आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विद्युत् व्यापारका लागि निजी क्षेत्र योग्य भइसकेको छ, सरकारले बाटो खोलोस् : इप्पान अध्यक्ष आचार्य

बिहीबार, ३२ जेठ २०८०, १२ : ४६
बिहीबार, ३२ जेठ २०८०

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले निजी क्षेत्र विद्युत् व्यापारका लागि तयार भइसकेकोले सरकारले बाटो खोलिदिनुपर्ने बताएका छन् ।

इप्पानको २१ औं साधारण सभाको उद्घाटनमा बोल्दै अध्यक्ष आचार्यले ‘नेपालको पानी, समृद्धिको खानी’ भन्ने नारासहित नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको धेरै ठुलो लगानी भइसकेको पनि बताए ।

‘अनेकौँ बाधा व्यवधानका बाबजुद देश उज्यालो बनाउनका लागि ऊर्जामा लगानी गर्ने निजी क्षेत्रका साथीहरूप्रति आभारी छु ।‘ आचार्यले भने । जुनसुकै मुलुकको आर्थिक समृद्धिको आधार ऊर्जा नै रहेको र सबै देशले प्राप्त स्रोतलाई अधिकतम उपयोग गरिरहेकोले नेपालले पनि आफ्नो स्रोतको उच्चतम उपयोग गर्नुपर्ने आचार्यले बताए ।

‘पछिल्लो समयमा कार्बन उत्सर्जन घटाउने विश्वव्यापी चासोको विषय छ । कार्बन घटाउने क्षमता भएको मुलुक नेपाल हो । नेपालमा क्लिन इनर्जीको धेरै सम्भावना छ । हाइड्रो, सौर्य सबै ऊर्जाको सम्भावना छ ।‘ आचार्यले अगाडि भने ।

नेपालको विद्युत् जडित क्षमता करिब ३ हजार मेगावाट पुग्दा, ५ हजार मेगावाट क्षमताका आयोजना निर्माणाधीन, ११ हजार मेगावाट क्षमताका आयोजना पीपीएको पर्खाइमा र अध्ययनको चरणमासमेत रहेका आयोजना जोड्दा २५ हजार मेगावाटका आयोजना विभिन्न चरणमा रहेको आचार्यले बताए ।

आजको दिनमा खपत बढाउनु भने चुनौती रहेको आचार्यले बताए । औद्योगिक, सिँचाइ, विद्युतीय चुल्हो र विद्युतीय गाडीमा खपत बढाउनु पर्ने उनले बताए । विद्युत् उत्पादनमा निजी क्षेत्रको प्रवेश बिना उत्पादन सफल नभएको भन्दै खपत बढाउन र निर्यात गर्नको लागि पनि अब निजी क्षेत्रलाई व्यापार गर्न दिनुपर्ने आचार्यले बताए ।

‘एक मेगावाटको आयोजना बनाउने निजी क्षेत्रका साथीहरू आज १०० मेगावाटको आयोजना बनाइरहेका छन् । अब निजी क्षेत्रले जत्रो आयोजना पनि बनाउन सक्छ । सरकारले सहयोग गरिदिनुपर्‍यो ।‘ आचार्यले भने ।

प्रधानमन्त्रीको भारत भ्रमण ऊर्जा केन्द्रित

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण यो पटक ऊर्जा केन्द्रित भएको पनि आचार्यले बताए । ‘विगतका भ्रमण राजनीतिक केन्द्रित हुन्थे । यस पटक आर्थिक मुद्दामा केन्द्रित भएको र त्यसमा पनि अझ ऊर्जा केन्द्रित नै भयो । यो ऊर्जा उद्यमीको लागि खुसीको कुरा हो ।‘ आचार्यले भने ।

‘भारतमा १० हजार मेगावाट विद्युत् निर्यातको समझदारी भएको छ । तर, यो सफल होला र ? भन्ने पनि प्रश्न उठेको पाइन्छ । हामी सकारात्मक छौ । हिजो ४० मेगावाट निर्यात हुँदा पनि जम्मा ४० भनेका थिए । आज ४०० मेगावाट गइरहेको छ । त्यसैले १० हजार मेगावाट विद्युत् पनि निर्यात हुनेछ ।‘ उनले भने ।

‘जसरी उत्पादनमा निजी क्षेत्र नआउँदा सम्म विद्युत् उत्पादन बढेन, त्यसैगर व्यापारमा पनि निजी क्षेत्र नआएसम्म व्यापारको दायरा बढ्न सक्दैन । हामी विद्युत् व्यापार गर्न योग्य छौ, तयार छौ । सरकारले अनुमति दिएर वातावरण बनाइ दिनुपर्छ ।‘ उनले भने ।

निर्यात गर्न पाइयो भनेर खुसी भएर मात्र पुग्दैन । देशभित्र खपत गर्ने वातावरण बनाउनु पनि उत्तिकै आवश्यक भएको आचार्यले जोड दिए । ‘समृद्ध नेपाल निर्माणमा अघि बढिरहेका छौ । त्यसको आधार ऊर्जा नै हो । देशभित्र मात्रै नभएर देशबाहिर बङ्गलादेशसम्म जाने वातावरण बनाऊँ । ७ मन्त्रालय, २२ विभाग र २०० टेबलमा जानुपर्ने अवस्था अन्त्य गरौँ ।‘ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप