आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आदिपुरुष : विवाद, ट्रोलिङ र प्रतिबन्धको माग बीच दुई दिनमा कमाई २४० करोड भारु, के हो कारण ?

सोमबार, ०४ असार २०८०, १० : ४७
सोमबार, ०४ असार २०८०

आदिपुरुष फिल्मले रिलिज भएको दुई दिनमै विश्वभर २४० करोड भारुको व्यापार गरेको छ । तेस्रो दिनको तथ्याङ्क भने आउन सकेको छैन । तर बक्स अफिसमा फिल्मको पहिलो दुई दिनको ट्रेन्ड कायम रहेमा तीन दिनमै फिल्मले सहजै ३ सय करोडको आँकडा पार गर्नेछ ।

यो कमाई त्यति बेला भइरहेको छ जब यो फिल्मलाई समीक्षकहरूले राम्रो मूल्याङ्कन गरिरहेका छैनन् र सामाजिक सञ्जालमा पनि यो ट्रोल भइरहेको छ ।

पहिलो दुई दिनको कमाइलाई हेर्दा बलिउडका लागि यो नयाँ रेकर्ड हो । बलिउडको बक्स अफिसमा अहिलेसम्मकै सर्वाधिक कमाई गर्ने फिल्म ‘पठान’ ले पहिलो दुई दिनमा १२७ करोडको व्यापार गरेको थियो । यो आँकडा हेर्दा आदिपुरुष धेरै अगाडि देखिन्छ ।

चलचित्र समीक्षक र दर्शकको आलोचना र डाइलगको भाषाको विवादका बाबजुद पनि मानिसहरू हलमा पुगेका छन् ।

बढ्दो विवादका बीच आइतबार फिल्मका निर्माताले फिल्मबाट विवादित संवाद हटाएर नयाँ संवाद ल्याउने वाचा गरेका छन् ।

adipurusविवादित डायलगको बचाउ

मानिसको सबैभन्दा ठुलो आपत्ति भनेको लङ्का जलाउनुअघि हनुमानको चरित्रको संवादलाई लिएर हो, जसमा उनले भनेका छन्,‘कपडा तेरे बाप का, तेल तेरे बाप का, आग भी तेरे बाप की और जलेगी भी तेरे बाप की ।’

यस्तै, नेपालमा ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवादमा धेरैले विरोध गरिरहेका छन् ।  

फिल्मका अन्य केही संवादको पनि निकै चर्चा भएको छ ।

एउटा दृश्यमा रावणका एक राक्षसले हनुमानलाई भन्छन्, ‘तिम्रो काकीको बगैँचा हो र हावा खान आएको... ?’

चलचित्रमा प्रयोग गरिएको भाषालाई ‘अभद्र र अपमानजनक’ भन्दै दर्शकले सामाजिक सञ्जालमा आफ्ना गुनासो पोस्ट गरिरहेका छन् ।

यसैबीच पटकथा लेखक मनोज मुंतासिरले फिल्मको संवादको बचाउ गरेका छन् ।

रिपब्लिक टिभीलाई दिएको अन्तरवार्तामा मनोज मुंतासिरले भनेका छन्, ‘हामीसँग कथा सुनाउने चलन छ । रामायण एउटा यस्तो कथा हो जुन हामीले बाल्यकालदेखि सुन्दै आएका छौँ । हाम्रा हजुरआमाले रामायणको कथा सुनाउनुहुन्थ्यो, त्यही भाषामा सुनाउनुहुन्थ्यो । देशका महान् ऋषि–कथाकारहरूले यो संवादलाई मैले लेखेकै रूपमा बोल्छन् ।’

हनुमानको चरित्रका लागि लेखिएका संवादबारे सोध्दा उनले भने, ‘यो गल्ती होइन, हामीले जानाजानी गरेका हौँ । बजरंगबलीका लागि लेखिएका संवादहरू निकै सोचेर लेखिएका छन् । फिल्मका सबै पात्रले एउटै भाषा बोल्न सक्दैनन् ।’

adipurus1फिल्मको बचाउ

धेरै दर्शकले फिल्ममा रामायणलाई फरक ढङ्गले प्रस्तुत गरिएको आरोप लगाएका छन् । फिल्मसँग सम्बन्धित व्यक्तिले पनि यसको बचाउ गरेका छन् ।

न्युज च्यानल आजतकलाई दिएको अन्तरवार्तामा मनोज मुंतासिरले भने, ‘फिल्मको नाम आदिपुरुष हो । आदिपुरुष बनाइरहेका बेला हामीले रामायण बनाएका होइनौँ, रामायणबाट प्रेरित छौँ । मार्केटिङ स्ट्राटेजी अनुसार फिल्मको नाम रामायण राख्न निकै सजिलो थियो ।’

तर, फिल्म रिलिज हुनुअघि एबीपी न्युजलाई दिएको अन्तरवार्तामा मनोज मुंतासिरले मानिसहरूले जुन रामायण पढेको, सुनेको र हेरेका छन्, फिल्ममा त्यही रहेको बताएका थिए ।

एक प्रश्नको जवाफमा मनोज मुंताशिरले भनेका थिए, ‘के हामी मौलिक रामायणबाट विमुख भएका छौँ, यसलाई आधुनिकीकरण गर्ने प्रयास गरेका छौँ, के हामीले फरक अडान लिएका छौँ, यसको सीधा जवाफ हो, ‘छैन’ । मानिसहरूले जे पढेका, देखेका, सुनेका छन्, त्यही रामायण मात्रै छ, त्योभन्दा केही फरक छैन ।’

adipurus2विरोध हुँदाहुँदै रेकर्ड स्तरको कमाई

चलचित्रका पटकथा लेखक मनोज मुंतासिर विशेष गरी जनताको निशानामा छन् । फिल्मले सामाजिक सञ्जालमा चर्को ट्रोलिङको सामना गरिरहेको छ । यसबाहेक फिल्मविरुद्ध अदालतमा निवेदन पनि परेको छ ।

फिल्म हरेर निस्किरहेका थुप्रै दर्शकले प्रतिक्रिया दिँदै यसलाई भारतको राष्ट्रिय प्रसारक दूरदर्शनमा प्रसारित रामायण धारावाहिकभन्दा कम मूल्याङ्कन गरेका छन् । 

फिल्म आदिपुरुषमा, भारतको सबैभन्दा चर्चित कथा – रामायण – लाई नयाँ तरिकाले थ्री–डी प्रविधिसहित थुप्रै भाषामा पेस गरिएको छ । 

फिल्मको आलोचना संवादमा मात्रै सीमित छैन । बरु, धेरै मानिसहरूले यसको भीएफएक्स (भर्चुअल इफेक्ट्स अर्थात् टेक्नोलोजी मार्फत ल्याइएका विशेष प्रभावहरू) को आलोचना पनि गरिरहेका छन् ।

यस फिल्ममा ‘बाहुबली’ बाट चर्चित भएका दक्षिण भारतीय स्टार अभिनेता प्रभास राघव (राम), कीर्ति सेनोन केतकी (सीता) र सैफ अली खान लंकेश (रावण) को भूमिकामा छन् । यसलाई ओम राउतले निर्देशन गरेका हुन् भने टी–सिरिजका भूषण कुमारले निर्माण गरेका हुन् । पात्रको लुक र पहिरनलाई लिएर पनि प्रश्न उठिरहेका छन् । 

चर्को ट्रोलिङ, चर्को आलोचना र कमजोर समीक्षाका बाबजुद पनि बक्स अफिसमा फिल्मको व्यापार यसरी नै जारी रहनेमा फिल्मका निर्माता विश्वस्त छन् ।

फिल्मले पहिलो दुई दिनमै विश्वभर २४० करोड कमाएको फिल्म निर्माता टी–सिरिजले बताएको छ । फिल्मले पहिलो दिन १४० करोड र दोस्रो दिन १०० करोड कमाएको निर्माताले बताए । फिल्म हिन्दी बाहेक तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा पनि रिलिज भएको छ ।

फिल्मले यति धेरै कमाइ कसरी गरिरहेको छ ?

आदिपुरुषभन्दा अघि फिल्म पठानका लागि पनि यस्तै विवाद भएको थियो । फिल्मविरुद्ध प्रदर्शन पनि भएको थियो । तर पठानले बक्स अफिसमा कमाइको सबै रेकर्ड तोडिदियो र विश्व भरी १०५० करोड भारुको कमाइसहित फिल्म हालसम्मको सर्वाधिक कमाउने फिल्म बन्यो । 

आदिपुरुषले पनि विवादका बीच बक्स अफिसमा व्यापक कमाई गरिरहेको छ ।

 विश्लेषकका अनुसार फिल्मलाई मानिसहरूको जिज्ञासाले थप फाइदा भइरहेको छ ।

बीबीसीसँग कुरा गर्दै, फिल्म निर्माता र बलिउड व्यापार विश्लेषक गिरीश जोहर भन्छन्, ‘फिल्मलाई लिएर आउने नकारात्मक प्रतिक्रियाहरू प्रायः सोसल मिडियामा छन् । फिल्म हेरेपछि धेरैले आफ्नो प्रतिक्रिया व्यक्त गरिरहेका छन् । सुरुका दिनमा जनताको प्रतिक्रियाको प्रभाव देखिँदैन । वर्ड अफ माउथ वा मानिसको प्रतिक्रियाको असर पहिलो हप्तापछि फिल्मको कमाईमा हुन्छ । यदि यस्तै नकारात्मक प्रतिक्रिया आइरह्यो भने भोलिका दिनमा फिल्मको कमाईमा असर पर्न सक्छ ।’

adipurus3स्टार पावर

बक्स अफिसमा फिल्मको उत्कृष्ट प्रदर्शनको कारण बताउँदै गिरीश जोहर भन्छन्, ‘प्रभास विशेष गरी दक्षिण भारतका ठुला स्टार हुन् । उनको स्टार पावरले पनि दर्शकलाई फिल्मतर्फ आकर्षित गरेको छ । यसका साथै चलचित्रलाई लिएर मानिसमा कौतुहलता पैदा गरियो ।’

गिरीश जोहर भन्छन्, ‘फिल्म निर्माताहरूले आफूले रामायणको आफ्नै संस्करण देखाएको दाबी गरेका छन् । यो फिल्म निकै ठुलो खर्चमा निर्माण भएको हो । नयाँ युगको प्रविधिमा रामायणलाई फिल्ममा कसरी देखाइएको छ भनेर हेर्न पनि मानिसहरू उत्सुक छन् ।’

भगवान् रामप्रतिको जनताको आस्था पनि फिल्मको कमाइको कारण मानिन्छ । गिरीश जोहर भन्छन्, ‘मानिसहरूले भारतमा हरेक घरमा रामायण हेरेका छन् । लामो समयपछि रामायण आएको छ । जसका कारण पनि मानिसहरू यो कथालाई नयाँ रूपमा हेर्न आतुर छन् ।’

फिल्मको सङ्गीत हिट

भारतमा अहिले छुट्टीको समय हो र मानिसहरूसँग चलचित्र हेर्नको लागि पनि समय छ। गिरीश जोहरले चाडपर्वमा परिवारसँग फिल्म हेर्न रुचाउने गरेको बताउँछन् ।

यस फिल्ममार्फत जनताले आफ्ना बालबालिकालाई हिन्दु धर्मको जरासँग जोड्न चाहेको र त्यसै कारण पनि आफ्ना बालबालिकासँग फिल्म हेर्न गएको विश्लेषकहरूको विश्वास छ ।

गिरीश जोहर भन्छन्, ‘पहिले हामी हजुरआमाबाट कथा सुन्ने गर्दथ्यौँ । तर अहिले एकल परिवार छन् । हरेक अभिभावकले आफ्ना छोराछोरीहरूलाई कुनै पनि तरिकाले यो कथा सुनाउन चाहन्छन्, उनीहरूलाई संस्कार दिलाउन चाहन्छन् । ’

फिल्मको सङ्गीत पनि बक्स अफिसमा कमाइको एउटा कारण मानिएको छ । गिरीश भन्छन्, ‘फिल्मको सङ्गीतलाई पनि दर्शकले रुचाएका छन् । जय श्री राम गीतले मानिसहरूलाई आफूतिर तानेको छ । यही गीतका कारण पनि दर्शक फिल्म हेर्न आउने गरेका छन् ।’

यद्यपि उनले जनताको नकारात्मक प्रतिक्रियाले चलचित्रको कमाईमा असर पर्ने र आगामी दिनमा चलचित्रको सङ्कलन घट्न सक्ने पनि बताए । जनतालाई फिल्मको टिकट काटेर पैसा खेर गएको महसुस भयो भने कमाइ घट्न थाल्छ ।

adipurus4विरोधका कारण भइरहेको छ चर्चा

अधिकांश समीक्षकले यो फिल्मको आलोचना गरेका छन् । तर विश्लेषकहरू विश्वास गर्छन् कि कहिलेकाहीँ दर्शकहरूको दृष्टिकोण आलोचकहरूको दृष्टिकोणबाट फरक हुन्छ ।

गिरीश भन्छन्, ‘कुनै फिल्मलाई समीक्षकले मन पराउँछन् तर दर्शकले मन पराउँदैनन् । यस्तै कहिलेकाहीँ समीक्षकलाई मन पर्दैन तर दर्शकले असाध्यै रुचाइदिन्छन् । यस्तो धेरै पटक हुन्छ ।’

समाचार र विरोधका कारण यो फिल्मले निकै चर्चा पनि पाइरहेको छ । पब्लिसिटीले पनि फिल्मको कमाईमा असर पारेको विश्लेषकहरूको विश्वास छ ।

गिरीश भन्छन्, ‘प्रचार नकारात्मक होस् वा सकारात्मक, त्यसको प्रभाव त पर्छ नै । जब फिल्मबारे धेरै कुरा सुनिन्छ, मानिसहरू त्यसलाई पर्दामा हेर्न पनि चाहन्छन् ।’

यद्यपि, बलिउड फिल्म उद्योगसँग जोडिएका एक इन्डस्ट्री इनसाइडर फिल्मको कमाइका लागि प्रश्न उठाइरहेका छन् ।

नाम नखुलाउने सर्तमा ती व्यक्तिले बीबीसीसँग भन्छन्, ‘फिल्मको पहिलो दिनमा कमाई अत्यधिक देखाउनका लागि फिल्म निर्माता र वितरकले आफ्नो पूरा शक्ति लगाएका छन् । ’

उनी भन्छन्, ‘विद्यालयका बालबालिकाले पनि यो फिल्म धेरै सङ्ख्यामा हेरिरहेका छन् ।’

बीबीसी संवाददाता सुप्रिया सोगलेले हलमा फिल्म हेर्न जाँदा ठुलो सङ्ख्यामा स्कुलका बालबालिका समूह बनाएर आएको जानकारी दिइन् ।

विवादले हानी ?

तर, विवादले चलचित्रलाई हानी पु¥याउन सक्ने आशङ्का उद्योगसँग सम्बन्धित व्यक्तिहरूले व्यक्त गरेका छन् ।

यी उद्योगीहरू भन्छन्, ‘दुई प्रकारका विवाद हुन्छन् । एक जसमा अभिनेता र निर्माता सही हुन्छन् जस्तै पठान फिल्मसँग भयो । फिल्मलाई विवादले फाइदा भयो । दोस्रो विवाद यस्तो हुन्छन् जुन फिल्मका लागि हुनुपर्छ । यस्तो खालको विवाद पछि दर्शक फिल्मबाट टाढा हुन्छन् । पुरानो पीढी जसले रामायण हेरेका छन्, यदि उनीहरूसम्म फिल्ममा देवी देवतालाई मजाक बनाइएको छ भन्ने कुरा पुग्यो भने सायद उनीहरू सिनेमा हलसम्म पुग्ने छैनन् ।’ 

अर्कोतर्फ चलचित्र समीक्षक तथा व्यापार विश्लेषक तरण आदर्शले चलचित्रको नकारात्मक समीक्षा गरेका छन् । उनले फिल्मलाई डेढ स्टार मात्र दिएका छन् ।

तर, तरण आदर्श पनि फिल्मको कमाइ उत्कृष्ट भएको बताउँछन् ।

दिलनवाज पाशा / बीबीसी हिन्दी


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप