आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

किन आउँदै छन् प्रधानमन्त्री प्रचण्ड आज दैलेख ?

बुधबार, ३१ जेठ २०८०, ०६ : ४१
बुधबार, ३१ जेठ २०८०

सुर्खेत । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दैलेख आउन लागेका छन् । कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन् उनी दैलेख आउन लागेका हुन् । 

यो कार्यक्रम दुल्लू नगरपालिका–१२ स्थित दह गाउँमा हुने छ । दह गाउँ दाहालहरूको उत्पत्ति थलो हो । यो ठाउँ दाशु सन्ततिहरू दाहाल, लम्साल, रुपाखेती, कुँवर तथा राणाहरूको आदी भूमिका रूपमा चिनिन्छ । 

कुल शिरोमणि दाशुको सुरुको बसोबास भएको स्थान दह गाउँमा ६६ इन्चको पूर्ण कदको प्रतिमा (सालिक) स्थापना गरिएको छ । प्रधानमन्त्री दाहालले प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको छ  ।

यो प्रतिमा २५ जेठमा काठमाडौँबाट देवघाट, नारायणघाट, गैँडाकोट, चौरमारा, बर्दघाट, दाउन्ने, बुटवल, गोरुसिङ्गे, लमही, दाङ, कोहलपुर, सुर्खेत, दैलेखको डुङ्गेश्वर हुँदै दह गाउँमा पुर्याइएको थियो ।

दाशुले सुरुमा बसोबास गरेको स्थान दह गाउँलाई दाशु तीर्थस्थल र पर्यटकीय स्थलको रूपमा विकास गर्न थालिएको छ । 

माओवादी केन्द्र दैलेखका नेता प्रेम कटुवालका अनुसार आज दिउँसो साढे २ बजे प्रधानमन्त्री दाहाल नेपाली सेनाको हेलिकप्टर मार्फत दुल्लू आउने कार्य तालिका रहेको छ ।

नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङको पाँचौँ दीक्षान्त समारोह सकेर प्रधानमन्त्री प्रचण्ड हेलिकप्टरमार्फत दैलेख आउने छन् । 

प्रतिमा अनावरण कार्यक्रमका अलावा प्रधानमन्त्रीले श्रीस्थानको अनुगमन गर्ने कार्यक्रम रहेको छ । ज्वाला क्षेत्रमा भइरहेको पेट्रोलियम पदार्थ उत्खनन लगाएतका विषयमा उनले जानकारी लिने छन् । त्यसपछि प्रचण्ड आज नै काठमाडौँ फिर्ता हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप