आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
इप्पान निर्वाचन

नयाँ नेतृत्वको खोजीमा जलविद्युत उद्यमी

बुधबार, ३१ जेठ २०८०, १४ : १२
बुधबार, ३१ जेठ २०८०

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)मा नयाँ नेतृत्व चयन हुँदैछ । यही जेठ ३२ गते (भोलि) हुने निर्वाचनबाट इप्पानसहित देशभरका जलविद्युत उत्पादकले नयाँ नेतृत्व पाउनेछन् । यतिबेला ऊर्जा उद्यमीहरु प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । एक जना अध्यक्ष चाहिने इप्पानमा दुई जना व्यवसायीले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा सुपर खुदी हाइड्रोपावरका गणेश कार्की र युनियन मेवा हाइड्रोपावरका किरण मल्लले उम्मेदवारी दिएका हुन् । यस्तै, महासचिव पदका लागि समेत दुई जनाको उम्मेदवारी परेको छ । महासचिवको पदमा बलराम खतिवडा र विनोद देवकोटाको उम्मेदवारी परेको छ ।

३८ जनाको उम्मेदवारी
चुनावी भिडन्तका लागि अध्यक्ष र महासचिवमा समान २/२ जनाको उम्मेदवारी सहित कार्यसमितिमा ३८ जनाको उम्मेदवारी परेको छ । २५ सदसीय कार्यसमिति पदका लागि ३८ जनाको उम्मेदवारी परेको हो । उम्मेदवारी परेकामध्येबाटै ५ जना भने निर्विरोध बनिसकेका छन् । ५ जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा भरतबहादुर खत्री, आशिष गर्ग, आनन्द चौधरी, उत्तम ब्लोन लामा, रामप्रसाद आचार्य, विरेन्द्र मल्ल र दिपेन्द्रबहादुर बमको उम्मेदवारी परेको छ । उपमहासचिवमा प्रकाशचन्द्र दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको एकल उम्मेदवारी परेको छ । उनीहरू निर्विरोध निर्वाचित बनेका हुन् ।

यस्तै, ५ जना सचिव पदमा ६ जनाको उम्मेदवारी परेको छ । सचिवमा भरत नेपाल, भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, हिम पाठक र नारायण कँडेलको उम्मेदवारी परेको छ । यसका साथै, १० जना सदस्यका लागि १७ जनाको उम्मेदवारी परेको निर्वाचन कमिटीले बताएको छ । सदस्यहरूमा टेकनाथ आचार्य, विजय मोहन भट्टराई, भरत पराजुली, कुवेरमणी नेपाल, मिथुन पौडेल, शंकर बस्याल, गृष्म ओझा, सकुन्द ओझा, दिपक पौड्याल, उत्तरकुमार श्रेष्ठ, कदम केसी, तारा सुब्बा, विकास कुमार श्रेष्ठ र सिताराम तिमिल्सिनाले उम्मेदवारी दर्ता गरेका छन् ।

यसमध्ये ३ जना महिला सदस्य भने निर्विरोध निर्वाचित भएका छन् । ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित बनेका हुन् । ऊर्जा उद्यमीको चुनावी प्रक्रियामा ४५१ जना मतदाता रहेको निर्वाचन कमिटीले जनाएको छ ।

६ जनाविरुद्ध दाबी विरोध

उम्मेदवारी दिएका ६ जना विरुद्ध दाबी विरोध परेको निर्वाचन कमिटीले जनाएको छ । उनीहरुविरुद्ध ९ जनाले दाबी विरोध गरेको निर्वाचन कमिटीले जनाएको छ ।

अध्यक्षका उम्मेदवार किरण मल्लविरुद्ध अध्यक्षकै अर्का उम्मेदवार गणेश कार्कीले दाबी विरोध गरेका छन् । यस्तै, वरिष्ठ उपाध्यक्षका उम्मेदवारविरुद्ध समेत वरिष्ठ उपाध्यक्षकै उम्मेदवारले दाबी विरोध गरेका छन् । यसबाहेक, विरेन्द्र मल्ल र दिपेन्द्र बहादुर बमका विरुद्ध समेत दाबी विरोध परेको छ । यस्तै, महासचिव उम्मेदवार विनोद देवकोटाका विरुद्ध समेत दाबी विरोध परेको छ । निर्वाचिन कमिटीका अनुसार आवश्यक छानबिन गरेर आज साँझसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप