ उनले भनिन्, ‘गायनमा निरन्तरता दिइरहेकी छु । बाँकी सपना पनि पुरा हुन्छ भन्नेमा आशावादी छु ।’ 

पछिल्लो समय लोकगीत संगीतको चर्चा घटेको छ । उनले पनि यो महसुस गरेकी छन् । उनी यसो हुनुमा समय सान्दर्भिक गीतको निर्माण घट्नुलाई मान्छिन् । उनले पनि ‘३३ किलो सुन हराई गएछ’पछि समय सान्दर्भिक गीत ल्याएकी छैन ।

roshni rasaili (3)

गायन क्षेत्रमा लाग्नेहरू पछिल्लो समय गीतसंगीतको अवस्था बिग्रिँदै गएको बताउँदै आएका छन् । तर, उनी यो मान्न तयार छैनन् । किनभने गायनमा अहिले थुप्रै अवसर रहेको उनको अनुभव छ । ती अवसरमध्ये एक स्वदेश तथा विदेशका सांगीतिक कार्यक्रम पनि हो । 

उनीसँग स्वदेशका स्टेज कार्यक्रमको थुप्रै अनुभव छ । विदेशका भने उनले अहिलेसम्म अनुभव सँगाल्न पाएकी छैनन् । ‘विदेशका कार्यक्रमको अफर आउँदा आमा बनेकी थिएँ । त्यसपछि कोरोना आयो ।’ उनले कारण खुलाइन्, ‘अब बिस्तारै विदेशको कार्यक्रममा पनि जान्छु ।’ 

रोशनीले नाम, दाम र इज्जत सबै गायनबाटै कमाएकी छिन् । ‘संगीतको औपचारिक ज्ञानसहित आउनेका लागि यो क्षेत्रमा अवसर प्रशस्तै छ’, उनी थप्छिन् ‘यसबाटै जीवन समृद्ध बनाउन सकिन्छ ।’

रोशनीले वर्षमा एउटा आफ्नो मौलिक गीत अनिवार्य रूपमा र अन्य समय बाहिरको गीतमा स्वर दिने गरेकी छिन् । आफ्नो गीतले नाम र बाहिरकोले दाम दिने उनी बताउँछिन् ।

महिलालाई कति सहज ?

भनिन्छ, ‘गायनमा पुरुषको तुलनामा महिला कलाकारलाई गाह्रो छ ।’ कतिपय त पारिश्रमिकसमेत दिँदैनन् । उनले भने अहिलेसम्म यस्तो अनुभव गर्नु परेको छैन । यो क्षेत्रमा मद्दत गर्ने बीबी अनुरागी, राकेश सोनीलगायत गाउँकै दाजुहरू भएकाले आफूलाई सहज भएको उनको बुझाई छ ।

विवाहित महिलालाई कलाक्षेत्रमा टिकिरहन त्यति सहज छैन । त्यसैले, धेरै गायिका विवाह पछि हराएका छन् । उनी भने विवाहपछि अझ चम्किएकी छन् ।

‘२०६८ मा रमेश शिवशंकरसँग विवाह भएपछि सांगीतिक क्षेत्रमा अगाडि बढ्न झन् सजिलो भयो’, उनले भनिन्, ‘हरेक कुरोमा पतिकै साथ, समर्थन र सहयोग मिल्यो । त्यसैले अहिलेको अवस्थासम्म आउन सफल भएकी हुँ ।’ 

आगामी दिनमा कलासंस्कृतिले भरिपूर्ण गीतसंगीत बढीभन्दा बढी ल्याउने सोच छ रोशनीको । ‘एउटा कलाकारले आफ्नो देशको कलासंस्कृति र संस्कारलाई सधैँ प्राथमिकतामा राख्नुपर्छ,’ उनको जिकिर छ ।

रोशनीले छाँयाछवि तीज गीत अवार्ड, श्रीलंकाबाट एक अवार्डको अलावा थुप्रै पुरस्कार पनि हात पारेकी छन् । केही दिन अगाडि काठमाडौंमा आयोजित ‘तेश्रो स्पाईनी ब्याबलर फिल्म फेष्टिवल २०८०’ मा पनि उनी सम्मानित भएकी थिइन् । ‘अवार्ड र पुरस्कारले अगाडि बढ्न थप हौसला र प्रेरणा मिल्छ’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप