विराटनगरमा विद्युत् अवरुद्ध हुँदा जनजीवन प्रभावित
बिहीबार, ३२ जेठ २०८०, १८ : ४७
विराटनगर । विराटनगरका विभिन्न स्थानमा बुधबार राति आएको हावाहुरीले अवरुद्ध विद्युत् सेवा अझै सुचारु हुन सकेको छैन ।
हावाहुरीले विद्युतका पोल ढाल्दा विराटनगरमा दिनभरि विद्युत् अवरुद्ध भएको हो ।
नेपाल बिद्युत प्राधिकरणका अनुसार साँझ साढे ६ बजेसम्म विद्युत् अवरुद्ध हुँदा औद्योगिक क्षेत्रमा कलकारखाना, छापाखाना, गार्मेन्ट उद्योगलगायत ठप्प भएका छन् ।
यस्तै गर्मीका कारण सर्वसाधारण पनि प्रभावित भएका छन् । विराटनगरको अहिलेको तापक्रम ३१ डिग्रीभन्दा बढी छ । ढालेका पोलहरूको मर्मत भइरहेको नेपाल विद्युत् प्राधिकरण विराटनगरले जनाएको छ ।
विद्युतको समस्या देखिएको ठाउँमा मर्मतको लागि कर्मचारीहरु खटाइएको प्राधिकरणको भनाई छ । मर्मतको काम सकिएपछि विद्युत् आउने बताइएको छ ।