कविता : मुख्य पृष्ठ
आपा !
हामी किन अन्तिम पृष्ठको
अन्तिम हरफहरूमा मात्र छौँ ?
हामी किन एकै पृष्ठमा छैनौँ ?
हामी मुख्य पृष्ठमा आएमा के हुँदो हो ?
हामी मुख्य पृष्ठमा कस्ता देखिँदा हौँ ?
आपा !
हरेक दिन मुख्य पृष्ठमा देखिने ती अनुहारहरू
किन मैलो देखिन्छन् ?
यिनीहरूको अनुहार कहिले सफा देखिन्छ होला ?
यिनीहरू कहिलेसम्म मुख्य पृष्ठमै रहन्छन् ?
छोरी !
हामी माटोमा काम गर्ने किसानहरू हौँ
हामीलाई योग्य ठानिँदैन
सानो स्तरको ठानिन्छ
त्यसैले अन्तिम पृष्ठमा छौँ
त्यसैले एकै पृष्ठमा अटाउन्नौँ
हामी मुख्य पृष्ठमा आए
देशको भौगोलिक मुहारजस्तै सुन्दर देखिने थियौँ
र आज पाँच थुन्चे फलेको धान
आघुँ पराघुँ पचास थुन्चे फलाउने थियौँ ।
छोरी !
ध्यान दिएर हे¥यौ भने देख्नेछौ
यिनीहरूको अनुहारमा धुलो टाँसिएको छ
हिलो लागेको छ
त्यसैले धमिलो देखिएको हो
यिनीहरू मिलेसम्म अनुहार पुछपाछ गर्दै
थामथुम पार्दै
सकुन्जेल झुल्किरहन्छन्, देखापरिरहन्छन्
र एकदिन जब पुछेर नजाने गरी
धुलो र हिलो जम्मा हुन्छ
यिनीहरूको अनुहार पूरै ढाकिन्छ
त्यसपछि यिनीहरू कुनै पनि पृष्ठमा
नअटाउने गरी गायब हुनेछन्
त्यसैले मुख्य पृष्ठमा टिकिरहनलाई
यिनीहरूले अब आफ्नो अनुहार
सफा गर्दै लैजानैपर्नेछ
पुछपाछले अब काम चल्नेछैन
दागरहित अब हुनैपर्नेछ ।
र, त्यो दिन त गजबै आउनेछ छोरी
जब सफा अनुहार भइसकेका यिनीहरू
र माटो लागेका हामी किसानका अनुहारहरू
मुख्य पृष्ठमा
हाराहारी देख्न सकिनेछ
तब देशको मुहार फेरिनेछ
तब एक समृद्ध राष्ट्रको निर्माण हुनेछ