आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अभिलाषा र सुनिरा फाइनलमा

बिहीबार, ३२ जेठ २०८०, २२ : ३८
बिहीबार, ३२ जेठ २०८०

काठमाडौँ । अभिलाषा विष्ट र सुनिरा थापा प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा फाइनलमा प्रवेश गरेका छन् । राइजिङ स्टार टेनिस एकेडेमीद्वारा बिहीबार आयोजित प्रतियोगिताको सेमिफाइनलमा अभिलाषाले आइशा डोल्कर गुरुङलाई ६–४ र ६–० तथा सुनिराले प्रकृति श्रेष्ठलाई ६–४, ३–६ र ६–२ को सेटमा पराजित गरेका हुन् ।

उता पुरुष सिंगल्समा प्रदीप खड्का र अभिषेक बास्तोला उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा प्रदीपले आर्यन गिरीलाई ६–० र ६–२ तथा अभिषेकले प्रणव खनाललाई ६–१ र ६–० को सोझो सेटमा हराए । नेपाल टेनिस संघको सहयोगमा भइरहेको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा पूर्व सिंगल्स राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र महेश श्रेष्ठको जोडी पहिलो भए ।

उक्त जोडीले फाइनलमा अनिल साइ र गोपी भण्डारीको चुनौती ६–२, ४–६ र १०–८ ले पन्छाए । ५५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडीले फाइनलमा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीलाई सीधा सेटमा ६–३ र ६–० ले पाखा लगाउँदै विजेता  बने । ४५ वर्षमाथि मोहम्मद युनुस र अन्वर अलीको जोडीले शीर्ष स्थान ओगटे । उनीहरूले फाइनलमा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीलाई ६–४ र ६–० ले निराश पारे ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा थोङवान तुलेश्वरले विमल वाइबालाई ७–५ र ६–४ को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरे । फाइनलमा तुलेश्वरको भेट राजु श्रेष्ठसँग हुनेछ । राजुले उत्तमकुमार लामाबाट वाक ओभर पाए । ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवारले महेश श्रेष्ठलाई ६–० र ६–२ तथा मोहम्मद युनुसले मानबहादुर कटवाललाई ६–० र ७–५ ले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप