आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नेपाली फिल्म

दुई महिनामा १४ फिल्म रिलिज : एक हिट, अरुले लगानीसमेत सुरक्षित गर्न सकेनन्

नेपाली फिल्मले छोएन अडियन्सको मन : दीपेन्द्र लामा, निर्देशक
शनिबार, ०२ असार २०८०, ०७ : ०१
शनिबार, ०२ असार २०८०

काठमाडौँ । यो वर्षको सुरुवातमा फिल्म ब्यवसायमा शुभ सङ्केत देखिएको छैन । दिनको सङ्केत बिहानीले गर्छ भनेझैँ वैशाख र जेठ यो दुई महिनामा प्रदर्शनमा आएका १४ फिल्मबाट पनि यो वर्ष राम्रो व्यवसाय हुने अनुमान गर्न सकिन्न । 

वैशाख र जेठमा ‘बिहे पास’, ‘बुलाकी’, ‘जारी’, ‘प्रसाद २’, ‘कैदीको पत्र’, ‘नाइँ नभन्नु ल ६’, ‘ज्याकी आई एम २१’, ‘हल्कारा’, ‘ए साथी सुन’, ‘डाकिनी’, ‘टुल्की’, ‘हुक्का’, ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ १४ फिल्म प्रदर्शनमा आए । 

यी मध्ये ‘जारी’ बाहेक अन्य फिल्मले लगानीसमेत सुरक्षित गर्न सकेनन् । ‘नीरफूल’ अहिले प्रदर्शनरत छ तर व्यवसाय भने आशलाग्दो छैन ।

प्रदर्शनको ५१ औं दिन पूरा गरेको ‘जारी’ भने अझै पनि कमाउने रफ्तारमा छ । यसले १४ करोड ३२ लाख रुपैयाँ आम्दानी गरिसकेको निर्माण पक्षको दाबी छ । 

न स्टार, न कथाको चल्यो जादु 

नेपाली फिल्म क्षेत्रमा निर्माता निर्देशक पहिले स्टारको पछि लाग्छन् । त्यसपछि कथा र मेकिङमा ध्यान दिन्छन् । स्टार भएको फिल्मको चर्चा र व्यवसाय राम्रो हुने उनीहरूमा विश्वासले जरो गाडेको जो छ ।

वैशाख र जेठमा रिलिज भएका अधिकांश फिल्म स्टार कलाकारले भरिएका छन् । अनि, विदेशी फिल्म फेस्टिभलमा अवार्ड थापेकाले पनि फिल्मको व्यवसाय राम्रो हुने अनुमान धेरैको थियो । 

‘जारी’ बाहेक यो दुई महिनामा रिलिज भएका कुनै फिल्म पनि हिट हुन सकेन । यो दुई महिना न स्टारको जादु चल्यो, न अर्ग्यानिक कथा बिके । केही मेकरबाहेक कसैलाई पनि विश्वास नगरेको देखियो । 

वैशाखमा रिलिज भएका प्रायः सबै फिल्म राम्रा कलाकारले भरिएका थिए । वैशाखको पहिलो साता ‘बिहे पास’, ‘बुलाकी’ र ‘जारी’ रिलिज भएको थियो । 

प्रवेश पौडेलको निर्देशन रहेको ‘बिहेपास’ मा दयाहाङ राई, प्रकृति श्रेष्ठ, सुभाष गजुरेल, श्याम राई, विशाल पहाडी, बुद्धि तामाङ, हिउँवाला गौतमलगायत राम्रा कलाकारको अभिनय थियो ।

‘बुलाकी’मा भने सुरक्षा पन्त, विराज विष्ट, नरेन खड्कालगायत देखिएका थिए । फिल्ममा कर्णाली भेगको जारी प्रथाको कथा छ ।

राम्रो व्यवसाय गरेको ‘जारी’ लिम्बू समुदायमा प्रचलित जारी प्रथाको कथामा बनेको अर्को फिल्म हो । फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा लगायतको अभिनय छ ।

त्यस्तै वैशाख १५ देखि प्रदर्शनमा आएका ‘प्रसाद २’, ‘नाईँ नभन्नु ल ६’ र ‘कैदीको पत्र’ले पनि दर्शकलाई निराश बनाए । 

‘प्रसाद २’मा विपिन कार्की, अभिनेत्री केकी, अर्पण थापाले लगायतको अभिनय थियो भने ‘नाइँ नभन्नू ल ६’मा आशीर्वाद क्षेत्री, आँचल शर्मा, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाललगायत कलाकारको रूपमा रहेका थिए ।

‘कैदीको पत्र’मा भने नेपाली र ब्रिटिस कलाकार देखिएका थिए ।

वैशाखको तेस्रो साता ‘ज्याकी आई एम २१’ र  चौथो साता ‘हल्कारा’ आयो । धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय ‘ज्याकी आई एम २१’मा थियो भने ‘हल्कारा’ महेश त्रिपाठी र विनीता थापा मुख्य भूमिकामा देखिएका थिए । 

‘ज्याकी आई एम २१’ मात्र होइन, विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड जितेको ‘हल्कारा’ले पनि हलमा जादु देखाउन सकेन ।

यस्तै जेठमा ‘डाकिनी’, ‘टुल्की’, ‘हुक्का’, ‘ए साथी सुन’, ‘नीरफूल’, ‘वेलकम टु हेम्जाकोट’ गरेर ६ फिल्म रिलिज भए । ६ मध्य कुनैपनि फिल्मले राम्रो व्यवसाय गर्न सकेनन् ।

षट्कोण आर्टस्ले निर्माण गरेको ‘डाकिनी’ खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)ले निर्देशन गरेका थिए । फिल्ममा तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियाँ लगायतका कलाकारको अभिनय थियो ।

बहुपति प्रथामा निर्माण भएको ‘टुल्की’मा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा लगायतको अभिनय रहेको थियो । यी दुबै फिल्म एक साता नबित्दै हलबाट उत्रिए ।

यस्तै, ‘हुक्काः एन एब्सर्ड ड्रिम’ मा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने र ‘ए साथी सुन’मा बर्षा शिवाकोटी र रमेश बानियाँको मुख्य भूमिका थियो । यी दुबै फिल्म फ्लप सावित भए ।

‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ भने गत शुक्रबारबाट प्रदर्शनमा आएको छ । ‘नीरफूल’मा दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा लगायत स्टार कलाकारको बाक्लो उपस्थिति छ ।

‘वेलकम टु हेम्जाकोट’मा बुद्धि तामाङ, विनोद न्यौपाने, विशाल पहारी, रवि गिरी लगायतले अभिनय गरेका छन् । यी दुबै फिल्मले पनि राम्रो व्यवसाय नगरेको अवस्था हो ।

फिल्मले छोएन अडियन्सको मन

नेपाली फिल्म निर्माण रफ्तारमा छ । दैनिकझैँ फिल्म निर्माण घोषणा, छायाङ्कन र इण्ड क्ल्यापका समाचार बन्ने गरेका छन् । फिल्मको व्यवसाय भने हरिबिजोग छ । अहिले रिलिज भएका कतिपय फिल्मले लगानी त परै जाओस्, पोस्टर टाँसेको खर्च समेत उठाउन नसकेको अवस्था हो ।

फिल्मको व्यवसाय नहुनुको दोष कतिले मेकरलाई दिन्छन्, त कतिले कथामा । कतिपयले त कलाकारलाई समेत अनलक्की मान्न थालेका छन् । 

निर्देशक दीपेन्द्र लामा भने फिल्मको व्यवसाय नहुनु दर्शकले मनपराउने फिल्म बन्न नसक्नु बताउँछन् ।

‘फिल्म राम्रो, नराम्रो बन्यो म भन्दिन । दर्शकले रुचाउने फिल्म भने बनेन,’, लामाले भने, ‘दर्शकको रुचि, समयअनुसार परिमार्जित, परिपक्व हुँदै जान्छ । त्यो अनुसार फिल्म मेकरले पनि आफूलाई अपग्रेड गर्दै जानुपर्छ । तव मात्र तारताम्य मिल्छ र फिल्म चल्छ ।’ 

एक ताकाको कतिपय सुपरहिट निर्देशक, निर्माता अहिले फिल्म भन्दा बाहिर रहनुको कारण पनि यो क्षेत्र अपग्रेड नहुनु कारक रहेको लामाको धारणा छ ।

फिल्म नचल्नुले नेपालमा कुनै पनि स्टार छैन भन्ने फेरि प्रमाणित भएको समीक्षक सामिप्य तिमल्सिना बताउँछन् । ‘कुनै फिल्म चलेको छ भने त्यसको कथा, प्रस्तुति, शैलीलगायत त्यो कसरी प्याकेज बनेको छ । त्यसले फरक पारेको देखिन्छ’, तिमल्सिनाले भने, ‘दर्शक अहिले फिल्म मेकर भन्दा चेतना स्तरमा धेरै अगाडि पुगिसके । ट्रेलर, पोस्टर हेर्दैमा यो फिल्ममा आफूले पैसा खर्च गर्ने कि नगर्ने निर्णय गर्न सक्ने अवस्थामा छन् ।’ 

‘निर्माता, निर्देशक र कलाकारले अझै थप मिहिनेत गर्नुपर्ने अवस्थाको सङ्केत पनि भएको छ,’ तिमल्सिनाले थपे ।

दीपेन्द्र र सामिप्यको कुरोमा सहमत जनाउँछन् निर्माता, निर्देशक तथा वितरक अशोक शर्मा । उनी पनि दर्शकले रुचाउने फिल्म नभएको दोहोर्‍याउँछन् ।

‘कुनै पनि निर्माता, निर्देशकले आफूले बनाएको फिल्म राम्रै लाग्न सक्छ । तर अडियन्सले कसरी लिन्छ भन्ने कुरो महत्त्वपूर्ण हो । अडियन्सको टेष्ट संसारमा कसैले पनि अहिल्यै बुझ्न सक्दैन’, शर्माले अगाडि थपे, ‘कतिपय कथावस्तुले तान्छ, कतिपय कलाकार र कतिपय प्रोडक्सन भ्यालुु र ब्यानरमा पनि भर पर्छ ।’ 

अडियन्सको सेलेक्टेड ब्यानरमा झुकाव रहेको समेत शर्माले पाएका छन् । उनी फिल्म चल्ने धेरै कुरो मिल्नुपर्ने सुनाउँछन् । भन्छन्, ‘कथाबस्तु, ब्यानर, कलाकार सबै राम्रो भयो भने फिल्म चल्छ ।’ 

अवार्ड प्राप्त फिल्म पनि दर्शकले रुचाउँछन् भनेर भन्न नसकिने शर्माको धारणा छ । उनले भने, ‘केही जुरीले मन पराएको फिल्म मासले मन पराउँछ भन्ने छैन ।’ 

२०७९ पनि औसत

नेपाली फिल्मका लागि गत वर्ष अर्थात् २०७९ पनि औसत रह्यो । करिब ४ दर्जनको हाराहारीमा फिल्म रिलिज भएको गत वर्ष वर्ष ‘कबड्डी ४’, ‘ए मेरो हजुर ४’, ‘झिङ्गे दाउ’, ‘२ नम्बरी’, ‘प्रेम गीत ३’, ‘महापुरुष’, ‘के घर के डेरा’, ‘फुलबारी’ र ‘छक्का पन्जा ४’ लगायत १० फिल्मले लगानी सुरक्षित गरेको देखिन्छ ।

१० मध्ये ३ फिल्मले मुश्किलले लगानी सुरक्षित गरे भने ७ फिल्मले ५ देखि २२ करोड माथि सम्मको व्यवसाय गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप