आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दलहरूको अग्नि परीक्षा सुरु भएको छ : वर्षमान पुन

शुक्रबार, ०१ असार २०८०, १२ : ४३
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनताको अग्नि परीक्षा भन्दा बाहिर कोही नभएको टिप्पणी गरेका छन् । चीनबाट उपचार गरेर फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै पुनले जनताको अग्नि परीक्षामा नेताहरू सधैँ पास भएर सिद्ध हुनुपर्ने बताए । 

‘राजनीतिक दलहरूमा नयाँ अग्नि परीक्षा सुरु भएको छ । जनताका जुन नयाँ अपेक्षा छन् । त्यसलाई पुरा गर्न कोसिस गर्नुपर्नेछ । विगत ३ वर्षको कोरोना महामारीले अर्थतन्त्र सङ्कट मात्रै हैन सिङ्गो मानव जीवन सङ्कटमा छ । यस्तो बेला सरकार र पार्टीले विशेष प्रयत्न गर्नै पर्छ ’ पुनले भने, ‘अब नेता, कार्यकर्ता र जनताको पक्षमा खरो रूपमा उत्रने प्रतिबद्धता जनाउन चाहन्छु । नेताहरूमा प्रश्न उठ्ने गरेको बताउँदै पुनले प्रश्न उठ्नु नराम्रो कुरा नभएको बताए । 

‘जनताले प्रश्न उठाउँदा  नेताहरूले सकारात्मक जवाफ दिनुपर्छ । प्रश्नले नेताको व्यवहार, कार्यशैलीको औचित्यता पुष्टि गर्दिने हो’ पुनले भने, ‘निश्चित रूपमा समाज आलोचनात्मक हुँदै गएको छ । यसलाई नराम्रो मान्नु हुँदैन ।  सिस्टममा रहेर आफ्ना कुरा राख्नपर्छ ।’ आलोचनात्मक समाजलाई रचनात्मक बनाउने दायित्व सबैको भएको पुनले बताए । सामाजिक सञ्जालमा नेताको आलोचना हुँदा सबैलाई इरिटेड बनाउने गरेको उनले बताए । 

‘सरकारले थालनी गरेका नयाँ कामको स्वागत छ । ती कामलाई जनसमर्थन कायम राख्दै प्रचण्ड नेतृत्वको सरकार अझ सफल हुने छ । जनताको पक्षमा अझ काम गर्ने विश्वास लिएको छु’ पुनले भने, ‘निर्वाचन पछि बनेको सरकार भएकाले जनताका अपेक्षा व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने गुनासो छ । जनताको गुनासो नआउने गरी काम गर्नुपर्ने छ ।’  राजनीतिक सचेतनाविना आर्थिक विकास, सामाजिक विकास र सुशासन सम्भव नहुने पुनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप