नक्कली भुटानी शरणार्थी प्रकरण
हाइप्रोफाइलसहित १६ जनालाई केन्द्रीय कारागारमा पठाउने आदेश
शुक्रबार, ०१ असार २०८०, १८ : ३१
काठमाडौँ । नक्कली शरणार्थी प्रकरणका १६ प्रतिवादीलाई केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा राख्न आदेश भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि शुक्रबार १६ जना प्रतिवादीलाई केन्द्रीय कारागार पठाउन आदेश भएको हो ।
पक्राउ परेका अन्य दुई जना भने धरौटीमा रिहा भएका छन् । जसअनुसार लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश भएको अदालतले जनाएको छ।
यस्तै टोपबहादुर रायमाझी, बालकृष्ण खाणसहित अन्य १६ जना प्रतिवादी भने पुर्पक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालतमा यो मुद्दामा ११ दिनसम्म लगातार थुनछेक बहस भएको थियो । कुल ३० जनाविरुद्ध मुद्दा चलाइएकामा १२ जना अझै फरार छन् ।