आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : १० महिनामा पनि किन बनेन सञ्चालन कार्यविधि ?

खर्च मासिक १२ लाख, आम्दानी शून्य बराबर
सोमबार, ०४ असार २०८०, १२ : ०२
सोमबार, ०४ असार २०८०

बुटवल । गत वर्ष भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र । 

तर, उद्घाटनको १० महिना बितिसक्दा पनि सरकारले केन्द्र सञ्चालनको लागि कार्यविधि ल्याउन लागि चासो देखाएको छैन । यसले ठुलो लगानीमा निर्माण भएको केन्द्रमा गतिविधि शून्यजस्तै भएको छ ।   

कार्यविधि नबन्दा सम्मेलन केन्द्रमा रहेका १४ हलमध्ये हाल एउटा हलमात्र सञ्चालन गरिएको  छ । त्यसमा पनि १० महिनामा जम्मा ८ वटा मात्र कार्यक्रम भएको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन एकाइका आयोजना प्रमुख धर्मेन्द्र पन्थीले रातोपाटीलाई बताए ।

उद्घाटन भएको यति लामो समय बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कार्यविधि तयार गरी सञ्चालनमा ल्याउन चासो नदेखाउँदा आलोचना सुरु हुन थालेको छ । 

सहरी विकास मन्त्रालयअन्तर्गत बुटवल–१० मा साढे ६ बिघा क्षेत्रफलमा एक अर्ब ११ करोड रुपैयाँको लागतमा बनेको केन्द्रको मुख्य हल एक हजार सिट क्षमताको छ । 

बुटवल उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष हरिप्रसाद अर्यालले धेरै खर्चेर निर्माण गरिएको हल सञ्चालनको लागि सरकारले कार्यविधि बनाउने बहानामा महिनौँसम्म त्यतिकै राख्दा खर्च वृद्धि भएको बताए ।

one

उनले भने, ‘कुन मोडलमा कसरी चलाउने भन्ने पहिल्यै फाइनल गर्न सक्नु पर्थ्यौ । उद्घाटन भएको यतिका समयसम्म पनि कार्यविधि बन्दैन, कस्तो लज्जास्पद ?’ 

अहिले हल कसरी चलाउने भन्ने स्पष्ट  नभएपछि सञ्चालन भन्दा पनि हलको चाबी खोलिदिने कार्य मात्र भएको प्रमुख पन्थीले बताए । 

उनले भने, ‘हामीले अन्य सेवा दिने अवस्था छैन । त्यत्तिकै राख्दा झन् बिग्रने डर भएकाले कार्यक्रम गर्न आएकालाई सामान्य शुल्कमा दिने गरेका छौ ।’

यो हल सञ्चालन सम्बन्धमा सहरी विकास, अर्थ मन्त्रालयबीच पटक पटक छलफल भएको थियो । बुटवलसहित देशका अन्य साना तथा ठुला हलहरूको सञ्चालन कुन मोडलमा जाने भन्ने यकिन गर्न स्पष्ट कार्यविधि अझै नभएको सहरी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीप परियारले बताए । 

मन्त्रालयका प्रवक्ता परियारले यसबारे भवन विभागका इन्जिनियर माचकाजी महर्जनको नेतृत्वमा एउटा टिम बनाएर अध्ययन भइरहेको बताए । प्रतिवेदन आएपछि मात्रै हल सञ्चालन प्रक्रिया अगाडि बढ्छ । उनका अनुसार केन्द्रको रेखदेख र सरसफाइमा अहिले मासिक १२ लाख रुपैयाँ खर्च भइरहेको छ ।

इकाई प्रमुख पन्थीका अनुसार  बिजुली, सरसफाइदेखि अन्य विविध शीर्षकमा  मासिक  १२ लाख खर्च हुने गरेको छ । 

काठमाडौँ उपत्यका बाहिरको यो पहिलो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हो । आकाशबाट हेर्दा नेपालको झन्डा आकारमा निर्माण गरिएको सम्मेलन केन्द्रको मुख्य हलमा बल्कोनी र भुइँतलामा गरी ८ सय ७२ वटा कुर्सी जडान गरिएको छ । 

यस्तै, यो सम्मेलन केन्द्रमा ५० र ४२ सिट क्षमताका दुईवटा लेक्चर हल तथा ८० र ३०० क्षमताको सेमिनार हल पनि रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप