आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बजेट एक–दुई ठाउँ मात्रै कनिका छरियो : सांसद पौडेल

सोमबार, ०४ असार २०८०, १७ : २९
सोमबार, ०४ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले ल्याएको बजेटमा एकरूपता नदेखिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पौडेलले निश्चित योजना समयमा नै सम्पन्न गर्ने गरी र पुराना योजना सबै सक्ने गरी बजेट आउनुपर्ने भएपनि त्यो अनुसार बजेटमा एकरूपता नदेखिएको जिकिर गरेका हुन् । 

उनले सरकारले यो वर्ष पनि बजेट कनिका छरे जस्तै गरी बजेट छरेको बताए । उनले भने, ‘अहिलेको बजेट एक–दुई ठाउँ मात्रै कनिका छरियो । सबैतिर किन छरिएन भन्ने बहस चलिरहेको छ । बजेट कनिका छरे जस्तो छर्ने काम नै बेकार हो । निश्चित योजना तय गर्ने र त्यो योजनालाई कुनै पनि हालतमा पूरा गर्नुपर्छ । नयाँ योजना नआउने हो भने पुराना योजना सबै सक्ने गरी बजेट विनियोजन गर्नुपर्ने थियो । सरकारले ल्याएको बजेटमा एकरूपता देखिएको छैन । त्यसले गर्दा समस्या भएको देखिएको छ । सरकारले पुँजीगत खर्च कम भएको थाहा भएको भए त्यही अनुसारका योजना बनाउन सक्नुपर्ने थियो । सरकारसँग पैसा कम भएकाले नयाँ योजना ल्याउन सक्ने स्थिति छैन । पुराना आयोजनाहरूलाई सम्पन्न गर्न सक्नुपर्ने छ । सरकारको दायित्व यति हो त्यो दायित्व पूरा गर्नुपर्ने भन्ने सम्पूर्ण तस्बिर मन्त्रालयको बजेटमा आउन सक्नुपर्ने थियो । अब मन्त्रालयले पुराना योजनाहरूलाई कसरी सम्पन्न गर्न सकिन्छ ।’

उनले सरकारको एउटा निकायले नेपाली सेनाले जिम्मा लिएको फास्ट ट्रयाक समयमा नै सम्पन्न गर्न नसक्नु सरकारको क्षमता माथि प्रश्न उठ्ने बताए । उनले सडकको बन्ने लागत ५ गुणा बढेको तथा नागरिकहरूले बढी सास्ती पाएको बताए । उनले भने, ‘काठमाडौँ द्रुत मार्ग फास्ट ट्रयाक जिम्मा लिएको नेपाली सेनाले होइन । सेना भनेको सरकार होइन । सरकारको एउटा निकायले जिम्मा लिएको सडकको हालत यस्तो छ । खास कारण के हो ? के समस्या भएको कारण यस्तो भएको हो । त्यसको समय र लागत कति थियो । आज कहाँ पुगेको छ । यसले सरकारको क्षमता माथि प्रश्न उठाएको छैन । यो कुनै ठेकेदार  र एउटा कुनै कम्पनीलाई दिएको होइन । नेपाली सेनालाई दिँदा समयमा नै काम सम्पन्न हुन सक्दैन । त्यसको लागत ५ गुणा बढेको छ । नेपालमा पूर्वाधार निर्माण गर्ने सन्दर्भमा नागरिकहरूले कति सास्ती पाएको छ । दुई वर्षमा सम्पन्न गर्ने भनेको काम ६ वर्ष लागेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप