समाजवादी मोर्चा सत्ता टिकाउने मात्रै नबनोस् : झलनाथ खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एकमात्र विकल्प समाजवाद भएको बताएका छन् । सोमबार समाजवादी मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै समाजका विभेद र भ्रष्टाचारबाट मुक्त गर्न पनि समाजवाद आवश्यक रहेको बताए । उनले समाजवादी मोर्चा सत्ता टिकाउन मात्रै नभएर समस्त क्रान्तिकारीहरूलाई एकताबद्ध गर्नुपर्ने बताए ।
‘समस्त क्रान्तिकारीहरूलाई एकताबद्ध नगरेसम्म सही विकल्प निर्माण हुन सक्दैन । त्यसैले मोर्चालाई अझ विस्तार गर्नुपर्ने आवश्यकता छ । यो मोर्चा सत्ता टिकाउने मात्र नबनोस्, आमूल परिवर्तन र देशको भविष्य उज्यालो बनाउन सकोस्’, खनालले भने, ‘हाम्रो लक्ष्य समाजवादी गणतन्त्र हो, तीन करोड नेपालीको लक्ष्य हो समाजवाद ।’ खनालले मोर्चालाई अझ विस्तार गर्नुपर्ने आवश्यकता रुहेको भन्दै जबसम्म देशभक्त र प्रगतिशील शक्ति एकताबद्ध हुँदैनौ तबसम्म देशको आमूल परिवर्तन सम्भव नहुने समेत बताए । ‘यो मोर्चा त्यसका लागि पहिलो पाइला हो’, खनालको भनाइ छ ।