आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजनीतिक अस्थिरता रोक्न समाजवादी मोर्चा : उपाध्यक्ष पाण्डे

शनिबार, ०२ असार २०८०, १८ : २९
शनिबार, ०२ असार २०८०

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले कम्युनिष्टबीच कार्यगत एकता गर्दै देशको राजनीतिक अस्थिरता रोक्नका लागि समाजवादी मोर्चा गठन गर्न लागिएको बताएका छन् । सरकारमा रहेका र सरकार बाहिर रहेका कम्युनिष्ट दलबीच यही असार ४ गते कार्यगत एकता हुन लागेको उनले बताए ।

समाजवादी प्रेस सङ्गठन नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस विषयमा छलफल जारी रहेको बताए । सरकारमा रहेका र बाहिर रहेका कम्युनिष्ट पार्टीबीचको छलफलका टुङ्गिए पनि केही प्राविधिक समस्याका कारण घोषणामा ढिलाइ भएको उपाध्यक्ष पाण्डेको भनाइ थियो । 

उनले थपे, “सरकारमा देखिएको अस्थिरता रोक्न र सबैलाई एकीकृत गरेर हिँड्न सहज होस् भनेर यो मोर्चा गठनको पहल एक वर्षअघिदेखि भएको हो ।” सरकारमा रहेका दलले सरकार सञ्चालनमा सहयोग गर्ने र बाहिर रहेका दलले बाहिरी वातावरण तया गर्ने गरी मोर्चा गठन गर्न लागिएको उनले बताए । नेकपा एमालेले संसद् भङ्ग गर्नु गल्ती भएको आत्मालोचना गरेमा मोर्चामा ल्याउन सकिने तर गल्ती स्वीकार नगरे मोर्चामा ल्याउनुको अर्थ नरहने उपाध्यक्ष पाण्डेले उल्लेख गरे ।

फरक प्रसङ्गमा उनले बजेट हरेक निर्वाचन क्षेत्र र जिल्लामा समानुपातीक हुन जरुरी रहेको बताए । अहिलेको बजेटमा विभेद देखिएको भन्दै उनले यसलाई सच्याएर जानुपर्ने बताए । यो सच्याउन नसके सरकारमा बस्नुको अर्थ नरहने उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले बजेट पास हुने समयसम्म सबैको समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप